हरित आतिथ्य मापदण्डः ‘पर्यटन क्षेत्रलाई पर्यटकमैत्री बनाउने अवसर’



भैरहवा- हरित आतिथ्य मापदण्ड पालना गरी पर्यटन क्षेत्रलाई थप प्रभावकारी, दिगो र पर्यटनमैत्री बनाउन सरकारले तयारी गरिरहेको छ । यसका लागि अहिले मुलुकका मुख्य सहर, सम्भावित क्षेत्र, पर्यटनसँग सरोकार राख्ने सरोवालासँग सुझाव लिँदै तथ्यांक संकलन गरिरहेको छ । दिगो पर्यटन विकासका लागि विश्वव्यापी अभ्यासलाई पछ्याइरहेको नेपालले पर्यटन क्षेत्रमा हरित आतिथ्य मापदण्ड बनाउन लागेको हो ।
शनिबार भैरहवामा आयोजित कार्यक्रममा सरोकारवालाले वातावरणीय प्रभावलाई पनि खलबलिन नदिन र आतिथ्य क्षेत्रलाई पर्यटन मैत्री बनाउन पनि नेपालमा हरित आतिथ्य मापदण्ड जरुरी रहेको जनाए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र वन्यजन्तु संरक्षण संघ नेपालको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले हरित आतिथ्यता सबै क्षेत्रमा जरुरी रहेको जनाइन् ।
बढी कार्बन उत्सर्जनका कारण भोटेकोशी जस्ता भयानक विपत्ति आउनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै अधिकारीले अब विद्यालय तहबाटै पाठ्क्रम विकास गरी नीतिगत सुधार जरुरी रहेको जनाइन् । ‘पर्यटन क्षेत्रमा यसको उपयोग अझ बढी छ’, उनले भनिन्, ‘राम्रो वातावरण, स्वादिष्ट खाना, शान्त र राम्रो आतिथ्यता भएन भने पर्यटक आउँदैनन् । त्यसलै हरित आतिथ्यता हाम्रा लागि भने झन जरुरी छ ।’ उनले स–साना बालबालिकाबाटै संस्कारको विकास गर्न पनि जरुरी रहेको बताइन् ।
पर्यटन विज्ञ एवं नेपालको लागि हरित आतिथ्य मापदण्ड तय समितिकी मुख्य परामर्श दाता डा.अनुकुमारी लामाले हरित आतिथ्यलाई प्रभावकारी बनाउन सरकारले स्पष्ट राष्ट्रिय मापदण्ड, कार्यान्वयन निर्देशिका, प्रोत्साहन र नियमित अनुगमनको व्यवस्था गर्न लागेको जनाइन् । वातावरणमैत्री होटल र दिगो पर्यटनसम्बन्धी लगानीलाई संरक्षण गर्न, विश्वव्यापी अभ्यास र पर्यटन क्षेत्रको विकासमा हरित आतिथ्य महत्पूर्ण हुने उनको भनाई छ । आफूहरु सबै सरोकारवालासँग समन्वय गरेर यथार्थ विवरण संकलन गरी सरकारी नीति बनाउन सहयोग पुर्याउने बताइन् । लुम्बिनी प्रदेशबाट सकारात्मक र नीतिगत विषयमा समेट्ने सुझवहरु आएको उनको भनाई छ ।
‘बुद्ध जन्मस्थल लुम्बिनीसहित धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको लुम्बिनी प्रदेशमा हरित आतिथ्य मापदण्ड पर्यटन विकासको नयाँ आधार बन्न सक्छ’, उनले भनिन्, ‘वातावरण संरक्षण, स्थानीय संस्कृति, ऊर्जा दक्षता, फोहोर व्यवस्थापन र गुणस्तरीय सेवामा आधारित हरित आतिथ्यले पर्यटनलाई आर्थिक लाभमा मात्र सीमित नराखी दिगो विकाससँग जोड्ने अवसर प्रदान गर्छ ।’
