October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बृहत लुम्बिनी क्षेत्र विकासका प्राथमिकताः पूर्वाधार, सांस्कृतिक प्रवर्द्धन र स्थानीयलाई रोजगार

Advertisement

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका प्रमुख पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको विकासका लागि लागू गरिएको बृहत् लुम्बिनी क्षेत्र विकास परियोजनाले पूर्वाधार विकास, सांस्कृतिक प्रवर्द्धन र स्थानीयलाई रोजगार सिर्जना गर्ने उद्देश्य लिएको छ ।

Advertisement

नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा उक्त आयोजना अघि बढाउन लागेको हो । लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईले लुम्बिनीलाई धार्मिक तीर्थस्थलमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक, सांस्कृतिक तथा सम्पदा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र स्थानीय तहमा आर्थिक अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना सञ्चालन गर्न लागिएको बताए ।

आयोजनाले लुम्बिनी बौद्व परिपथ अन्तर्गत रहेका लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह क्षेत्रको विकासमा काम गर्ने लक्ष्य लिएको छ । हाल लुम्बिनीमा वार्षिक करिब ११ लाख २० हजार पर्यटक तथा श्रद्धालुहरू आउने गरेको कोषले जनाएको छ ।

कोषका अनुसार अधिकांश पर्यटकको बसाईं अवधि निकै छोटो हुने गरेको छ। यसले गर्दा स्थानीय समुदाय, व्यवसायी तथा रोजगारीका क्षेत्रमा पर्यटकीय लाभ सोचेजति पुग्न सकेको छैन ।

‘यस आयोजनाले पूर्वाधार र पर्यटक सेवामा सुधार गर्दै ऐतिहासिक स्थलहरूबीचको पहुँच सुगम बनाउनेछ’, निमित्त सदस्य सचिव राईले भने, ‘जसले पर्यटकको बसाईं अवधि लम्ब्याउन र स्थानीय तहमा रोजगारी तथा व्यवसायका नयाँ अवसरहरू सिर्जना गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ।’

आयोजनाको मूल उद्देश्य बृहत लुम्बिनी क्षेत्रमा पर्यटन सम्बन्धि पूर्वाधार र सेवामा सुधार गर्दै रोजगारी प्रवर्द्धन गर्नु रहेको छ । आयोजनाले गन्तव्य व्यवस्थापन, स्थानीय आर्थिक अवसरको विस्तार र पर्यटन अर्थतन्त्रमा स्थानीय समुदाय तथा व्यवसायीको सहभागिता अभिवृद्धि गर्ने जनाइएको छ। साथै सम्पदा, पर्यटन, स्थानीय उद्यम र लगानीबीचको सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।

आयोजना अन्तर्गत लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह तथा तिनका आसपासका क्षेत्रमा जलवायु–उत्थानशील र सम्पदा(संवेदनशील भौतिक पूर्वाधार, पहुँचमार्ग, सार्वजनिक स्थल तथा पर्यटक सुविधाहरूको निर्माण तथा स्तरोन्नति गरिने जनाइएको छ।

आयोजनाको प्रभावकारी कार्यान्वयन, योजना, अनुगमन तथा प्राविधिक, वातावरणीय, सामाजिक र वित्तीय प्रणालीको सुदृढीकरण तथा व्यवस्थापनमा यस योजनाले सहयोग पुर्याउने लुम्बिनी विकास कोषले जनाएको छ ।

कोषले सरकार र विश्व बैंकको यो संयुक्त प्रयासले बृहत् लुम्बिनी क्षेत्रलाई विश्वमञ्चमा एक प्रमुख अन्तर्राष्ट्रिय आध्यात्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्नुका साथै स्थानीय अर्थतन्त्रमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको जनाएको छ ।