कथा : साथे



टाढाटाढाका धामीका अनेक जुक्ति फेल खाएपछि अन्तमा गाउँकै भवानी पण्डितले कात्तिकमा रुद्री लाइदिएपछि जन्मेको थियो ‘रुद्रे’ । रुद्रे । रुद्रबहादुर थापा । मेरो एक्लो छोरो । हाम्रो एक्लो छोरो । “पू ष ण ठ हस्ता… चौथो पाउ भेट्यो… नक्षत्रबाट त ठबाट ठगबादुर भने नि भो, बोलाउनी नाम के राख्छौ त केशरे ?”
आँगनीको डिलमा बसेर भवानी पण्डितले सोध्दा पार्वतीले दैलोको छेवैमा मही घ्यार्रघुर्र गर्न छाडेर फ्याट्ट भनेकी थिई, “रुद्र !” मैले थपेको थिएँ, “राशि नाम पनि ठगबादुर नराख्नी । ठम राख्दिनुस् ।”
अलिपछि ठमबहादुर राखेरै उनले चिना बनाइदिए । र भने, “ठूलो मान्छे बन्च केशरे तिम्रो छोरो । तर क्यार्नी, बाआमाको गर्हले पिर्च भन्च ।” यति वेला उसको अनुहार अँधेरो भएको थियो ।
मैले भित्र्याउँदा पार्वती १८ वर्षकी थिई, म २८ । निक्कै जेठो र जागीर नभएकाले उसका दाइहरूले मलाई उति रुचाएका थिएनन् । ८ पास गर्नासाथ लाहुरे हुन इन्डिया हानिएको म, सकिनँ । घर फर्किहाल्न लाज लाग्यो, चारपाँच वर्ष उतै हल्लिएँ । बाले गाली गरे, घर फर्केर खेती गरें । दुईचार ठाउँबाट केटीका कुरा नआएका होइनन् तर २८ नटेकी मेरो लगन आएन । सानाबा इन्डियन लाहुरे थिए, उनैले पल्टने दोस्तीको नातो लाएर मागेपछि पार्वतीका बाले नाइँ भन्न सकेनन् । यसरी भाग्यले मेरी भएकी थिई पार्वती ।
बिहेपछि फेरि इन्डिया गएर जागीर खाएँ । सातौं वर्षमा बा खस्नुभयो । यता हाम्रा सन्तान पनि भएका थिएनन् । इन्डिया फर्कन मन लागेन । त्यसपछिका तीन वर्ष हामीले सन्तानका लागि मरिमेट्यौँ । मलाई अलिअलि आश अझै थियो। पार्वतीले भने कन्नापछाडि कुरा काट्ने आफ्ना र परकादेखि हार खाइसकेकी थिई। घरधन्दा सकेर ऊ ओच्छ्यानमा घुसेपछि मैले छुन खोजें भने मुन्टो लुकाएर रुन्चे स्वरमा भन्थी, “आ…, हुने केही हैन, आर्को ब्या गर्नु तपैं । पछि बुढेसकालाँ कल्ले दिन्च केटी ?”
