‘पुलिस व्याटन’मा रूपन्देही प्रहरी बन्यो सर्वोत्कृष्ट, एसपी शाही सम्मानित



भैरहवा– जिल्ला प्रहरी कार्यालय, रुपन्देही नेपालभरमै सर्वोत्कृष्ट बन्न सफल भएको छ । कार्यसम्पदान, कानून कार्यान्वयन र अवैध गतिविधि नियन्त्रणमा उत्कृष्ट कार्य गर्दै आएको जिल्ला प्रहरी मुलुकभरका जिल्ला प्रहरी कार्यालयमा सर्वोत्कृष्ट बन्दै सम्मानित भएको हो ।
नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कन (पुलिस व्याटन) २०८३ मा सर्वोत्कृष्ट बन्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देही पहिलो भएको हो । जिल्लामा प्रहरी सेवा प्रवाह, कार्यालय सञ्चालन, कार्यकुशलता र व्यावसायिक दक्षतासहितका सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रुपन्देही प्रहरीले पहिलोपटक ‘पुलिस व्याटन’ प्राप्त गरेको हो ।
७१ औं प्रहरी दिवसका अवसरमा रुपन्देही प्रहरीले सर्वोत्कृष्ट कार्य गरेवापत पुरस्कृत समेत भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीलाई प्रशंसापत्र प्रदान गरेको छ । प्रहरी दिवस २०८३ को अवसरमा प्रदान गरिएको प्रशंसापत्रमा शाहीले कार्यालय प्रमुखका रूपमा व्यावसायिकता, निष्ठा, मातहत प्रहरी कर्मचारीको परिचालन तथा कार्यकुशलतालगायतका क्षेत्रमा उत्कृष्ट भूमिका निर्वाह गरेको उल्लेख छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंले प्रदान गरेको प्रशंसापत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शाहीलाई बधाई दिँदै आगामी दिनमा अझ उच्च प्रगतिको कामना गरेका छन् ।
नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरिने ‘पुलिस व्याटन’ प्रहरी संगठनभित्र जिम्मेवारी, अनुशासन, कार्यक्षमता र सेवा प्रवाहको गुणस्तरलाई प्रोत्साहन गर्ने सम्मानका रूपमा लिइन्छ । यसले प्रहरी कार्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै नागरिकलाई प्रभावकारी, उत्तरदायी र गुणस्तरीय सेवा दिन प्रेरित गर्ने उद्देश्य राख्छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार ‘पुलिस व्याटन’ कार्यदक्षता मूल्याङ्कनको उद्देश्य प्रहरी कार्यालयहरूको कामकारबाहीलाई प्रतिस्पर्धी, पारदर्शी र प्रभावकारी बनाउनु हो । यसअन्तर्गत कार्यालयको भौतिक पूर्वाधार, उपलब्ध स्रोतसाधनको व्यवस्थापन तथा सदुपयोग, शान्तिसुरक्षा, अपराध अनुसन्धान, प्रशासनिक व्यवस्थापन, अभिलेख व्यवस्थापन र नागरिकलाई प्रदान गरिने सेवाको अवस्थालगायतका पक्षको अनुगमन तथा मूल्याङ्कन गरिन्छ । मूल्याङ्कनबाट प्राप्त सुझावका आधारमा कमजोरी सुधार गर्दै प्रहरी संगठनको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
रुपन्देही प्रहरीले प्राप्त गरेको यो उपलब्धिलाई जिल्लामा प्रहरी सेवा प्रवाह र कार्यालय व्यवस्थापनमा गरिएको प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको प्रहरी अधिकृतहरु बताउँछन् । यसले प्रहरी कर्मचारीलाई थप जिम्मेवार, अनुशासित र नागरिकमैत्री भएर काम गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । व्याटनमा सर्वोत्कृष्ट भएको जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुख शाहीलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रसंशा पत्र प्रदान गरेका हुन् ।








प्रतिकृया दिनुहोस्