October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

रसुवा बाढीः रूपन्देहीका १८ जनाको तेह्रौं दिनसम्म पनि अवस्था अज्ञात

Advertisement

भैरहवा– रुपन्देहीका १८ जना रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परि अझै बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका अनुसार बेपत्ता हुनेमा १९ वर्षदेखि ४५ वर्ष सम्मका सबै पुरुष छन् ।

Advertisement

भदौ १० गते बिहान आएको उक्त बाढीमा परेका प्रहरी जवानदेखि विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राविधिक, कर्मचारी तथा सामान लिन रसुवा गएका सवारी चालकहरूको अवस्था आज १३औं दिनसम्म अज्ञात छ ।

प्रशासनको रेकर्ड अनुसार बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र कञ्चन गाउँपालिकाका ३–३ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र मायादेवी गाउँपालिकाका २–२ जना तथा तिलोत्तमा नगरपालिका, शुद्धोधन र रोहिणी गाउँपालिकाका १–१ जना गरी १८ जना बेपत्ता भएका हुन् ।

बाढीमा परि बेपत्ता भएका बुटवल १२ का १९ वर्षीय अंश गिरी र २३ वर्षीय अनुप पुन माथिल्लो त्रिशूली ३ बि जलविद्युत आयोजनामा कार्यरत थिए भने वडा नं. ११ का ३८ वर्षीय जीवलाल अधिकारी माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनामा कार्यरत थिए ।

देवदह ७ का अस्विन अधिकारी र अस्मित अधिकारी सामग्री लिन सवारी साधन लिएर रसुवा नाका पुगेका चालक थिए भने वडा नंं. १० का धनबहादुर परियार एनडिज जलविद्युत आयोजनाका कामदार थिए ।

कञ्चनका माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत महेश आचार्य, रसुवा भन्सारमा कार्यरत लिलकुमार सुनार र रसुवा मैलुङ जलविद्युत आयोजनामा कार्यरत शिशिर विक पनि बेपत्ता छन् ।

त्यस्तै मैलुङ जलविद्युत आयोजनामा कार्यरत मायादेवीका अब्दुल खान र शिवनाथ थारु तथा रसुवा जलविद्युत आयोजनामा कार्यरत सैनामैनाका गणेश ज्ञवाली र जीवन चौधरीको अवस्था पनि अझै अज्ञात छ ।

जिल्ला प्रशासनका अनुसार सिद्धार्थनगरका माथिल्लो त्रिशूली ३ बि जलविद्युत आयोजनामा कार्यरत निरजबाबु रेग्मी, नुवाकोट पावर हाउसमा कार्यरत शिवप्रसाद चौधरी, रसुवा जलविद्युत आयोजनामा कार्यरत शुद्धोधनका निराजन पंगेनी, तिलोत्तमाका वसन्त थारु र प्रहरी चौकी रसुवागढीमा कार्यरत तिलोत्तमाका प्रहरी जवान सन्दीप भर बाढीमा परी बेपत्ता भएका छन् ।

यता कतिपय बेपत्ता व्यक्तिहरूको नाम भने जिल्ला प्रशासन कार्यालयको रेकर्डमा छैन । रसुवागढी जलविद्युत आयोजनामा कार्यरत बुटवल ११ का किशोर न्यौपाने क्षेत्रीको नाम जिल्ला प्रशासनको बेपत्ता भएकाहरूको सूचीमा छैन । आयोजनाको ३५० मिटर भित्र सुरुङको पावर हाउसमा हाइड्रो मेकानिकल ओभरसियर पदमा कार्यरत शिशिर भदौ १० गते बिहान पौने ९ बजेसम्म परिवार र आफन्तको सम्पर्कमा रहे पनि त्यसयता बेपत्ता छन् ।

बेपत्ता भएकाका परिवार तथा आफन्तहरू नारायणी र त्रिशूली किनार तथा विभिन्न अस्पताल पुगेर खोजी गरे पनि फेला नपारेपछि अझै पनि सकुशल फर्किने झिनो आशामा छन् ।

जलविद्युत आयोजनामा थुनिएका र घरभित्र पुरिएकाहरुको समेत जीवितै उद्धार गरिएको समाचार आउँदा जलविद्युत आयोजनाका सुरुङभित्र खोजी र उद्धारलाई बढाउन सके आफ्ना प्रियजनहरूलाई सकुशल बाहिर निकाल्न सकिने आसमा छन् ।