नेपाल पर्यटन बोर्डका निर्देशक सुरज घिमिरेले अन्तर्राष्ट्रिय बजारमा वातावरणीय जिम्मेवारी निर्वाह गर्ने गन्तव्य र होटलप्रति चासो बढिरहेको जनाउँदै दिगो पर्यटन मापदण्डअनुरुप सेवा उपलब्ध गराउन हरित आतिथ्य जरुरी रहेको जनाइन् । उनले ठूला र बुटिक होटल मात्रै नभई समग्र पर्यटन क्षेत्रलाई उत्थान गर्न प्रयास गरिरहेको जनाए । ‘यसले पर्यटक आकर्षित गर्ने, गन्तव्यको विश्वसनीयता बढाउने र प्रतिस्पर्धात्मक लाभ हासिल गर्ने सम्भावना रहन्छ । पर्यटकको चाहना पनि अब आवास र खानपानमा मात्र सीमित छैन, स्वच्छ वातावरण, सुरक्षित सेवा, मौलिक संस्कृति र जिम्मेवार पर्यटन अनुभव उत्तिकै महत्वपूर्ण बन्दै गएका छन्’, उनले भने, ‘यी विषयहरुलाई ध्यानमा राखेर सरकारले काम गरिरहेको छ । सबै क्षेत्रको सुझाव पनि लिइरहेको छ ।’
पर्यटन मन्त्रालयकी शाखा अधिकृत शुभद्रा शर्मा गौतमले सरकारले पर्यटन नीति, २०८२ जारी गरिसकेको सन्दर्भमा पर्यटनको गुणस्तर, प्रतिस्पर्धात्मक क्षमता र दिगोपनालाई प्राथमिकतामा राख्न हरित आतिथ्य नीति बनाउन लागेको जनाइन् । ‘हरित आतिथ्यको सफल कार्यान्वयनमा होटल व्यवसायीको भूमिका निर्णायक हुन्छ । होटलले ऊर्जा तथा पानी बचत गर्ने प्रविधि अपनाउने, एकपटक प्रयोग हुने प्लास्टिक घटाउने, स्थानीय कृषकबाट खाद्य सामग्री खरिद गर्ने, कर्मचारीलाई वातावरणमैत्री सेवाको तालिम दिने र आफ्नो वातावरणीय कार्यसम्पादन पारदर्शी बनाउने अभ्यास सुरु गर्नुपर्छ । नागरिकले पनि फोहोर जथाभावी नफाल्ने, सार्वजनिक सम्पदाको संरक्षण गर्ने, स्थानीय उत्पादन प्रयोग गर्ने र पर्यटकप्रति सम्मानजनक व्यवहार गर्ने संस्कार विकास गर्नुपर्छ’, उनले भनिन् ।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले पर्यटन क्षेत्रको दिगो विकास जरुरी रहेको जनाउँदै हरित आतिथ्य नीतिले सबै क्षेत्रलाई लाभ मिल्ने बताए । उनले पर्यटन क्षेत्र व्यवसाय मात्रै नभएको जनाउँदै यसले रोजगारी सिर्जना गर्ने, बजारलाई चलायमान गराउनुका साथै दीगो विकासमा सहयोग पुग्ने बताए । मुलुकको आर्थिक विकासको साझेदार निजी क्षेत्र भएकाले सोहीअनुसारको व्यवहार हुनुपर्नेमा उनको जोड छ ।
होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले हरित आतिथ्य नीति बनाउन भुगोलअनुसारको मापदण्ड बनाउन आग्रह गरे । उनले लुम्बिनी प्रदेशमा यसको सम्भावना प्रचूर रहेको जनाउँदै बृहत् लुम्बिनी क्षेत्र, राष्ट्रिय निकुञ्ज लगायतले यहाँको सम्भावना थप बलियो बनाएको जनाए । ‘दीगो पर्यटनका लागि गौतमबुद्ध विमानस्थल संचालन जरुरी छ’, उनले भने, ‘निजी क्षेत्रबाट गर्नुपर्ने सबै काम गर्छौं । सरकारले विमानस्थल चलाओस् ।’
