बाँकेमा ठूलो परिमाणमा ट्रामाडोलसहित मोटरसाइकल बरामद



नेपालगञ्ज–भारतबाट अवैध रूपमा नेपाल भित्राउँदै गरिएको लागूऔषधको सूचिमा पर्ने ठूलो परिमाणको ट्रामाडोल नामक औषधिसहित ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल बाँकेको खजुरा क्षेत्रबाट सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।
ट्रामाडोल बिशेषत दुखाइ कमगर्ने औषधी हो । लागूपदार्थ र्दुव्यसनीले यसको प्रयोग दुरुपयोग गर्न थालेपछि नेपालमा चिकित्सकको सिफारिश बिना यसको बिक्री बितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी, बाँकेका अनुसार सीमावर्ती खजुरा क्षेत्रमा गरिएको चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा ल्याइएको ४३ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो ।
मंगलबार गरिएको चेकजाँचका क्रममा सशस्त्र प्रहरी टोलीलाई देखेपछि ट्रामाडोल ओसारपसारमा संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएको जनाइएको छ । घटनास्थलबाट बरामद गरिएको ट्रामाडोल र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि नियमित चेकजाँचसँगै तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार सीमावर्ती नाकामा निगरानी तथा चेकजाँचलाई कडाइ गरिएपछि लागूऔषध तथा अन्य अवैध वस्तुको ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढेको छ ।
सीमावर्ती क्षेत्रमा निगरानी र चेकजाँचलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लागूऔषधलगायत अवैध वस्तुको ओसारपसार नियन्त्रणमा विशेष ध्यान दिइने सशस्त्र प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्