October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

भारतीय गाडीलाई एक महिने सीमाले पर्यटन प्रभावित

Advertisement

भैरहवा – पर्यटक बोकेर नेपाल भित्रिने भारतीय गाडी एक महिना मात्र नेपालमा रहन पाउने नियमले पर्यटन क्षेत्र प्रभावित बनेको छ । नेपाल प्रवेश गर्ने भारतीय गाडीको भन्सार बिन्दुमा अनलाइन दर्ता सुरु भएपछि नियममा कडाई भइरहेको छ । नियम लागू भएपछि भारतीय ट्राभल कम्पनी प्रभावित भएको व्यसायीको गुनासो छ ।

Advertisement

यसअघि भारतीय गाडीले भन्सारमा राजश्व तिरेर एउटै पर्यटन समूहलाई महिनौं नेपालम घुमाउने गरेका थिए । पछिल्लो समय नेपाल प्रवेश गर्दा अनलाइन दर्ता सुरु भएपछि एउटा गाडी ३० दिनभन्दा बढी नेपालमा रहन मिल्दैन । ३० दिने समय सीमामा कडाई गरिएपछि भारतीय ट्राभल कम्पनीले नेपालमा पर्यटक ल्याउनै नमानिरहेको सिद्धार्थ संघका बरिष्ठ उपाध्यक्ष किशोर जोशीले बताए । ‘भारतबाट पर्यटक ल्याएर सुनौली नाकामा ओरोलेर नेपाल पठाउन मान्दैनन्,’ उनले भने, ‘त्यसैले यस्तो समय सीमा सच्याइयोस् ।’

रुपन्देहीको बेलहियास्थित पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले पनि एउटा गाडी ३० दिन मात्र नेपालमा रहने नियम लागू भएपछि भारतीय ट्राभल व्यवसायी प्रभावित बनेको बताए । ‘भारतीय गाडीले नेपालमा ३० दिनमात्र सेवा दिन पाउने नियमले नेपाल आउने पर्यटक प्रभावित भएका छन्,’ उनले भने, ‘नाकामा पर्यटक उतारेर फेरि अर्को गाडीमा चढाउन समस्या भइरहेको छ । नेपाल सरकारले यस्तो नियममा पुनर्विचार गर्नुपर्छ ।’ नेपालमा पर्यटक नभएका बेला भारतीयकै कारण व्यवसाय धानिएको उनले बताए । ‘भारतीय पनि आउन छाडे भने हामीले कसरी होटल व्यवसाय चलाउने,’ उनले भने, ‘पर्यटक गाडीलाई प्रवेशमा सहुलियत दिन अनुरोध छ ।’

होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भारतीय गाडीले भन्सार महशुल चुक्ता गरेका खण्डमा ३० दिन भन्दा बढी सञ्चालन हुन पाउनुपर्ने बताए । ‘नेपालमा ३० दिन भन्दा बढी गाडी चलाउन नपाउने भएपछि ट्राभल कम्पनीले बुकिङ रद्व गरिरहेका छन्,’ उनले भने, ‘अनलाइन दर्ता अनिवार्य भएपछि समस्या भइरहेको छ ।’ स्थानीय स्तरबाट समस्या समाधान गर्न सम्भव नभए संघीय सरकारलाई भनेर भए पनि एक महिने अवधि लम्ब्याउनुपर्ने उनले बताए ।

भैरहवा भन्सार प्रमुख हरिहर पौडेलले नेपाल प्रवेश गाडीको अनलाइन दर्ता सुरु भएपछि नियम लागू भएको बताए । उनका अनुसार अनलाइन प्रणालीमा भारतीय गाडीको नम्बरसँगै चेसीस नम्बर पनि समावेश हुने गरेको छ । आर्थिक ऐनमै पटकपटक गरेर एउटा भारतीय गाडी नेपालमा ३० दिन मात्र रहन पाउने व्यवस्था रहेको उनले बताए । ‘त्यसैले गर्दा हामीले निर्णय गरेर छुट दिन मिल्दैन,’ उनले भने, ‘नियम फेर्न आर्थिक ऐन बदल्नुपर्छ ।’ भारतीय गाडी नआउने अवस्थामा यहाँका पर्यटन व्यवसायीले ठूलो समुहलाई सेवा दिनसक्ने गाडीको व्यवस्था तर्फ लाग्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कानुनमा रहेको व्यवस्था स्थानीय प्रशासनले परिवर्तन गर्न नसक्ने उल्लेख गरे । ‘भारतीय गाडीलाई धेरै दिन नेपालमा रहने वातावरण बनाउने विषयमा सम्बन्धित निकायमा जानकारी गराउनेछु,’ उनले भने, ‘यसअघि अनलाइन दर्ता प्रणाली एक्टिभ नभएकाले भारतीय गाडीले छुट पाएका थिए ।’ अब त्यो सम्भावना नरहेकाले कानुनमै नयाँ व्यवस्था गर्नुपर्ने उनले बताए ।