घुँडोमुन्टो एकैठाउँ जोतेर मपट्टि ढाड फर्काएर सुतेको सानो गाँठीको उसको ज्यान देख्ता मलाई असाध्यै माया लागेर आउँथ्यो र उसलाई चपक्क च्यापेर सुत्थें । उसको रुवाइको गति मेरो हातले चोलो बाहिरैबाट थाहा पाउँथ्यो ।
छोरालाई हामीले राम्ररी नै हुर्कायौं । श्रीकृष्णजसरी दूधघ्यूमा पौडी खेलेर हुर्क्यो ऊ । सानैदेखि सन्तोकी, मिजासिलो, मिहिनेती थियो । घरका काम सघाउँथ्यो । आफ्नो लायक र गुनी छोरो हेरेर पार्वती भन्थी, “कुनचाहिँ भाग्यमानी नकच्चरीको भागाँ पर्नी हो यो ।”
त्योभन्दा मीठो हाँसो उसले छोराले राम्रो नम्बर ल्याएर एसएलसी पास गरेको दिन हाँसेकी थिई । तर त्यो धेरैबेर टिकेन ।
छोरालाई काठमाडौँ जाने साइतको टीको लगाइदिँदै गर्दा आँखा टिलपिल पारेर उसले विस्तारै भनेकी थिई, “ह्यइँ पढेन्त हुन्थो नि । ट्यूशनस्यूशन हाल्दिनुन्थो बाले ।”
छोरो हिँडेको रात खाना खाने वेला हामी जोइपोईको गला अड्क्यो । त्यस रात धेरैपछि पार्वती मेरो छातीमा मुन्टो राखेर रुँदै निदाई । ऊ निदाएपछि म पनि रोएँ।
पार्वती क्याचक्याच नम्बर थिच्नुपर्ने मोबाइलमा भकुण्डोको चित्र खोजेर दिनको दुईफेर रुद्रलाई फोन हान्थी । कुरा गरिराखे पनि हामीलाई सबैभन्दा नरमाइलो चाहिँ खाने वेला लाग्थ्यो । भान्सामा मासु पाकेको दिन त भात खेलाउँदा खेलाउँदै ऊ पिल्ल रोइदिन्थी। “उल्ले च्याउच्याउ उमालेर खा’छ कि भोकै सुत्या’छ…” उसले त्यसो भनेपछि मुखैनेर पुऱ्याएको मेरो गाँस पनि अड्कन्थ्यो । मासु ल्याएको दिन मुछेको भात धेरैजसो कुकुरलाई दिनुपर्ने भएपछि हामीले मासु नै छाडिदियौँ ।
एक दिन छोरोको कलेजबाट फोन आयो, “रुद्र बिरामी छ ।”
“भेटेर आइहाल्छु” भनेर म एक्लै जान खोजें, ऊ मानिन । भैंसीबाखा पल्लाघर भतिजे बुहारीलाई जिम्मा लाएर घ्यू र तिउनताउन पोको पारेर मेरो अघि लागी । मैले उसैलाई पछ्याएँ ।
साथीको बाइकबाट लडेर छोरोको हातखुट्टामा ददारेको रहेछ । चार दिनमा हस्पिटलबाट निस्केपछि उसले हामीलाई कोठामा लग्यो ।
साँघुरो कोठा । छड्के पानी झ्यालबाट छिरेर कार्पेट जम्मै भिजेको प्लास्टिकको बाटामा चार दिनदेखिको जूठा भाँडा र फोहोर पानी । कराहीको चाउचाउ ढाडिएर गड्यौँलाजस्तो भएको ।
पार्वतीले अमिलिएर भनी, “आच्चीऽऽऽ… यस्ताँ बस्छस् बाबु तँ ?”
उसले भाँडा माझी । भुइँ पुछी । कुनाकुनासम्म कुचो लगाई । छोरासित ग्याँस बाल्न सिकेर भात पनि आफैँ पकाई । तीन जना सँगै बसेर भात खाँदा मलाई धेरैपछि अघाउञ्जेल भात खाएजस्तो भयो । पार्वतीलाई झन् कस्तो भयो होला ?
