बाणगंगा नदीको बाढीबाट १२ जनाको उद्धार, एक बालक बेपत्ता



कपिलवस्तु–बाणगंगा नदीमा अचानक आएको बाढीका कारण जोखिममा परेका कपिलबस्तुका १३ जनामध्ये १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । एक बालक बेपत्ता भएका छन् ।
कपिलवस्तु नगरपालिका–६, बर्मेलीस्थित बाणगंगा नदीमा घाँस काट्न नदी पार गरेर वनतर्फ गएका १२ जना अचानक आएको बाढीका कारण नदीमै फसेका थिए फर्कन नसकेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले भदौ २७ गते राति करिब साढे ८ बजे नदीमा फसेका ११ महिला र एक पुरुषको सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ ।
उद्धार गरिएकामा कपिलवस्तु नगरपालिका–६ का ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मिना वयम्बु, ४५ वर्षीया बेलमति सुनार, ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा र ३७ वर्षीय रेशम परियार रहेका छन् ।
यसैबीच, बाणगंगा नगरपालिका–४ स्थित मायादेवी रंगशालाको पूर्वतर्फ करिब एक किलोमिटर दक्षिणमा बाणगंगा नदीमा पौडी खेल्न गएका दुई बालक पनि नदीको बीचमा रहेको टापुमा फसेका थिए । बाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा शनिबार दिउँसो करिब ३ बजे पौडी खेल्ने क्रममा पानीको बहाव अचानक बढेपछि टापुमा रहेको रुखमा चढेर बसेका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपराबाट उद्धार सामग्रीसहित प्रहरी टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सशस्त्र प्रहरी सुरक्षा बेस पिपराबाट समेत थप उद्धार टोली घटनास्थलतर्फ पठाइएको थियो ।
उद्धार टोली साँझ करिब ६ बजे रबर बोटमार्फत घटनास्थल पुगेको थियो । टोलीले १६ वर्षीय रिदम लामालाई सकुशल उद्धार गरे पनि १० वर्षीय बुद्ध लामा भने फेला परेका छैनन् । उनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्