सिद्धार्थनगर काँग्रेस सभापतिका लागि ‘खाण र शाह समूह’ प्रतिस्पर्धामा



भैरहवा – जिल्ला–जिल्लामा काँग्रेस १५ औं महाधिवेशनको रन्को छ । संस्थापन पक्षीय महाधिवेशनमा अधिकांश नेता–कार्यकर्ता सहभागी भइरहेका छन् । पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि १५ औं महाधिवेशनको छुट्टै तयारी गरिरहेको छ ।
कांँग्रेसमा दुईथरी महाधिवेशन हुन लागेका बेला जिल्लामा बर्चश्व कायम गर्ने होड सुरु भएको छ । संस्थापन र इतर काँग्रेसबीच लडाई चलिरहेका बेला बुधबार गाउँ–नगर समितिको निर्वाचन हुन लागेको हो । असोज ३ र ४ गते वडा अधिवेशन भइसकेको छ । बुधबार बिहान रुपन्देहीका १६ पालिकामा गाउँ–नगर समिति चयन भइरहेका छन् ।
महाधिवेशनका कारण उत्साहित कार्यकर्ता वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा प्रतिनिधित्वका लागि प्रतिष्पर्धामा छन् । यसरी प्रतिस्पर्धाका क्रममा उनीहरुले बर्चश्व स्थापनालाई ध्यान दिएको पाइएको छ । त्यसको उदाहरण रुपन्देहीको सिद्धार्थनगर नगरपालिका हो । सिद्धार्थ नगर सभापतिका लागि सञ्जिव शर्मा रेग्मी र देवराज न्यौपाने मैदानमा छन् । दुबैले मंगलबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए ।
रेग्मी र न्यौपानेको उम्मेदवारी घोषणा कार्यक्रमले जिल्लामा कायम दुई गुटको पनि खुलासा गरेका छन् । रेग्मीको घोषणासभामा पूर्व राज्यमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य भरतकुमार शाह प्रमुख अतिधि थिए । उनीसँगै जिल्ला उपसभापति अनिता ढुंगाना शाह र रुपन्देही–३, का क्षेत्रीय सभापति सुशील गुरुङ लगायत सहभागी थिए । विशेष महाधिवेशन अगाडिसम्म शाह र गुरुङ बालकृष्ण खाण पक्षधरका रुपमा चिनिएका थिए ।
अहिले उनीहरु सभापति गगनकुमार थापा पक्षधर देखिएका छन् । रेग्मीको प्यानल घोषणामा सभापति थापा निकट रमेश खनाल पुगेका थिए । जिल्ला राजनीतिमा निष्कृय बसेका व्यक्ति समेत रेग्मीलाई जिताउन आह्वान गर्न पुगेका थिए । ‘प्यानल’लाई संरक्षण प्रदान गरिरहेका शाहले रेग्मीलाई जिताएर सिद्धार्थनगरमा काँग्रेस संगठन बलियो बनाउन अनुरोध गरेका थिए । काँग्रेस परिवर्तनको लहरमा सघाउन उनको अपील थियो । त्यहाँ सहभागी अन्य नेताले पनि रेग्मीको पक्षमा भोट मागेका थिए ।
भैरहवाको पटवा बैंक्वेटमा सभापतिका प्रत्यासी न्यौपानेले पनि मंगलबार साँझ आफ्नो प्यानल घोषणा कार्यक्रम राखेका थिए । काँग्रेसका विभिन्न स्तरका नेता–कार्यकर्ता सहभागी उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला सभापति रामकृष्ण खाण सहभागी थिए । उनीसँगै प्रदेश सांसदद्वय देवीप्रसाद चौधरी र वसिउद्दिन खानपनि सहभागी थिए । न्यौपानेको घोषणा कार्यक्रमका अधिकांश सहभागी दिउँसो रेग्मी पक्षले होटल पौवामा आयोजना गरेको भेलामा सहभागी थिएनन् ।
सिद्धार्थ नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ लगायत नेताले दुबै पक्षको कार्यक्रममा पुगेर पार्टी एकढिक्का हुनुपर्नेमा जोड दिएका थिए । प्रदेश सांसद खानले न्यौपानेको पक्षमा खुलेर मत मागेका थिए । न्यौपानेसित बिजयी भएपछि मिठाई खुवाउन उनले आग्रह गरेका थिए । जिल्ला सभापति खाणले न्यौपानेलाई आधिकारिक उम्मेदवारका रुपमा परिचित गराएका थिए । न्यौपाने कार्यबाहक नगर सभापति पनि हुन् ।
न्यौपानेलाई जिताएर सिद्धार्थ नगरमा पार्टी संगठन सुधारमा सघाउन खाणले आह्वान गरेका थिए । पार्टी संगठनमा लामो समय काम गरेका र कार्यकर्तामाझ भिजेका न्यौपानेले परिवर्तिन काँग्रेसको भावना अनुसार युवालाई संगठित गरेर आगामी प्रदेश र स्थानीय निर्वाचनमा बिजय हाँसिल गराउनसक्ने भएकाले मतदान मार्फत जिताउन आह्वान गरेका थिए । ‘सिद्धार्थ नगरमा काँग्रेस एकजुट र बलियो बनाउने उम्मेदवार सार्वजनिक गरेका छौं,’ सभापति खाणले भने, ‘उहाँलाई अवसर दिनुस् ।’
काँग्रेस स्रोतका अनुसार रुपन्देहीमा पार्टी सभापति थापा र पूर्व सभापति देउवा भन्दा पनि ‘खाण काँग्रेस’ हावी हुँदै आएको छ । वर्तमान सभापति खाण १५ महाधिवेशन मार्फत् जिल्ला सभापतिमा दोहोरिने दाउमा छन् । उनका दाजु तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि केही दिन अघि केन्द्रीय सदस्यमा मनोनित भइसकेका छन् । यसअघि देउवा निकट खाण परिवार विशेष महाधिवेशन लगत्तै वर्तमान सभापति नजिक पुगेको थियो । लामो समय जिल्लाको राजनीतिमा पकड कायम राखेको खाण परिवार आफ्नो प्रभाव कायम राख्ने पक्षमा देखिन्छ । त्यसैले वडा तहदेखि गुट तयार गरेर चुनावी प्रतिस्पर्धामा होमिएको जिल्लास्थित एक काँग्रेस नेताको भनाई छ ।








प्रतिकृया दिनुहोस्