भोलिपल्ट गाईवस्तु सम्झाएर मैले गाउँ जाने कुरो गर्दा पो उसले भनी, “छोरो यस्तरी बस्या’छ, तपैंलाई भैंसीको पीर छ ।”
पार्वतीले निर्णय गरी, बेँसीको खेत बन्धकी दिने । गामको बारी जेठाजुका सन्तानले गरे गर्छन्, नगरे बाँझै रहला । बूढाबूढी गएर गाईवस्तु बेचेर आउने, यतै सानोतिनो पसल राख्ने, दिन काट्न पनि सजिलो, अलिअलि आम्दानी पनि हुने ।
बाक्लो हुस्सु लागेको हिउँदको एक बिहान मुटुमा गाँठो पारेर मैले मूलढोकामा ताल्चा ठोकें । काखैमा लुटपुटिन आइपुगेको बाखाको पाठोलाई सुमसुम्याएर पार्वतीले बर्रर आँसु झारी ।
“यसो कोही बस्नी मान्छे पाए बुझ्दिराख्नू, झार उमारेर राख्नभन्दा घरको जतन हुन्छ,” पार्वतीपट्टि हेर्न नसकेर मैले दाइलाई भनें ।
हामी सिरानचौतारा पुग्दासम्म पनि दाम्लो चुँडालूँला जसरी भैंसी कराइरह्यो । तुने चप्पल प्याटप्याट पड्काउँदै पार्वती छिटछिटो हिँडिरही । उसले एकताल पनि फर्केर घरतिर हेरिन ।
मलाई मै पनि यति आँटिलो हुँला भन्ने कहिल्यै लागेको थिएन ।
काठमाडौँ आएपछि किराना पसलैसहितको सटर किनेर सर्यौँ । सटरको पैसा महँगो भएकाले बस्नलाई छुट्टै दुइटा कोठा लिने आँट आएन । कोठा उज्यालो नभए पनि फराकिलो थियो । झ्यालपर्तिरको अर्को घरको छत र भित्ताको सुरमा परेवाले गुँड लाएका थिए । तिनको माकुरकुर र घुरघुर सुन्दा गाउँ पुगेझैँ लाग्थ्यो ।
पसलको आम्दानीले खान पुग्थ्यो । वरपरका मान्छे चिन्दैथियौँ ।
पार्वतीको हातको मीठोनमीठो छोरोसँगै बसेर खान पाइएकै थियो तर मेरो मन रम्न भने कत्ति सकेको थिएन । एउटै कोठामा तीन जना कोच्चिएर बस्नुपर्दा, सानो कुरामा पनि घरबेटीसित डराउनुपर्दा गाउँको फराकिलो घरआँगन, आफ्नो ठाँट र इज्जत झलझली याद आउँथ्यो । पार्वतीसित लुकेर बिँडी खाने बान्दल सम्झन्थें । झमझम पानी पर्दा टिनको छानो बजेको सुन्न मन लाग्थ्यो । कतै गएर आइपुग्दा भैंसीले आइँऽऽऽ गरेको फुल्को लाग्थ्यो, दहीमहीको तिर्सना जाग्थ्यो । थालमा एक गाँस भात बाँकी रहँदा आँगनको बलेंसीमा मायालु अनुहारमा ढुकेर बसेको काले कुकुर सम्झन्थें । झ्याउँकीरीको झ्याइँझ्याइँको समेत रहर लाग्थ्यो मलाई ।
यी सब याद गरिराखेकी पार्वतीले एक साँझ भनी, “तपैंलाई कत्ति मनपऱ्या छैन है ह्याँ ?”
“तँलाई मनपऱ्या छ र ?”
