October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

गुल्मीमा १४० बट्टा नक्कली चुरोट सहित एक जना पक्राउ

Advertisement

गुल्मी–गुल्मीको बलेटक्सार बजार क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा नक्कली चुरोट बरामद गरेको छ । नक्कली चुरोट बिक्री गर्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई भ्यानसहित नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिका–३ का ४० वर्षीय गोपाल परियार रहेका छन् । उनले लु.प्र.०१–००१ च ४६३० नम्बरको भ्यानमा चुरोट बिक्री गर्दै हिँडेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा चार जना प्रहरीको टोली परिचालन गरिएको थियो । टोलीले जाँच गर्ने क्रममा भ्यानबाट चुरोटजस्तै देखिने १४० बट्टा नक्कली चुरोट फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार बरामद चुरोटका बट्टामा आन्तरिक राजस्व विभागको छापसमेत लगाइएको पाइएको छ ।

बरामद नक्कली चुरोट, भ्यान तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।