October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

सुलभ फार्मेसीका विषयमा तिलोत्तमा नगरपालिका र औषधि उत्पादक आमने–सामने

Advertisement

भैरहवा– नागरिकलाई सहुलियतमा औषधि विक्री गर्ने उद्देश्यले सञ्चालन गरिएको सुलभ फार्मेसीका विषयमा तिलोत्तमा नगरपालिका र औषधि उत्पादक कम्पनी र व्यवसायी आमने–सामने भएका छन् । नगरपालिकाले स्थानीय बासिन्दालाई सहुलियतमा औषधि विक्री गर्न सञ्चालन गरिएको फार्मेसीलाई औषधि कम्पनी र थोक विक्रेताले असहयोग गरिरहेको दाबी गर्दै आएको छ । औषधि उपलब्ध गराउन नमानेपछि फार्मेसी बन्द गर्नुपर्ने अवस्थामा पुगेको नगरपालिकाको भनाई छ ।

Advertisement

केही समयदेखि फार्मेसी सञ्चालनमा अवरोध सिर्जना गर्ने प्रयास गरिएको भन्दैं नगरपालिकाले प्रेस विज्ञप्ती मार्फत भ्रामक प्रचारप्रसारको खण्डन गरेको छ । ‘नगरपालिकाले नागरिकलाई आवश्यक औषधी सहज, सुलभ, गुणस्तरीय तथा पारदर्शी रूपमा उपलब्ध गराउने उद्देश्यका साथ शुलभ फार्मेसी सञ्चालनमा ल्याएको विषय सबैमा विदितै छ,’ नगर प्रमुख रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी नागरिकको मौलिक हक संविधानको अनुसूची ८ र ९ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा भएको स्वास्थ्य सम्बन्धी व्यवस्थालाई आत्मसात गरी आम नागरिकको स्वास्थ्यसँग जोडिएका औषधी औषधीजन्य सामग्री सर्वसुलभ रूपमा सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनमा ल्याएको सबैलाई विदितै छ ।’
विज्ञप्तीमा भदौं २० गते औषधि व्यवसायी संघ रुपन्देही शाखाको सातौं वार्षिक साधारण सभामा नगरपालिकाले संचालन गरेको शुलभ फार्मेसीका सम्बन्धमा नगर प्रमुखलाई जोडेर औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले व्यक्त गरेको भ्रामक तथा तथ्यहीन अभिव्यक्ति प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । ‘कुनै सार्वजनिक कार्यक्रम वा संस्थागत निर्णयप्रति प्रश्न उठाउन, आलोचना गर्न वा सुझाव दिन सबैलाई पूर्ण स्वतन्त्रता भए पनि त्यस्ता अभिव्यक्ति तथ्य, प्रमाण र कानुनी व्यवस्थामा आधारित हुन आवश्यक छ,’ विज्ञप्तीमा भनिएको छ, ‘जिम्मेवार व्यक्तिबाट अपुष्ट सूचना, अतिरञ्जित दाबी वा भ्रम सिर्जना गर्ने किसिमको अभिव्यक्ति आउनु आफैमा लज्जाको विषय हो । यस्ता गलत र भ्रमपूर्ण प्रचारबाजीप्रति नगरपालिका गम्भिर आपत्ति प्रकट गर्दछ ।’

शुलभ फार्मेसी सञ्चालनमा आएपछि केही औषधि व्यवसायी तथा व्यवसायी सम्बद्ध संघ संस्थाबाट असहमति प्रकट हुनुका साथै फार्मेसीका लागि आवश्यक औषधीको आपूर्तिमा अवरोध सिर्जना गरी सेवा प्रवाहलाई प्रभावित पार्ने प्रयास गरिएको नगरपालिकाले जनाएको छ । ‘यस सन्दर्भमा औषधी व्यवस्था विभागको पत्र सङ्ख्या २०८३–८४, चलानी नम्बर, ९११ मिति २०८३–०५–०८ को पत्रबाट औषधी नियमित आपूर्ति गर्ने सम्बन्धमा भएको पत्राचार समेतलाई वेवस्ता गरी नेपालको संविधानको धारा ३५ स्वास्थ्य सम्बन्धि हक, धारा ४४ उपभोक्ताको हक, औषधी ऐन, २०३५, प्रस्तिपर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ३, ४ र ५ उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र १७ जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ विपरित कार्य गर्ने गराउने संघ संस्थाका अगुवाबाट यस्तो खालको अभिव्यक्ति आउनु आफैमा गैह जिम्मेवारीपनको पराकाष्ठा हो,’ विज्ञप्तीमा भनिएको छ ।

