लुम्बिनी सांस्कृतिकका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप र साइकल


भैरहवा– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आफ्नो क्षेत्र भित्रका मेधावी विद्यार्थीलाई पुरस्कृत गरेको छ ।पालिकाका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा हाँसिल गरेका विद्यार्थीलाई ल्यापटप र साइकल वितरण गरेको हो । आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।
नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयबाट शैक्षिक सत्र २०८१ मा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीलाई कार्यबाहक नगर प्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली लगायतले पुरस्कार हस्तान्तरण गरेका हुन् । शैक्षिक सत्र २०८१ मा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने मनिषा कुमारी बनियाँले ल्यापटप प्राप्त गरेकी हुन् । त्यस्तैं क्रमशः उत्कृष्ट नजिता ल्याउने निसाकुमारी यादव, महफुज आलम खान, संगिता यादव र श्रीकृष्ण बरईलाई साइकल प्रदान गरिएको छ ।
कार्यबाहक नगर प्रमुख हरिजन र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले विद्यार्थीलाई प्रोसाहन गर्न र विद्यालयहरुलाई हौसला दिन पनि ल्यापटप र साइकल वितरण गरिएको जनाए । उनीहरुले शिक्षा सुधारमा पालिकाले योजनाबद्ध काम गरिरहेको बताए । शिक्षालाई प्राथमिकता दिएर शैक्षिक सुधार गर्न पालिकाले विभिन्न गतिविधि गर्दै आएको उनीहरुको भनाई छ ।
पुरस्कार वितरण कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष एवम् शिक्षा समिति सदस्य खुर्शेद आलम मुसलमान, वडा नम्बर १२ का वडाध्यक्ष हरिकेश लोध, उपसचिव एवम् शिक्षा अधिकृत हरिप्रसाद ज्ञवाली, विभन्न शाखा प्रमुख एवम् कर्मचारीहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थिति थियो । नगरपालिकाले यसअघि कक्षा ८ र १० मा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीलाई पनि ल्यापटप र साइकल वितरण गरिसकेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताइन् ।








प्रतिकृया दिनुहोस्