निर्वाचनमा महिलाको नेतृत्व सुनिश्चित गर्न सांसद पौड्यालको माग



भैरहवा– प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले अब आउने स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्व सुनिश्चित गर्न सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसद बैठकमा बोल्दै सांसद पौड्यालले भनिन्, ‘२०७९ सालको स्थानीय तह निर्वाचनलाई हेरौँ। देशभरका ७५३ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा महिला जम्मा २५ जना मात्रै निर्वाचित हुनुभयो—अर्थात् ३ दशमलव ३ प्रतिशत। त्यसमध्ये नगरप्रमुख १३ जना र गाउँपालिका अध्यक्ष १२ जना हुनुहुन्छ। अझ ६ हजार ७४३ वडाध्यक्षमध्ये महिला जम्मा ६९ जना मात्रै निर्वाचित हुनुभएको छ—करिब १ प्रतिशत।’
अर्कोतर्फ उपप्रमुख र उपाध्यक्षमा भने ५६८ जना महिला निर्वाचित भएको उनले जनाइन् । ‘यसले एउटा कुरा स्पष्ट देखाउँछ—महिलालाई उपपदमा सहभागिता गराउने हाम्रो मानसिकता छ तर निर्णायक प्रमुख पदमा पुग्ने बाटो अझै साँघुरो छ’, उनले भनिन्, ‘नेपालको संबिधानको धारा ३८ र धारा ४२ को अनुसार राज्यको हरेक तहमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सुनिस्चित गर्दै अब केवल सहभागिताको संख्या बढाएर पुग्दैन। निर्वाचन ऐनमै आवश्यक संशोधन गरी स्थानीय तहका प्रमुख, अध्यक्ष र वडाध्यक्षजस्ता निर्णायक पदमा महिलाको अर्थपूर्ण र सुनिश्चित प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्छ।’
उनले सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूलाई आग्रह गर्दै आगामी निर्वाचनलाई महिला सहभागिताबाट महिला नेतृत्वतर्फको निर्णायक कदम बनाउन माग गरिन् ।








प्रतिकृया दिनुहोस्