दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य



दाङ –लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाको शिक्षा, सुरक्षा, स्वास्थ्य, समानता र नेतृत्व विकासका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताएका छन् ।
दलित महिला संघ दाङको सहजीकरणमा प्रदेशका दलित बालिकाले तयार पारेको १० बुँदे मागपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समाज रुपान्तरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए । युवाले आफ्नो क्षमता अभिवृद्धि गर्दै सामाजिक विकृति र विभेद अन्त्यको अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।
आचार्यले बालविवाह न्यूनीकरणमा किशोरकिशोरीकै भूमिका महत्वपूर्ण हुने बताए । बालविवाहका कारण शिक्षा, स्वास्थ्य र भविष्यमा पर्ने असरबारे किशोरकिशोरीले आफ्ना साथी तथा समुदायमा समेत सचेतना फैलाउनुपर्ने उनको भनाइ थियो ।‘ सरकारको मात्रै पहलले बालविवाहजस्ता समस्या समाधान हुँदैनन्,’ उनले भने, ‘जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्छ र विद्यालयमा समेत यस विषयमा नियमित छलफल र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।’
जातीय विभेद र छुवाछुत गम्भीर सामाजिक अपराध भएकाले विभेदमा परेका व्यक्तिले निर्धक्क भएर उजुरी गर्नुपर्नेमा उनले जोड दिए । सार्वजनिक स्थल तथा अन्य क्षेत्रमा हुने जातीय विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै नागरिक सचेतना आवश्यक रहेको उनले बताए । दलित समुदायको अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले भूमि सम्बन्धी कानुन निर्माणको तयारी गरिरहेको जानकारी उनले दिए ।
दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराको नेतृत्वमा आएका दलित बालिकाले मुख्यमन्त्री आचार्यलाई १० बुँदे मागपत्र बुझाएका थिए । मागपत्रमा जातीय विभेद तथा छुवाछुत अन्त्य, शिक्षा, स्वास्थ्य र सुरक्षाको सुनिश्चितता, नेतृत्व विकास, विपन्न परिवारलाई आयआर्जनमा जोड्ने कार्यक्रम, दलित बालिकाका समस्याको तथ्यांक संकलन र त्यसका आधारमा बजेट तथा कार्यक्रम निर्माण गर्न माग गरिएको छ ।
प्रदेशस्तरीय बालिका मञ्च गठन गरी त्यसमा दलित बालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, प्राथमिक तहदेखि उच्च शिक्षासम्म निःशुल्क तथा समावेशी शिक्षा उपलब्ध गराउन, नागरिकता तथा विवाह दर्तालगायतका कारण जन्मदर्ता र पहिचानबाट वञ्चित बालबालिकाको समस्या समाधान गर्न माग गरिएको छ ।
विद्यालय तथा समुदायमा जातीय विभेद, उपेक्षा र हिंसा भए सहज रूपमा उजुरी तथा न्यायमा पहुँच हुने व्यवस्था गर्न र प्रदेशका नीति, योजना तथा बजेट निर्माणमा बालिका, विशेषगरी दलित बालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गरिएको छ ।








प्रतिकृया दिनुहोस्