रूपन्देहीमा बालिका अपहरण गर्ने युवालाई गोली प्रहार गरी लिइयो नियन्त्रणमा



बुटवल– रुपन्देही प्रहरीले १० वर्षीया बालिकालाई अपहरण गर्ने एक व्यक्तिलाई गोली हानेर नियन्त्रणमा लिएको छ । गएराति इलाका प्रहरी कार्यालय, बुटवलको टोलीले तिलोत्तमा नगरपालिका–१७, दरखसवाका २७ वर्षीय विशाल भन्ने युवराज थारुलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार थारुको खुट्टामा गोली लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मा उपचार भइरहेको छ । थारुले गत बुधवार राती तिलोत्तमाकै १० वर्षीय बालिकालाई सुतिरहेको अवस्थामा मध्यरातमा अपहरण गरेका थिए ।
अपहरण गरिएको बालिकालाई प्रहरीले शुक्रबार साँझ ७ बजेतिर तिलोत्तमाको कान्छी बजारस्थित जंगलबाट ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो । बालिकालाई सकुशल उद्धार गरिएको भए पनि अपहरणमा संलग्न थारु भने फरार थिए ।
थारुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै जाई लागेपछि एक राउन्ड गोली प्रहार गर्न बाध्य भएको प्रहरी दावी छ । जंगलमै लुकेर बसिरहेको आशंकमा खोजी गरिरहेको प्रहरीले गए राति १ बजेतिर थारुलाई जंगलबाटै नियन्त्रणमा लिएको थियो ।
बालिका अपहरणमा परेपछि खोजी गर्दै जाँदा उनलाई उद्धार गरिएको स्थानमा भेटिएको मोबाइलको आधारमा प्रहरीले अपहरणमा संलग्न थारुको पहिचान गरेको जनाएको छ ।
बलिका अपहरणमा परेपछि बिहीबार बिहानैदेखि गाउँ वरपर र स्थानीय जंगल क्षेत्रमा खोजी सुरु भएको थियो । जंगलबाट उद्धार गरिएकी बालिका सकुशल रहेको र आफ्नो सुरक्षामा रहेको बुटवल प्रहरीले जनाएको छ । घरको बाहिर हजुरबुवा र हजुरआमा सुतिरहेको अवस्थामा भित्र कोठामा भाइसँग सुतिरहेकी बालिकालाई राती २ बजेतिर ओढ्ने ओढाइदिन भनेर जाँदा बिस्तारामा नभेटेपछि परिवारले तत्काल प्रहरीलाई जानकारी गराएको थियो ।








प्रतिकृया दिनुहोस्