लुम्बिनी विकास कोषका सूचना अधिकृत डा.हरि राईले सबैभन्दा पहिला पर्यटन र पर्यटक के हो भन्ने बुझेर मात्रै पर्यटनमैत्री वातावरण बनाउन सकिने जनाए । उनले बृहत् लुम्बिनी क्षेत्रकोसँगै हरित आतिथ्यको विकास पनि जरुरी रहेको जनाए । ‘लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह तथा बर्दिया र बाँकेका प्राकृतिक गन्तव्यलाई वातावरणमैत्री पर्यटन सेवासँग जोड्न सकिन्छ’, उनले भने, ‘स्थानीय कला, परम्परागत परिकार, कृषि उत्पादन र सांस्कृतिक पहिचानलाई आतिथ्य सेवामा समेट्दा पर्यटकले विशिष्ट अनुभव प्राप्त गर्नेछन् भने स्थानीय उत्पादन र रोजगारीले बजार पाउनेछन् । यसका लागि नीतिगतसँगै सबै क्षेत्रले काम गर्न जरुरी छ ।’
नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले हरित पर्यटनको विकासमा सबैको साझा दायित्व रहेको बताउँदै नीति बनाएर मात्रै नभई कार्यान्वयन जरुरी रहेको उल्लेख गरे । पर्यटन व्यवसायी तथा सोट्टो नेपाल लुम्बिनी प्रदेश अध्यक्ष संजय बजिमयले ‘ग्रिन भन्दा पहिला क्लिन’ जरुरी रहेको बताए । पर्यटन क्षेत्रका लागि सरसफाइ महत्वपूर्ण मानिने उनको भनाई छ । क्लिनसँगै हरित आतिथ्यलाई अगाडि बढाउनु पर्ने उनको भनाई छ । ‘सथलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाको दुर्दशा छ’, उनले भने, ‘त्यसैले ग्रिन भन्दा पनि क्लिन गरौं ।’ यस अभियानलाई गति दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन अत्यावश्यक रहेको उनको भनाई छ ।
नेपाल होटल व्यवसायी महासंघका महासचिव राजेश महोत्रा क्षेत्रीले सहनशीलता, आतिथ्यता र उदारताले गर्दा पर्यटन क्षेत्रमा नेपाल शक्तिशाली राष्ट्र भएको जनाए । तर, सरकारी नीति, साना तथा मझौला व्यवसायीलाई छाडेर गरिने कार्य र बेवास्ताले वार्षिक यति पर्यटक भित्र्याउँछौं भन्ने लक्ष्य पूरा नहुने बताए । उनले सबै व्यवसायीलाई समेट्न आग्रह गरे ।
पर्यटन मन्त्रालयले हरित आतिथ्यका राष्ट्रिय मापदण्ड निर्माण, अन्तर्राष्ट्रिय प्रमाणीकरणसँग सामञ्जस्य, सहुलियतपूर्ण हरित वित्तका लागि समन्वय, जनशक्ति विकास र अन्तर्राष्ट्रिय प्रचारप्रसारमा नेतृत्व लिनुपर्ने सरोकारवालाको जोड छ । प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य स्थापित गर्दै हरित आतिथ्यलाई व्यवहारमा उतार्न सके लुम्बिनी प्रदेशसँगै समग्र नेपाललाई पर्यटनको केन्द्र मात्र नभई वातावरणमैत्री र जिम्मेवार पर्यटनको नमूना गन्तव्यका रुपमा विकास गर्न सकिने सम्बद्ध सरोकारवालाको बुझाई छ । हरित आतिथ्य खर्च बढाउने अतिरिक्त दायित्व नभई पर्यटनको गुणस्तर उकास्ने, स्रोत जोगाउने र भविष्यको बजारसँग जोडिने रणनीतिक लगानी भएको मन्त्रालयले जनाएको छ ।








प्रतिकृया दिनुहोस्