November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

कांग्रेसमा लुम्बिनीबाट ७ पदाधिकारीका आकांक्षी मैदानमा, केन्द्रीय सदस्यमा भने लर्को

Advertisement

भैरहवा– काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशले केन्द्रीय नेतृत्वमा आफ्नो उपस्थिति बलियो बनाउने संकेत देखाएको छ । प्रदेशबाट पार्टीका विभिन्न केन्द्रीय पदाधिकारीका लागि ७ जना नेताले प्रतिस्पर्धा गरिरहेका छन् । उपसभापतिदेखि सहमहामन्त्रीसम्मका पदमा लुम्बिनीका नेताहरूले उम्मेदवारी दिएका छन् ।

Advertisement

उपसभापति पदमा लुम्बिनीबाट तीन जना मैदानमा छन् । दाङका दीपक गिरी, गुल्मीका डा.चन्द्रकान्त भण्डारी (चन्द्र) र पश्चिम नवलपरासीका विनोदकुमार चौधरीले उपसभापतिका लागि उम्मेदवारी दिएका हुन् । चौधरीले भने समावेशी उपसभापति पदमा प्रतिस्पर्धा गरेका छन् ।

अर्घाखाँचीकी पुष्पा भुसाल भने महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन् । उनी कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति बनेकी थिइन् । महामन्त्री पदमा रोल्पाका अमरसिंह पुनले उम्मेदवारी दिएका छन् । त्यस्तै, सहमहामन्त्री पदमा कपिलवस्तुका अभिषेकप्रताप शाह, दाङका योगेन्द्र चौधरी र पश्चिम नवलपरासीका देवेन्द्रराज कँडेल प्रतिस्पर्धामा छन् ।

रोल्पाबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका पुन हाल कांग्रेस लुम्बिनी प्रदेश सभापति हुन् । पार्टीभित्र देउवा इतर समूहमा खुलेर निरन्तर सक्रिय रहँदै आएका पुनले केन्द्रीय नेतृत्वमा स्थापित हुने उद्देश्यले महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।

योगेन्द्र चौधरी विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । अभिषेकप्रताप र देवेन्द्रराज भने पहिलोपटक सहमहामन्त्री पदमा उम्मेदवार बनेका हुन् । शाह प्रतिनिधिसभा सदस्यसमेत हुन् भने कँडेल यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए ।

कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट १ हजार ९ जना महाधिवेशन प्रतिनिधि मतदाताका रूपमा सहभागी छन् । यही मतसंख्याले प्रदेशबाट केन्द्रीय नेतृत्वमा दाबी गरिरहेका उम्मेदवारहरूको राजनीतिक भविष्यसमेत निर्धारण गर्नेछ ।

केन्द्रीय सदस्यमा पनि लुम्बिनीको बाक्लो उपस्थिति
पदाधिकारीसँगै केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा पनि लुम्बिनी प्रदेशका नेताहरूको उल्लेख्य सहभागिता छ । प्रदेश खुलातर्फ तीन पदका लागि ९ जना चुनावी मैदानमा छन् ।

अमरप्रसाद भण्डारी, कमलप्रसाद भुसाल, कमलकिशोर घिमिरे, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने, प्रदीपराज शर्मा, मोतीलाल भण्डारी, विष्णुप्रसाद खनाल र हिराबहादुर खत्रीले प्रदेश खुलातर्फ उम्मेदवारी दिएका छन् । कार्की र न्यौपाने प्रदेश सरकारका पूर्वमन्त्री हुन् भने खत्री देवदह नगरपालिकाका पूर्वमेयर हुन् ।

३५ वर्षमुनिका युवा–महिला समूहको एक केन्द्रीय सदस्य पदका लागि कमला हमाल, बबिता शाही, सञ्चिता ज्ञवाली, सुष्मा पाण्डे र सुस्मिता ढुंगानाबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, ३५ वर्षमुनिका युवा खुलातर्फको पदमा ओजश शर्मा, अनुकूल रेग्मी, अनुराग खड्का, कुमार आचार्य, दीपेन्द्र रेग्मी, राकेश यादव, इन्जिनियर शम्भु रेग्मी र डा.सुदनकुमार वली चुनावी मैदानमा छन् । रोल्पाका डा.वली अर्थशास्त्री हुन् । उनी प्रदेश योजना आयोगका पूर्वसदस्यसमेत हुन् ।

खुला केन्द्रीय सदस्यतर्फ पनि लुम्बिनीबाट उम्मेदवारहरूको लामो सूची छ । प्रदेश सांसदहरू निमा गिरी र जमुना ढकालसँगै प्रा.डा. गोविन्दराज पोखरेल, पूर्वमन्त्री जन्मजय तिमिल्सेना, पूर्वअर्थ राज्यमन्त्री भरतकुमार शाह, पूर्वप्रदेश सांसद निर्मला क्षेत्री, इन्जिनियर अमृत ज्ञवाली, हिमालदत्त श्रेष्ठ, बुटवलका मेयर खेलराज पाण्डेय, विजय गुरुङ, सुशील गुरुङ, गंगा शाही र रिता सेन ओलीलगायतले उम्मेदवारी दिएका छन् । यस्तै, खसआर्यतर्फ माधवी शर्मा वाग्ले, मुस्लिम पुरुषतर्फ सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खान पनि उम्ेमदवार बनेका छन् ।

पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा उम्मेदवार मैदानमा उत्रिएपछि कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व र प्रभावलाई विशेष चासोका साथ हेरिएको छ ।