October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

एक महिनामा लुम्बिनीमा ४१६ दुर्घटना, १९ को मृत्यु, ७६२ जना घाइते

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा ४१६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार भदौमा प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा परी ७६२ जना घाइते भएका छन् । कार्यालयका अनुसार सबैभन्दा धेरै सवारी दुर्घटना रुपन्देहीमा भएका छन्। रुपन्देहीमा मात्रै १५७ वटा दुर्घटना भएका छन्। त्यस्तै बाँकेमा ८५, कपिलवस्तुमा ६९ र नवलपरासीमा २७ वटा सवारी दुर्घटना भएका छन्।

यसैगरी बर्दियामा २३, दाङमा १४, गुल्मीमा १२, पाल्पामा १०, रोल्पामा ९, प्युठानमा ५ र अर्घाखाँचीमा ४ वटा दुर्घटना भएका छन्। पूर्वी रुकुममा भने सबैभन्दा कम अर्थात् एउटा मात्रै सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाका अनुसार चालकको लापरबाही, तीव्र गति र मापसेका कारण दुर्घटनाको जोखिम बढिरहेको छ। प्रहरीका अनुसार प्रदेशमा हुने सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति र चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउनु देखिएको प्रहरीले जनाएको छ।

भदौ महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ४८७ सवारी तथा चालकलाई कारबाही गरिएको छ। तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लापरबाही गर्ने, ओभरलोड गर्ने तथा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चलाउनेलगायतका कसुरमा उनीहरूलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।