October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

भैरहवा नाका हुँदै तेस्रो मुलुकका पर्यटक आगमन सुधार, प्रवेशद्वार व्यवस्थापन भने उपेक्षित

Advertisement

भैरहवा-  रुपन्देहीको बेलहिया हुँदै नेपाल प्रवेश गर्ने भारतबाहेक तेस्रो मुलुकका पर्यटकको संख्यामा सुधार भएको छ । मुलुकको प्रमुख स्थलमार्गी पर्यटकीय प्रवेशद्वार बेलहिया नाका हुँदै आउने पर्यटकको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी भए पनि यही नाकाको सौन्दर्यकरण तथा पर्यटकमैत्री पूर्वाधार विकास भने अपेक्षाअनुसार हुन सकेको छैन ।

Advertisement

अध्यागमन कार्यालय, बेलहियाको तथ्यांकअनुसार सन् २०२५ मा बेलहिया नाका हुँदै तेस्रो मुलुकका कुल १ लाख ३ हजार ९५५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, सन् २०२६ को सेप्टेम्बर २६ सम्ममा ७५ हजार ९०६ जना पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षभरीको तुलनामा ७३ प्रतिशत हो । यद्यपि अझै सन् २०२६ को तीन महिना बाँकी रहेको र पर्यटकीय सिजन सुरु भएकाले गत वर्षको भन्दा पर्यटक आगमन संख्या नघट्ने अध्यागनको आँकलन छ ।

‘हालसम्मको औसत दैनिक आगमनको गति वर्षको बाँकी अवधिसम्म कायम रहेमा वार्षिक आगमन २०२५ को आसपास पुग्न सक्ने देखिन्छ’, अध्यागमन कार्यालयका सूचना अधिकृत पुकार श्रेष्ठले भने, ‘समग्रमा अहिलेको अवस्थामा पर्यटक आगमन राम्रो छ । बाँकी महिनामा पनि सुधार हुने अपेक्षा छ ।’

यो नाका हुँदै श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र दक्षिण कोरियाका पर्यटक सबैभन्दा बढी आएका छन् । बेलहिया नाका हुँदै आउने तेस्रो मुलुकका पर्यटकको पहिलो र महत्वपूर्ण गन्तव्य लुम्बिनी हो । बुद्ध जन्मस्थलको दर्शन तथा भ्रमणका लागि स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकले लुम्बिनीलाई आफ्नो यात्राको प्रमुख हिस्साका रुपमा समेट्ने गर्छन् । लुम्बिनीपछि कतिपय पर्यटक पोखरा, चितवन, मुस्ताङ र काठमाडौं लगायतका प्रमुख पर्यटकीय गन्तव्यतर्फ जाने गरेका छन् । यसले बेलहिया नाका केवल लुम्बिनी प्रवेश गर्ने नाका नभई नेपालका विभिन्न पर्यटकीय गन्तव्य जोड्ने महत्वपूर्ण स्थलमार्गी प्रवेशबिन्दुका रुपमा रहेको देखाउँछ ।

तर, मुलुकमा स्थलमार्गबाट पर्यटक भित्र्याउने महत्वपूर्ण प्रवेशद्वार बेलहिया नाकाको भौतिक स्वरुप र सौन्दर्यकरण भने अझै पर्यटकको अपेक्षाअनुकूल बन्न सकेको छैन । अन्तर्राष्ट्रिय पर्यटक प्रवेश गर्ने नाकामै भद्रगोल पार्किङ, जथाभावी फोहोर, सूचना केन्द्र र विश्रामस्थलको अभाव जस्ता आधारभूत सेवासुविधाको कमीले सास्ती हुने गरेको पर्यटन व्यवसायी एवं सोट्टो नेपाल लुम्बिनीका अध्यक्ष संजय बजिमय बताउँछन् ।

विशेषगरी लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गर्ने हो भने बेलहिया–भैरहवा प्रवेश क्षेत्रलाई ‘पर्यटकको स्वागतद्वार’ का रुपमा विकास गर्नुपर्ने पर्यटन उनको भनाई छ । ‘नाकाको सौन्दर्यकरणसँगै पर्यटक सूचना प्रणाली, बहुभाषिक सूचना बोर्ड, व्यवस्थित यातायात, सरसफाइ, हरियाली र सुरक्षित तथा सहज आवागमनको व्यवस्था गर्न सके बेलहियाबाट हुने पर्यटकीय आगमनलाई लुम्बिनी तथा अन्य गन्तव्यसम्म जोडेर आर्थिक लाभ विस्तार गर्न सकिने सम्भावना प्रचुर छ’, बजिमयले भने ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले नाका व्यवस्थापनमा संघीय सरकारले नै ध्यान दिनुपर्ने बताउँछन् । ‘पर्यटक आगमन मात्रै होइन्, यो नाका मुलुककै लाइफलाइन हो’, उनले भने, ‘यहाँ आएका पर्यटकलाई राम्रो व्यवहार र सेवासुविधा दिनुपर्छ । एकछिन पार्किङ गर्दैमा पर्यटकलाई प्रहरीले जरिवाना काट्ने काम तत्काल सुधार हुन जरुरी छ ।’

बेलहियाबाट तेस्रो मुलुकका हजारौँ पर्यटक निरन्तर नेपाल प्रवेश गरिरहेको तथ्यांकले स्थलमार्गबाट आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि यो नाकाको रणनीतिक महत्व स्पष्ट पार्छ । अब चुनौती भनेको पर्यटकको संख्या मात्र बढाउने नभई उनीहरुले नेपाल प्रवेश गर्ने पहिलो बिन्दुमै ‘नेपालको पर्यटन अनुभव’ सुरु हुने गरी बेलहियालाई व्यवस्थित, आकर्षक र पर्यटकमैत्री बनाउनु पर्ने व्यवसायी बताउँछन् । यो नाका हुँदै वार्षिक लाखौं भारतीय पर्यटक सीमावर्ती सहरमा तथा अन्य गन्तव्यहरुमा घुम्न, तीर्थाटन गर्न ध्यानका लागि आउने गर्छन् । अध्यागमनले पासपोर्टबाहक पर्यटकको विवरण राख्ने गरे पनि भारतीयहरुको भने तथ्यांक राख्दैन ।