मलाई भन्न मन थियो तर भनिनँ । ढोकानेर झुन्याइएको काठको मन्दिरमा बिहान ५ बजे नै घण्टा बजाएर ऊ के माग्थी, मलाई थाहा थिएन तर कहिलेकाहीँ पसलमा बत्ती कात्दाकात्दै फरियाको फेरले किन आँखा पुछ्छे चाहिँ थाहा थियो झैँ लाग्थ्यो । मलाई उसलाई थप रुवाउन मन थिएन ।
छोराले राम्रो नम्बर ल्याएर १२ सक्यो । सरकारी कलेजमा इन्जिनियरिङमा नाम निकाल्यो । उसलाई पढाउन चाहिन्छ भनेर राम्रो दाम दिँदा पनि बेँसीको खेत बेच्न नमानेकी पार्वती खुशीले रोई । गाउँ छाडेकोमा पहिलोपल्ट मलाई पनि खुशी लाग्यो ।
त्यसको एक वर्षपछि पार्वती बिरामी परी । जचाउँदा पित्तथैलीमा पत्थरी देखियो । तुरुन्तै अपरेशन गरायौँ । त्यतिञ्जेल छोराले नै भात पकायो, आमाका लुगा धोयो । उसले मध्यरातसम्म चित्र बनाएर बसेको नबुझे पनि पार्वती खूब रहरलाग्दो गरी हेरिरहन्थी। मलाई भने बत्ती बलुञ्जेल निद्रा लाग्दैनथ्यो । आँखा चिम्म गरेर म घरको फराकिलो खाटमा पार्वतीलाई खुट्टो चढाएर सुतेको सम्झेर पल्टिरहन्थें ।
एक दिन पार्वतीले भनी, “तपैंलाई सुत्न साह्रै गाह्रो भो, दुइटा कोठा लिनी त ?”
“भाँडा क्यारेर तिर्चेस् नि ?” मैले उसको मन विचारें ।
“बेंसी खेत बेत्दिम्ला… अब छोरोलाई खर्च गर्न परेन केरे,” उसले ढुक्कसित भनी ।
“दुःखबिमार परे क्यार्नी नि ? मेरो आम्दानी छैन, पिन्सिन छैन ।”
“मोर्चु भन्याथेँ बाँचिहालें, अब के होला र ?”
“मलाईन्त मलाई ?”
“तपैंलाई केप्पनि हुन्न,” उस्तै ओठ लेप्र्याएर उसले ढुक्कसित भनी ।
पित्तथैलीको अपरेशन गरेको दुई वर्ष नबित्दै उसको पेट बेस्सरी दुख्न थाल्यो । छोराले यो र त्यो अस्पताल दौडायो । कसैले ग्यास्ट्रिकको, कसैले दुखाइ कम हुने ओखती दिए । एक साँझ पेट दुखेर नराम्ररी छटपटाई । अस्पताल लगेर अनेक जाँच गरेपछि थाहा भयो, उसलाई त एपेन्डिसाइटिस भइसकेको रहेछ । २४ घण्टाभित्र गरिसक्नुपर्ने अपरेशन गर्न निकै ढिलाइसकेकाले डाक्टर नै डराएजसो गर्यो । अपरेशनलाई तुरुन्तै डेढ लाख रुपैयाँ चाहियो । म आत्तिएँ, छोराले मावली गुहार्यो । पैसा जम्मा भयो तर पार्वती अपरेशन गरुञ्जेलसम्म पनि टिकिन । उसलाई छोरोको कमाइ खाने कत्रो धोको थियो, ऊ इन्जिनियर भएको देख्न नपाउँदै मरी । कुनै भाग्यमानी नकच्चरीले छोरो आफ्नो भागमा पारेको देख्न नपाई गई । ऊसँगै मरे छोराले पढाइ सकेपछि गाउँ गएर बस्ने मेरा सपनाहरू । उसले ओठ लेप्र्याएर हाँसेको पेटभरि हेर्ने, उसलाई लिएर एकफेर काशी पुगेर आउने रहर सबै गए ।
पार्वती गएपछि त्यो ठाउँ र सिङ्गै शहरसित मलाई दिक्क लाग्यो ।
मन बहलाउन गाउँ गएँ, त्यहाँ पनि धेरै दिन बस्न सकिनँ । आँगनको छप्पनीका कापाकापामा उम्रेका झार उखेलेर फर्किएँ । कोठामा ब्यूँझँदा कान उसले घण्टा बजाइरहेको सुन्न तड्पन्थे । ऊ उँध्दै पसलमा बत्ती कातिरहेको हेर्न तड्पन्थे । मभित्रको सम्पूर्ण मान्छे उसको उपस्थिति महसूस गर्न नपाएर तड्पन्थ्यो ।
छोराले पसल बेचिदियो । कलेज नजीकै डेरा सर्यो । यसपालिको कोठामा दुइटा ठूलठूला झ्या थिए, मजाले घाम कोठाभित्रै पस्थ्यो । तर जीवनै अँध्यारो भएपछि बाहिरी घामको के महत्त्व हुँदोरै’छ र ?
