बुटवल उद्योग बाणिज्य संघमा बढ्यो चुनावी माहोल



भैरहवा– रुपन्देहीको निजी क्षेत्रको अग्रणी संस्था बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । संघले यही असोज २३ देखि २६ गतेसम्म हुने ७३ औं वार्षिक साधारण सभा तथा २६औं अधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । संघको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार पहिलोपटक असोज १५ गते नै मतदाता नामावली प्रकाशन गरि सकिएको छ ।
मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय असोज २१ गते दिउँसो ३ बजेसम्म तोकिएको थियो भने २१ गते दिउँसो साढे ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । अधिवेशन अन्तर्गत असोज २३ गते साधारण सभाको दिन साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयन पत्र वितरण गरिने छ ।
६ देखि ७ बजेसम्म मनोनयन पत्र दाखिला गर्नुपर्नेछ । त्यसैदिन साँझ ८ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारउपर दावी विरोधका लागि असोज २४ गते विहान ८ देखि ९ बजेको समय तोकिएको छ । त्यसैगरी सोही दिन बिहान ११ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसैदिन साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । एक पदमा एक जना भन्दा बढीको उम्मेदवारी परेमा उम्मेदवारको अन्तिम नामावली र मतपत्रमा समेत अंग्रेजी अल्फावेट अनुसार नाम राखिने निर्वाचन समितिले जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार असोज २६ गते मतदान हुने छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । अधिवेशनमा संघको आगामी कार्यकालका लागि पदाधिकारीमा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष चयन हुनेछन् । त्यस्तै कार्यसमिति सदस्य पदमा उद्योगबाट ४, वाणिज्यबाट ४, महिला २ तथा खुल्लाबाट ७ गरि १७ जना निर्वाचित हुने वैधानिक व्यवस्था छ ।
संघको चुनावमा दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धा गर्दै छन् । प्यानलहर अहिले मतदाता उद्योगी–व्यवसायी भेटेर मत माग्न व्यस्त छन् । यसले बुटवलमा निजी क्षेत्रको चुनावी महोल तताएको छ ।








प्रतिकृया दिनुहोस्