October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

भदौमा रूपन्देही प्रहरीमा १४६ मुद्दा दर्ता, १२८ प्रतिवादी पक्राउ

Advertisement

भैरहवा– जिल्ला प्रहरी कार्यालय, रुपन्देही तथा मातहतका प्रहरी कार्यालयले भदौ महिनामा विभिन्न प्रकृतिका १४६ वटा मुद्दा दर्ता गरेका छन् । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो अवधिमा चालु मुद्दाका १२८ जना प्रतिवादी पक्राउ परेका छन् ।

Advertisement

दर्ता भएका मुद्दामध्ये संगठित तथा आर्थिक अपराधका ६१, ज्यानसम्बन्धी २५, सामाजिक अपराधका १३, महिला तथा बालबालिकासम्बन्धी ११, चोरीका ८, सवारीसम्बन्धी ७ र विविधतर्फ एउटा मुद्दा छन् । आत्महत्याका २० घटना घटेका छन्, जसमा १४ पुरुष र ६ महिलाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १७ जनाले झुन्डिएर र ३ जनाले विषादी सेवन गरी आत्महत्या गरेको विवरणमा उल्लेख छ ।

फैसला कार्यान्वयनतर्फ प्रहरीले ८३ जना फरार प्रतिवादी पक्राउ गरी १ करोड ३५ लाख ४० हजार ६ सय रुपैयाँ जरिवाना असुल गरेको प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जनाए ।

यस्तै, भदौमा ८१ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेका थिए, जसमध्ये ७० वटा मिलापत्र गरिएको छ । एक महिनामा प्रहरीले लागुऔषधतर्फ ७ वटा मुद्दा दर्ता गरी ११ जना पक्राउ गरेको छ । प्रहरीले गांजा १४ किलो ३६८ ग्राम, चरेस २१० ग्राम, ब्राउन सुगर ५७ ग्राम ४४१ मिलिग्रामलगायत विभिन्न लागुऔषध बरामद गरेको छ ।

भदौमा रुपन्देहीमा १६० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ३ जनाको मृत्यु र २६९ जना घाइते भएका छन् । ट्राफिक चेकिङका क्रममा ३ हजार ७१ कारबाहीबाट ५२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको रुपन्देही प्रहरी तथ्यांक छ । यसैगरी, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ १ करोड ८९ लाख २७ हजार ७५६ रुपैयाँ बराबरको राजस्व संकलन भएको र १० जना पक्राउ परेको प्रहरीले जनाएको छ ।