October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बुटवलमा नदी किनारका बस्तीमा जोखिमयुक्त क्षेत्र पहिचान गरिँदै

Advertisement

भैरहवा– भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी किनारमा बसोबास गर्ने बस्तीको जोखिम फेरि उजागर गरेपछि बुटवलमा पनि तिनाउ नदी आसपासको सुरक्षा चासोको विषय बनेको छ । सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि बुटवल उपमहानगरपालिकाले वडा तहबाटै जोखिमयुक्त क्षेत्र पहिचान गर्ने तयारी थालेको छ ।

Advertisement

वर्षायाममा तिनाउ नदीको बहाव बढ्दा नदी किनारका बस्तीमा बाढी र डुबानको जोखिम हुने गरेको छ । भोटेकोशी बाढीबाट भएको ठूलो क्षतिले यस्ता जोखिमयुक्त बस्तीको अवस्था समयमै पहिचान गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यकता थप स्पष्ट पारेको उपमहानगरपालिकाको बुझाइ छ ।

यसैलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले वडा तहबाट प्राविधिक टोली परिचालन गरी तिनाउ नदी र आसपासका बस्तीको स्थलगत अध्ययन गर्ने योजना बनाएको हो । टोलीले नदीको बहाव, बस्तीको अवस्थिति, भौगोलिक अवस्था तथा विगतमा देखिएका जोखिमका आधारमा सम्भावित जोखिम क्षेत्रको मूल्यांकन गर्नेछ । अध्ययनपछि तत्काल जोखिममा रहेका बस्ती, थप सुरक्षा आवश्यक पर्ने स्थान र दीर्घकालीन रूपमा विशेष व्यवस्थापन गर्नुपर्ने क्षेत्र छुट्याइनेछ ।

पहिचान भएका जोखिमका आधारमा सुरक्षा तथा विपद् व्यवस्थापनका योजना अघि बढाउने उपमहानगरको तयारी छ । नदी आसपास बसोबास गर्ने नागरिकको संख्या, बस्तीको अवस्थिति र जोखिमको स्तरलाई आधार बनाएर प्राथमिकता निर्धारण गरिने जनाइएको छ । त्यसै अनुसार आवश्यक पूर्वतयारी, सुरक्षा व्यवस्था र व्यवस्थापनका काम अघि बढाइनेछ । भोटेकोशीको घटनाले विपद् आएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुनेभन्दा सम्भावित जोखिमको पूर्वपहिचान गरी क्षति न्यूनीकरणका उपाय समयमै अपनाउनुपर्ने पाठ दिएको छ ।

उपमहानगरपालिकाले भने जोखिम पहिचानलाई पहिलो चरणमा राखेर त्यसको निष्कर्षका आधारमा आवश्यक सुरक्षा, योजना तथा व्यवस्थापनका काम अघि बढाउने जनाएको छ ।