November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

तस्करी नियन्त्रणका लागि लुम्बिनी प्रहरीले कस्ता उपाय अपनाएको छ ?

Advertisement

भैरहवा – एक साता यता दिनहुँ लुम्बिनी प्रदेश अन्तर्गत सिमावर्ती जिल्लाबाट भन्सार छलेर भित्र्याइएका सामान बरामद भइरहेका छन् । तरकारी, फलफूल, खाद्यान्न, लत्ताकपडादेखि विद्युतीय उपकरण बरामद भइरहेका हुन् । नेपालबाट भारत लैजाने क्रममा फर्सीका बियाँ लगायत सामग्री पनि बरामद भइरहेका छन् । ‘तस्करी’को परम्परागत शृंखला रोकिनुको साटो झन बढिरहेको छ ।

Advertisement

यस्तोमा लुम्बिनी प्रदेश प्रहरीले तस्करी नियन्त्रणका केही उपाय पहिल्याएको छ । प्रदेश प्रहरीले मातहत कार्यालय मार्फत् यस्तो कार्ययोजना लागू गरिरहेको छ । मातहत कार्यालय पनि यसलाई पछ्याइरहेको दाबी गरिरहेका छन् । तैपनि भन्सार छली थामिएको छैन । प्रहरीले तस्करी नियन्त्रणका लागि अपनाइरहेका उपायबारे पब्लिक कुराले सोधीखोजी गरेको थियो ।

यस्ता छन् प्रहरीले अपनाइरहेका उपायहरु ?
रुल अफ ल
कानूनको प्रभावकारी र समान कार्यान्वयन गर्दै ‘कानूनभन्दा माथि कोही छैन’ भन्ने विश्वास कायम गर्नु आफूहहरुको आधारभूत दायित्व भएको प्रदेश प्रहरीले जनाएको छ । कानुन कार्यान्वयनको आफ्नो दायित्व पूरा गर्दै तस्करी नियन्त्रणका लागि प्रदेश अन्तर्गत तराईका ६ जिल्लामा तदारुकता साथ काम भइरहेको प्रदेश प्रहरी कार्यालयको दाव िछ ।

सरकारको स्प्रिट बमोजिमको काम
सरकारको सुशासन, कानूनको पालना र आर्थिक अनुशासनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यअनुरूप प्रहरीको सक्रियता बढाइएको पनि प्रदेश प्रहरीले जनाएको छ ।

विशेष अनुसन्धान क्षमता
तस्करीले परम्परा र संस्कृतिको रुप धारणा गरिसकेको छ । नियन्त्रणका लागि दिनरात कारबाही अघि बढाए पनि यसमा कमी आएको छैन । त्यसैले जतिसक्दो तस्करीका जरा काट्नका लागि मिहेनत गरिरहेको प्रदेश प्रहरीको दावी छ । त्यसैले तस्करीका जटिल तथा संगठित स्वरूप अनुसन्धान गर्न प्रादेशिक अनुसन्धान इकाइ गठन गरेर जनशक्ति परिचालन गरिएको जनाएको छ । साथै यसरी परिचालित जनशक्ति सुदृढ गरिएको छ ।

प्रहरी मात्र पर्याप्त छैन
प्रहरीले तस्करी पत्ता लगाउने, नियन्त्रण गर्ने र अनुसन्धान अघि बढाउने काम गर्छ, तर अवैध वस्तु वा कारोबारलाई कानुनी अर्थतन्त्रमा ल्याउने प्रक्रियामा भन्सार, स्थानीय तह, सम्बन्धित नियामक निकाय, उद्योगी–व्यवसायी, कृषि निकाय, बजार अनुगमन तथा न्यायिक संयन्त्रलगायत सबैको भूमिका हुने पनि प्रदेश प्रहरीले जानकारी गराएको छ ।

सरकारी निकायबीच समन्वय
अवैध कारोबार नियन्त्रणपछि सम्बन्धित वस्तु–व्यवसायलाई दर्ता, कर, भन्सार, गुणस्तर र नियमनको कानुनी प्रणालीभित्र ल्याउने काममा सम्बन्धित सरकारी निकाय र स्थानीय तहको समन्वय आवश्यक रहेको प्रदेश प्रहरी कार्यालयको भनाई छ ।

नागरिक समाजको भूमिका
स्थानीय समुदाय, नागरिक समाज र सञ्चारमाध्यमले सूचना, निगरानी र सामाजिक जवाफदेहितामार्फत तस्करी नियन्त्रणमा महत्वपूर्ण सहयोग गर्न सक्ने प्रदेश प्रहरीको निष्कर्ष छ ।

जोखिमपूर्ण कार्य
तस्करी नियन्त्रण सहज नभएको प्रहरीको भनाई छ । एक पल र एक पटकको निगरानीले नियन्त्रण सम्भव पनि छैन । निरन्तर निगरानी, पछ्याउने, रात्रीकालीन अपरेसन तथा तस्करीमा संलग्न समूहसँग प्रत्यक्ष सामना गर्दा प्रहरी टोलीले उच्च जोखिम मोल्नुपर्ने प्रहरीले जनाएको छ । त्यसैले यस्ता जोखिम न्यूनिकरणका लागि पनि सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय जरुरी रहेको प्रहरी भनाई छ ।

साझा लक्ष्य
भन्सार छली वा तस्करी, त्यसमा संलग्न पक्राउ र बरामदमा मात्र सीमित नभई तस्करीको माग, आपूर्ति, नाफा र सञ्जाललाई कानुनी प्रणालीभित्र ल्याउनु नितान्त जरुरी रहेको प्रदेश प्रहरीले जनाएको छ । यसका लागि सबैले साझा लक्ष्य बनाउनुपर्ने प्रहरी भनाई छ ।