‘सेवामा व्यवधान सिर्जना गर्ने वा सफल बनाउने उद्देश्यले दवाव सिर्जना गर्ने कार्य केही सीमित व्यवसायी र बिचौलियाको नीहित स्वार्थ पूर्तिका लागि मात्र भएको नगरपालिकाको ठहर छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने गरी औषधि आपूर्तिमा अवरोध सिर्जना गर्ने, सेवा प्रवाहमा वाधा पुर्याउने वा सार्वजनिक संस्थाको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले तथ्यहीन तथा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई नगरपालिका मौन बसेर स्वीकार गर्ने छैन । त्यस्ता गतिविधिका कारण नगरवासीको स्वास्थ्य सेवामा प्रतिकूल प्रभाव परेको वा प्रचलित कानुनको उल्लङ्घन भएको पाइएमा नगरपालिकाले आवश्यक प्रमाण सङ्कलन गरी सम्बन्धित नियामक निकाय समक्ष पेस गर्ने वेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

व्यवसायीको आपत्ती
औषधि व्यवस्था विभागले तिलोत्तमा नगरपालिकामा सञ्चालित सुलभ फार्मेसीलाई आवश्यक औषधि उपलब्ध गराउन सम्बन्धित व्यवसायीलाई गत भदौं ८ गते पत्राचार गरेको थियो । उक्त पत्रमा बुटवलमा सञ्चालित थोक औषधि पसल र सर्किजल व्यवसायीलाई तिलोत्तमा नगरपालिकामा सञ्चालित सुलभ फार्मेसीमा नियमित औषधि आपूर्ति सुनिश्चित गर्नु भनिएको थियो । उक्त पत्रप्रति व्यवसायीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरुले विभागमा तीन बुँदे ध्यानाकर्षण पत्र पठाएका छन् । उक्त पत्रको पहिलो बुँदामा ‘औषधिको कारोबार (विक्री वितरण) गर्न औषधि व्यवस्था विभागमा निर्धारित प्रक्रिया पूरा गरी पसल दर्ता गर्नुपर्ने, औषधिको झुट्टा र भ्रामक प्रचार गर्न नपाउने किटानी व्यवस्था औषधि ऐन २०३५ मा रहेको व्यहोरा यहाँलाई जानकारी नै छ तर त्यस विभागको पत्रमा उल्लेख भएको सुलभ फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता भएको देखिंदैन हालसम्म सुलभ फार्मेसीको नामबाट कुनै मागपनि प्राप्त भएको छैन् र दर्ता नभएको औषधि पसललाई औषधि आपूर्ति गर्नु भनी विभागले दिएको निर्देशन कानुन सम्मत विषय नभएको र यदि विना दर्ताका औषधि पसललाई औषधि दिने र राज्यले संरक्षण गर्ने हो भने त्यसले औषधिको दुरुपयोग हुने, व्यवसायीको लगानी असुरक्षित हुने अवस्थामा त्यसको ग्यारेन्टी कसरी गर्ने भन्ने विषयमा त्यस विभागको औपचारिक धारणाको अपेक्षा गर्दछौं,’ उल्लेख गरिएको छ ।

दोस्रो बुँदामा ‘विभागको मिति २०८३ जेष्ठ ५ गते सूचना प्रकाशित गरी औषधि व्यवस्था विभागमा दर्ता नभएका विक्री केन्द्र–औषधि पसल–फार्मेसीमा औषधि विक्री वितरण नगर्न र गरेको पाइएमा कारबाही हुने भन्ने प्रकाशित सूचना र भाद्र ८ को पत्र आफैमा बाझिएको विषयमा यहाँको ध्यानाकर्षण गराउन चाहन्छौं । एउटै विभागले फरक फरक मितिमा परस्पर विपरीत सन्देश दिने गरी सूचना प्रकाशित गरेको र पत्राचार गरेको विषयलाई औषधि व्यवसायीहरूले कसरी बुझ्ने ?,’ भनेर उल्लेख गरिएको छ ।

व्यवसायीले पठाएको ध्यानाकर्षण पत्रको तेस्रो बुँदामा ‘निजी क्षेत्रको मनोबल कमजोर भएको र निरुत्साहित भएको अवस्थामा कसैले दिएको मौखिक वा लिखित उजुरीका आधारमा सम्बन्धित सरोकारवाला व्यवसायीसँग बुझ्दै नबुझी आफ्नो विषयमा स्पष्ट पार्ने समय समेत नदिई वैयक्तिक मर्यादामा समेत आँच आउने गरी सार्वजनिक रूपमा नाम प्रकाशित गर्ने विषयप्रति समेत हाम्रो गम्भीर चासो रहेको ब्यहोरा जानकारी गराउँछौं,’ उल्लेख गरिएको छ । बुटवलमा रहेको दुई दर्जन संस्थाले हस्ताक्षर गरेर ध्यानाकर्षण पत्र विभागमा बुझाएका छन् ।