‘पर्यटनका समस्या सरकारलाई सुनाउन जरुरी’



भैरहवा– विभिन्न सयमका विपदका कारण रुपन्देहीको पर्यटन क्षेत्र धरासायी भएको व्यवसायीले दुखेसो गरेका छन् । विपदको खबर फैलिएपछि आन्तरिक र बाह्य पर्यटक स्वाट्टै घटेको जनाउँदै पर्यटन व्यवसायीले तौतर्फी मार खेप्नु परिरहेको बताए । एकैपटक धेरै किसिमका समस्या झेल्नु परेपछि व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरुको भनाई छ ।
बुटवलस्थित होटल द फेलिमिङ्गोका सञ्चालक दीलिप गौचनले पर्यटन आउने चालु सिजन सुनसान बितेको बताए । ‘आउने सिजन के हुने हो अनुमान गर्न सकिन्न,’ उनले भने, ‘यहीँ अवस्थामा पर्यटन व्यवसाय धान्न सकिँदैन । हामीले भोग्नु परेका समस्या राज्यले सुन्नुपर्छ ।’ पर्यटन क्षेत्र तहसनहस भएका बेला सरकारले नै गन्तव्य प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
रुपन्देहीको मणिग्रामस्थित मणिग्राम विश्राम वाटिकाकी प्रवन्ध निर्देशन प्रणदा दिक्षितले रुपन्देहीको पर्यटन क्षेत्रले एकपछि अर्को समस्या झेलिरहेको बताइन् । होटल पाहुना विहीन भएका बेला सरकारले बिजुलीमा लगाएको करबारे पुनर्विचार गर्नुपर्ने उनले जनाइन् । ‘कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न दबाब छ,’ उनले भनिन्, ‘यहीँ बेला बिजुलीमा कर लगाइएको छ । पर्यटक आइरहेका छैनन् । हाम्रा समस्याबारे अर्थमन्त्रीलाई जानकारी गराउनुपर्ने बेला भएको छ ।’
रुपन्देहीको तिलोत्तमास्थित होटल एसआरका सञ्चालक टेकनाथ बस्यालले सरकारले पर्यटन क्षेत्र धरासायी बनेका बेला राहत प्याकेज सार्वजनिक गर्नुपर्ने बताए । ‘हाम्रो सेवामूलक व्यवसाय हो,’ उनले भने, ‘तर, हामीलाई कतैबाट राहत छैन ।’ होटललाई उद्योग सरह मान्यता दिने सरकारी निर्णय पनि व्यवहारमा लागू नभएको उनले बताए ।
पछिल्लो समय विपदका कारण पर्यटक आगमन शुन्य भएपछि झन मर्का परेको उनको भनाई छ । यस्तो बेला व्यवसायी नै एकजुट बनेर आफ्ना माग सरकार समक्ष राख्नुपर्ने उनले बताए । बुटवलको होटल क्लव डेनोभोका सञ्चालक प्रवीणबहादुर पाठकले एकपछि अर्को समस्याका कारण पर्यटन व्यवसायीको मनोबल गिरिसकेको बताए ।
‘यतिबेला निजी क्षेत्र र सरकार मिलेर व्यवसायीको मनोबल कसरी उकास्न सकिन्छ भन्ने विषयमा हातेमालो गर्न जरुरी छ,’ उनले भने, ‘व्यवसाय सुनसान भएको बैंकहरुले देख्दैनन् । अहिले धेरै लगानीकर्तालाई बैंकको किस्ता बुझाउने तनाव छ ।’
आफ्ना समस्याप्रति गम्भीर भएर व्यवसायीले नै सरकार समक्ष आफ्ना समस्या राख्नुपर्ने उनले बताए । भैरहवास्थित होटल जोशीका सञ्चालक किशोर जोशीले पर्यटन प्रवर्द्धनका लागि व्यवसायी नै अग्रसर हुने बेला आएको बताए । अन्तर्राष्ट्रिय स्तरमा भइरहेका ट्राभल मार्ट, सम्मेलन र प्रवर्द्धन कार्यक्रममा सहभागी भएर गन्तव्यबारे प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।
भैरहवास्थित होटल नान्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले पर्यटन व्यवसायीले भोग्नु परेका समस्याबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड लगायत सरोकारवाला संस्थाको ध्यानाकर्षण गराउँदै आएको बताए । ‘अहिले भोग्नु परेका समस्याबारे सरोकारवालाको ध्यानाकर्षण गराउँदै पर्यटन प्रवर्द्धनका लागि अग्रसर हुनुपर्नेछ,’ उनले भने, ‘त्यसको सुरुवातका रुपमा होटल संघ लुम्बिनी गठन गरिएको छ ।’








प्रतिकृया दिनुहोस्