रसुवा बाढीपीडितका लागि कपिलवस्तुका ६ पालिकाको २ करोड २५ लाख सहयोग



कपिलवस्तु– कपिलवस्तुका ६ स्थानीय तहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि दुई करोड २५ लाख १३ हजार सहयोग गरेका छन् ।
कपिलवस्तु नगरपालिकाले ५१ लाख ११ हजार, वाणगंगा नगरपालिकाले ४५ लाख, बुद्धभूमि नगरपालिकाले ४३ लाख ४५ हजार, महाराजगञ्ज नगरपालिकाले ३७ लाख र शिवराज नगरपालिकाले ३८ लाख ५७ हजार सहयोग गर्ने गरेका हुन् । विजयनगर गाउँपालिकाले १० लाख कोषमा जम्मा गरिसकेको छ । उक्त रकम पालिकाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गर्नेछन् ।
जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको सहभागितामा पालिकाहरूले यो रकम जुटाएका हुन् । विपद्का बेला स्थानीय तहले आफ्नो क्षेत्रभन्दा बाहिरका प्रभावित नागरिकका लागि सहयोग गर्ने क्रम बढेको छ ।
बाढीपीडितको उद्धार, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुनःस्थापनामा सरकारले विशेष ध्यान दिनुपर्ने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले जनाए । स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलको भनाइ छ ।
कपिलवस्तुका अन्य चार स्थानीय तहले पनि बाढी प्रभावितका लागि सहयोग गर्ने तयारी गरेका छन् । यसैगरी जिल्लाका उद्योगी, व्यवसायी, सामुदायिक वन, विद्यालय, समाजसेवी तथा अन्य संघ–संस्थाले उद्धार कोषमा रकम जम्मा गरी सहयोग गर्ने क्रम जारी राखेका छन् ।








प्रतिकृया दिनुहोस्