परासीमा २०६ वटा शव तथा अंगहरूको व्यवस्थापन



परासी– भोटेकोशी तथा माथिल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीका कारण बगेर पश्चिम नवलपरासीस्थित नारायणी नदी तथा आसपासका क्षेत्रमा आइपुगेका मानव शव तथा शारीरिक अंगहरुको खोजी, पहिचान र व्यवस्थापन कार्य तीव्र पारिएको छ । जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीको पछिल्लो तथ्यांक अनुसार नवलपरासी पश्चिम क्षेत्रमा मात्रै १३७ वटा पूर्ण शव र ६४ वटा मानव शरीरका अंगहरू गरी कुल २०१ वटा शव तथा अंग फेला परेका छन् ।
यसमा भारतबाट ल्याई राखिएको १९ वटा शव समेत थप हुँदा कुल फेला पर्ने शव तथा अंगहरुको संख्या २२० पुगेको छ । यसरी फेला परेका कुल शव तथा अंहरूमा ५० महिला, ९० पुरुष, ६ बालक, ६ बालिका र ४ जना लिंग नखुलेका छन् । फेला परेका शवहरूमध्ये हालसम्म १ महिला, ८ पुरुषको सनाखत भई आफन्तलाई बुझाइएको छ ।
त्यस्तै, विभिन्न मितिमा कानुनी प्रक्रिया पूरा गरी कुल २०६ वटा शव तथा अंगहरूको व्यवस्थापन गरिसकिएको छ । व्यवस्थापन गरिएकाहरुमा १४२ वटा पूर्ण शव र ६४ वटा शरीरका अंग छन् । तथ्यांक अनुसार भदौ १४ गते सुनवल–७, अलकत्रे डाँडामा ४५ वटा, १५ गते सोही स्थानमा २३, १६ गते बर्दघाट–२, चिसापानी वनमा ६५ वटा, १७ गते भारतबाट ल्याइएका ६ महिला र ३ पुरुषसहित १२ वटा शव र १८ गते भारतबाट ल्याइएका ४ महिला र ४ पुरुषसहित ५४ वटा शव तथा अंहरूको व्यवस्थापन गरिएको छ ।
यस्तै, २० गते शव र अंग गरी ७ वटा व्यवस्थापन गरिएको छ । हाल जिल्ला अस्पताल नवलपरासीमा रहेको ५ वटा शव व्यवस्थापन हुन बाँकी छन् । माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका कारण धेरैजसो शवहरूको पहिचानमा कठिनाइ भए तापनि डिएनए परीक्षण र नारायणी तटीय क्षेत्रमा खोजी तथा पहिचानको कार्य अझै निरन्तर जारी रहेको प्रशासनले जनाएको छ ।








प्रतिकृया दिनुहोस्