November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

सुशील गुरुङको राजनीतिक छलाङ, जिते काँग्रेस केन्द्रीय सदस्य

Advertisement

भैरहवा– राजनीतिसँगै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील भैरहवाका सुशील गुरुङ नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । विद्यार्थीकालबाटै नेपाली काँग्रेसको राजनीतिमा होमिएका गुरुङ रुपन्देहीको सिद्धार्थनगर निवासी हुन् । उनको यसपटकको राजनीतिक छलाङ भने लोभलाग्दो छ ।

Advertisement

काँग्रेसमा विशेष महाधिवेशन हुँदा गगन थापातिर लागेका उनी गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–३ बाट काँग्रेस उम्मेदवार थिए । उनी यसअघि यही क्षेत्रमा क्षेत्री सभापति समेत थिए । महाधिवेशन प्रतिवेदन सर्वसम्मत चयन भएका गुरुङ जनजातितर्फबाट केन्द्रीय सदस्य चुनिएका हुन् ।

काठमाडौंमा जारी काँग्रेस १५औं महाधिवेशन अन्तर्गत मतगणनामा गुरुङले केन्द्रीय सदस्यमा सानदार जित निकालेको काँग्रे भैरहवाका नेता लेखनाथ भट्टराईले जनाए । गुरुङ केन्द्रीय सदस्य निर्वाचित भएकामा उनका सहपाठी तथा स्थानीय नेताकार्यकर्तामा खुशीयाली छाएको छ ।

काँग्रेस राजनीतिमा लामो समय विताएका उनी विद्यार्थी राजनीति, संगठन र सामाजिक संघसंस्थाको नेतृत्वबाट खारिएका पाका युवा हुन् । सानो उमेरदेखि भैरहवाको माटोमा खेल्दै हुर्केका गुरुङ रुपन्देही र आसपास क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक अवस्थासँग नजिकबाट परिचित छन् ।

२०५१ सालमा नेबिसंघको साधारण सदस्य भएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका गुरुङ भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापति हुँदै नेपाली काँग्रेस रुपन्देही–३ को क्षेत्रीय सभापतिसम्म भएका थिए । क्षेत्रीय सभापतिबाट एकैपटक उनले केन्द्रीय सदस्यमा छलाङ मारेका हुन् ।

एनत उनी काँग्रेस राजनीतिमा निकै भिजेका युवा नेताका रुपमा चिनिन्छन् । भैरहवा क्षेत्रका सामाजिक संस्था तमु विद्यार्थी छोज धिं, सिद्धार्थ जेसीज, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, पक्लिहवा माविको व्यवस्थापन समिति अध्यक्ष लगायतमा उनले सफल नेतृत्व गरिसकेका छन् ।

सरल स्वभाव, मुसुक्क हाँस्ने बानी र मिठासपूर्ण बोली उनका विशेषता हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीएस उत्तीर्ण गरेका ४७ वर्षीया गुरुङ सामाजिक क्षेत्रमार्फत् पनि परिचित छन् । विद्यार्थीकाल देखि नै राजनीतिसँगै समाजसेवा गरेर चर्चामा आएका उनले काँग्रेसको क्षेत्रीय सभापति भएर कुशल नेतृत्व गरेका छन् ।