June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

म्यानमारका ९२ वर्षीय बौद्ध भिक्षुको सिटी अस्पतालमा पाँचपटक डाइलासिस

Advertisement

भैरहवा– म्यानमारका बौद्ध धर्मगुरु (भिक्षु)ले रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा पाँचपटक डाइलासिस सेवा लिएका छन् । लुम्बिनी भ्रमणमा आएका बेला उनले सिटी अस्पताललाई डाइलासिस सेवा लिनका लागि रोजेका हुन् ।

Advertisement

धम्मदायद ध्यानकेन्द्रको प्राविधिक सहयोगमा म्यानमारका ९२ वर्षीया भिक्षु पा–औक सागाडाउसहितको टोली लुम्बिनी आएको थियो । १४ नोभेम्बर देखि ३० नोभेम्बरसम्म लुम्बिनी भ्रमणका क्रममा भिक्षुको नियमित डायलासिस गर्नुपर्ने र उनको स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी डाइलासिस गरिएको हो ।

सिटी अस्पतालमा रहेको विदेशी पाहुनाहरुका लागि छुट्याइएको ‘इन्टरनेशनल युनिट’मा डाइलासिस सेवा प्रदान गरिएको थियो । अस्पतालले विदेशी विरामीहरुलाई उपचारमा सहजताका लागि छुट्टै युनिट संचालन गरेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा २० हजार सालका विरुवा रोप्ने उद्देश्यले ९२ वर्षीया भिक्षु सागाडाउ दोस्रोपटक नेपाल आएका थिए । दुईपटक लुम्बिनी यात्राका क्रममा भिक्षुको पाँचपटक डाइलासिस सेवा प्रदान गरिएको हो । सिटी अस्पतालको सेवाबाट भिक्षुले खुशी व्यक्त गरेको उनका अनुयायीले बताएका छन् ।

भिक्षुको स्वास्थ्य संवेदनशीलतालाई ख्यालमा राखी अस्पतालले इन्टरनेशनल युनिट मार्फत् उच्च स्तरीय सेवा प्रदान गरेको जनाएको छ । नेपाली नागरिकलाई हरेक दिन डाइलासिस सेवा प्रदान गर्दै आएको अस्पतालले संक्रमणरहित डाइलासिस सेवा नेपाली तथा विदेशीलाई पारिवारिक वातावरणमा प्रदान गर्ने भएकाले लुम्बिनी भ्रमणमा आएका हरेक नागरिकलाई डाइलासिस मात्रै नभई सबै खालका सेवा प्रदान गर्न तत्पर रहेको अस्पतालले बताएको छ ।

अस्पतालले सम्पूर्ण सेवा एउटै छानामुखी गुणस्तरीय रुपमा दिँदै आएको दावी गरेको छ । विदेशीहरुले भैरहवाका अस्पतालहरुमा उपचार गर्न सुरु गरेपछि यसले नेपालको मेडिकल टुरिजममा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै नेपाल भ्रमणमा आउने विदेशी नागरिकले आवश्यक परेको खण्डमा अस्पतालमा उपलब्ध सबै किसिमका सेवा लिनसक्ने जनाइएको छ ।