रूपन्देहीका १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै



भैरहवा– जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले यस वर्ष पनि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपिभी खोप अभियानलाई निरन्तरता दिएको छ । कार्यालयले जिल्लाका पालिकामा रहेका १२ हजार भन्दा बढी किशोरीलाई यस्तो खोप लगाउने भएको हो । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन वर्षदेखि किशोरीलाई एचपिभी खोप लगाइँदै आएको छ ।
पालिकास्थित विद्यालयका ६ कक्षामा पढ्ने किशोरी र विद्यालयभन्दा बाहिर रहेका १० वर्षका गरी १२ हजार ९० जना किशोरीलाई खोप लगाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जानकारी दिइन् । यी मध्ये ११ हजार ७ सय ९ जना कक्षा ६ मा पढ्ने किशोरी छन् भने ३ सय ८१ जना विद्यालय भन्दा बाहिर रहेका १० वर्षका किशोरी छन् । रूपन्देहीमा गत वर्ष १२ हजार ४ सय १९ जनालाई एचपिभी खोप लगाइएको थियो । त्यो भन्दा अघिल्लो वर्ष सन् २०८१ सालमा ५८ हजार ९ सय किशोरीलाई एचपिभी खोप लगाएको थियो ।
जिल्लामा एचपिभी खोप कार्यक्रमलाई प्रभावकारी बनाउन र कुनै पनि किशोरी खोप लगाउनबाट नछुटुन् भन्ने उद्देश्यले जिल्ला खोप समन्वय समितिले सबै पालिकाहरूको समन्वयमा तयारी समेत गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख थापाले जानकारी दिइन् । दुई चरणमा सञ्चालन गरिने खोप अभियान अन्तर्गत पहिलो चरणमा असोज ५ गतेदेखि ८ गतेसम्म जिल्लाका ११ वटा पालिकामा र बाँकी रहेका ५ वटा पालिकामा असोज १२ गतेदेखि १५ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने छ ।
थापाका अनुसार खोप अभियानका लागि जिल्लामा ४८३ वटा विद्यालय र १५० वटा स्वास्थ्य संस्था गरी ६३३ वटा खोप केन्द्र तयार गरिएको छ । यो अभियानका लागि टोल टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत परिचालन गर्ने गरी पालिकाहरूसँग समन्वय भइरहेको थापाले बताइन् ।
रूपन्देहीमा सबभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ हजार २१२ जना र तिलोत्तमा नगरपालिकामा १ हजार ५६३ जनालाई एचपिभी खोप लगाइने छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ हजार १२४, देवदहमा ९६३, सैनामैनामा ९१८, सिद्धार्थनगरमा ८१६, मायादेवीमा ६२७, गैंडहवामा ६०१, कोटहीमाइमा ५३५, कञ्चनमा ४७०, रोहिणीमा ४६७, सियारीमा ४६०, मर्चवारीमा ४०३, सम्मरीमाईमा ३६५, शुद्धोधनमा ३०९ र ओमसतियामा २५७ जना किशोरी छन् ।
खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको र आवश्यकताको आधारमा स्वास्थ्यकर्मी थप गर्न सकिने थापाले बताइन् । चिकित्सकहरूका अनुसार महिलाहरूको पाठेघरको मुखको क्यान्सर विभिन्न १२ वटा एचपिभी भाइरसले लाग्ने र त्यसमध्ये दुई प्रजातिका भाइरसबाट क्यान्सर लाग्ने ८० प्रतिशत जोखिम रहन्छ ।
महिलाहरूलाई हुने पाठेघरको क्यान्सर संसारका सबै देशहरूमा नै जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा देखा परेको छ । नेपाली महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण रहेको छ । महिला र पुरूष दुवैको गणना गर्दा पनि फोक्सोको क्यान्सरपछि पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।
नेपालमा पनि हरेक वर्ष दुई हजार २ सय हाराहारी महिलालाई पाठेघरको क्यान्सर हुने गरेको छ भने एक हजार ३ सय भन्दा बढी महिलाको सोही क्यान्सरका कारण मृत्यु हुने गरेको छ । पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमा भाइरस ‘एचपिभी’ का कारण हुने गर्छ । महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपिभी नामक भाइरसविरूद्ध उक्त खोप दिन लागिएको हो ।








प्रतिकृया दिनुहोस्