October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

लुम्बिनी प्रेस क्लबद्वारा बाढी प्रभावित पत्रकारलाई एक लाख सहयोग

Advertisement

भैरहवा– लुम्बिनी प्रेस क्लब, रुपन्देहीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पत्रकारहरुलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । क्लबले शनिबार साँझ भैरहवा दीप प्रज्ज्वल गरी दिवंगतहरुको चीरशान्तिको कामना गर्दै सहयोग रकम पनि हस्तान्तरण गरेको छ ।

Advertisement

क्लबका अध्यक्ष कमल रायमाझीका अनुसार रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बाढीका कारण कयौं पत्रकार अझै हराइरहेका छन् । कति पत्रकारको धनसम्पत्ति सबै बाढीले बगाएको छ भने केहीको परिवार र संचारउपकरण बगाएको छ । यस्तो बेला व्यवसायिक नाताले तत्काल पत्रकारहरुलाई थोरै भए पनि सहयोग होस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको रायमाझीले बताए ।

क्लबले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमार्फत् एक लाख एक हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । उक्त सहयोग रकम महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलमार्फत् हस्तान्तरण गरिएको हो । महासंघ सदस्य पोखरेलले विपद्मा परेका पत्रकारहरुको साथसयोग र राहत रकम उपलब्ध गराएकोमा क्लबलाई धन्यवाद ज्ञापन गरे । उनले विनासकारी बाढीले सयौंको ज्यान लिएको, कयौं वेपत्ता भएको र धेरैजनाको जायजेथा सबै बगेको उल्लेख गर्दै यस्तो विपत्ती सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने जनाए ।

क्लबका महासचिव प्रकाश न्यौपानेले पत्रकारहरुले आफ्नो गक्षअनुसार सहयोग रकम जुटाएर महासंघमार्फत् पत्रकार, उनीहरुका आश्रित परिवारलाई उपलब्ध गराउने गरी हस्तान्तरण गरिएको बताए । सरकारी राहत सम्बन्धित ठाउँमा पुग्ने भए पनि तत्काल केही राहत होस् र विपत्तीमा परेका पत्रकार तथा उनीहरुका परिवारलाई सानो भए पनि सहयोग मिलोस् भनेर क्लबले सहयोग रकम हस्तान्तरण गरेको उनले बताए ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँनले मानवीय सेवाको काममा क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको जनाए । उनले विपत्तिले धेरै परिवार र आर्थिक क्षति पनि तहसनहस बनाएको जनाउँदै यस्तो बेला सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । बुद्धचोकमा आयोजित दीप प्रज्ज्वलनमा भैरहवा क्षेत्रका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाढीमा परी दिवंगत स्वदेशी तथा विदेशीहरुको आत्माको चीरशान्तिको कामना गरिएको थियो ।