November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

सशस्त्र प्रहरीद्वारा भैरहवा नाकाबाट एक किलो सुनका गहना बरामद

Advertisement

भैरहवा– सशस्त्र प्रहरीले बिहीबार दिउँसो भैरहवामा एक किलो सुनका गहना बरामद गरेको छ । सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले उक्त गहना बरामद गरेको हो ।

Advertisement

भारतबाट नेपालतर्फ सुनका गहना ल्याउँदै गरेको सूचनाका आधारमा रुपन्देहीको सिद्धार्थनगर–१ स्थित शान्ति गेटमा जाँच गर्ने क्रममा सशस्त्र प्रहरीले गहना बरामद गरेको थियो । सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गा थापाका अनुसार दुई करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ मूल्य बराबरका गहना बरामद भएका हुन् ।

उनका अनुसार काठमाडौं–१९, कि ४६ वर्षीया ईला पटेलमाथि शंका लागेर जाँच गर्दा २ किलो ६ सय ५ ग्राम बिभिन्न किसिमका सुन जस्तो देखिने पहेलो पदार्थबाट बनाइएका गरगहना बरामद भएका थिए । त्यसपछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले जिल्लास्थित रुपन्देही सुनचाँदी व्यवसायी संघसित समन्वय गरेर गहना सुनको भए–नभएको यकिन गरेको थियो । त्यसक्रममा १ किलो सुन भएको प्रमाणित भएको थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक थापाका अनुसार बरामद गहनामा ९ थान हार, ८१ थान औंठी, १३ थान चुरा, माला ४ पिस, हसुली किसिमको सिक्री ८ पिस, पत्थर सहितको झुम्का २० पिस, झुम्का २४ पिस, गोली औठी १४, लकेट (जन्तर) १, पोते १७, सिक्री २४ थान, बाली र जुली १ सय ८८ जोर, पत्थर सहितको टप ६४ जोर, नाकको फूली २२ पिस, पत्थरवाला हार २ पिस, सानो झुम्का १० पिस, कानको बाली ११ जोर, ब्रासलेट ८ पिस छन् ।

बरामद गहना र पक्राउ गरिएकी महिलालाई आवश्यक कारबाहीका लागि बिहीबार नै भैरहवा भन्सार कार्यालय, रुपन्देही बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।