४७ वर्षे राजनीतिक इतिहास बोकेकी अर्घाखाँचीकी पुष्पा बनिन् कांग्रेस उपसभापति



भैरहवा– नेपाली काँग्रेसमा पुष्पा भुसालको आफ्नै विरासत छ । करिब पाँचदशक राजनीतिक पृष्टभूमि भएकी भुसाल शालीन नेतामा गनिन्छन् । विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेकी भुसाल अर्घाखाँची निवासी हुन् ।
४७ वर्षे लामो राजनीतिक विरासत बनाएकी भुसाल नेपाली कांग्रेसको दोस्रो महिला उपसभापतिमा निर्वाचित भएकी छन् । निर्वाचन लडेर उपसभापति हुने उनी कांग्रेसको पहिलो महिला हुन् । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उनी महिला उपसभापति बन्न सफल भएकी हुन् । यसअघि कांग्रेस नेतृ स्वर्गिय शैलजा आचार्य मनोनित उपसभापति बने पनि निर्वाचन र विधिसम्मत रुपमा स्थापित हुने पुष्पा पहिलो महिला नेत्री हुन् ।
विद्यार्थी राजनीतिबाट सुरु भएको ४७ वर्ष लामो अविच्छिन्न निष्ठा, प्राज्ञिक साधना र संसदीय अभ्यासमा खारिएकी पुष्पा पूर्वउपसभामुख समेत हुन् । २०१७ साल फागुन १ गते अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी पुष्पाको जीवन सुरुदेखि नै राजनीतिक उतारचढाव र संघर्षको बिचबाट हुर्किएको हो ।
उनका पिता काशीनाथ गौतम २०१५ सालमै जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री भएका थिए । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेर पञ्चायती शासन लागु गरेपछि भने काशीनाथ गौतम १४ वर्षसम्म भारतमा निर्वासित भएपछि पुष्पा पनि भारत जानु पर्यो । २०३६ सालको राजनीतिक उथलपुथलसँगै पुष्पाले नेपाल विद्यार्थी संघ मार्फत औपचारिक राजनीतिक यात्रा सुरु गरिन् ।
कांग्रेसको १२ औं, १३ औं र १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा ह्याट्रिक गरेकी पुष्पा व्यक्तित्व केवल दलीय राजनीतिमा मात्र सीमित छैन । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी भुसालले २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै देशको मूल कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
२०५६ सालको संसदीय निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट पराजित भए पनि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने सोही क्षेत्रबाट संविधानसभा सदस्यमा विजय हासिल गरिन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक सांसद बनिन् । भुसालले चार वर्ष नेपाली कांग्रेसको सचेतक र अन्तिम बर्ष उपसभामुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् । २०८२ मा भने उनी निर्वाचन नै लडिनन् ।
गत पुसमा सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट उनी उपसभापति चुनिएकी थिइन् । यसपटक १५औं महाधिवेशनबाट उनी निर्विरोध उपसभापति बनेकी हुन् । राजनीतिक अवसर भन्दा बढी निरन्तरता र क्रियाशीलताले उनलाई आज यो स्थानमा पुर्याएको हो ।








प्रतिकृया दिनुहोस्