छोराले पढाइ सकेर टोपी ओढेका दिन अरूका छोराछोरीले बाआमासँग फोटो खिचाए । मेरो छोराले मलाई “बा, आऊ फोटो खिचाम्” भन्न सकेन । कोठामा फर्केपछि धेरै बेरसम्म ट्वाइलेटबाट निस्केन । यता मेरो मुटु फुट्लाझैँ भयो ।
मलाई बेलै नभई बुढ्यौलीले थलाउन थालेको थियो । राम्ररी पिशाब नआउने, आइहाले पनि खलास नहुने हुन थाल्यो । छोरालाई भन्न सकेको थिइनँ, म छिनछिनमा ट्वाइलेट गएको याद गरेको उसैले सोध्यो, “सन्चो छैन क्या वा तपाईंलाई ?” आमा गएदेखि ऊ मेरो अलि बढी नै ख्याल राख्थ्यो ।
छोराले भोलिपल्टै अस्पताल लग्यो । मैले भवानी पण्डितको वाक्य सम्झेँ, “बाआमाको गर्हले पिर्च ।”
आमा गएको वर्षदिन कट्नासाथ रुद्रलाई मावलीले बिहेका लागि दबाव दिए । उसले पढाइ सकेर भर्खरै जागीर खान थालेको थियो । यति छिटै बिहे गर्ने रहर नहुँदानहुँदै पनि नाइँ भन्न सकेन । बिहे भने आफैले रोजेकीसँग गर्यो । मैले धेरै तामझाम नगरी तीन कोठाको स्यानो चिटिक्क परेको फ्ल्याटमा चिटिक्क परेकी बुहारी भित्र्ऱ्याएँ । इन्डियाको कमाइले जोडिदिएका पार्वतीका पुराना गहना लगाएर ऊ भित्र छिर्दा मेरो मन पार्वतीलाई सम्झेर फेरि हुरुक्क भयो ।
हामीभन्दा हुनेखानेकी छोरी, बुहारी उजेली थिइन् । बैगुन केही थिएन । उनी आएदेखि घर थोरै भए पनि रमाइलो भएको थियो तर उनी साहै कम बोल्थिन् । कामै परे मात्रै । भान्सामा तरकारी केलाइदिने निहुँले केही बोलूँ कि झैँ लाग्थ्यो, फेरि “यो बूढो कति आउँदोरै’छ विनाकाम, खुरुखुरु खाने बेला नआएर” भन्छिन् कि भनेर हच्कन्थें ।
बिहान एउटै मोटरसाइकलमा निस्केपछि उनीहरू एकैचोटि बेलुकी आउँथे । सँगै बसेर दुःखसुखका बात मारिदिने साथे चाहिएको थियो मलाई, पायो छोराले । दिउँसो सिङ्गो घरमा म एक्लो हुन्थें । टीभी हेरिरहन पनि झर्को लाग्थ्यो । छोराले भित्तामा आमाको फोटो ठूलो पारेर टाँसेको थियो । परारै, हामी काठमाडौं नछिर्दै एउटा दशैंमा माइत जान लागेका वेला छोराले मोबाइलमा खिचेको थियो त्यो फोटो । भएभरको कोसेलीपात माइतै लगेर हामीलाई केही छाडिदिइन भनेर मैले पेच हान्दा एकैचोटि आँखीभौं बङ्ग्याई ओठ लेप्र्याएर हाँसेकी थिई ऊ। म उसको अनुहारको त्यही भावभङ्गीमा हेरेर टोलाइरहन्थें ।
कहिले टोलाउँदा-टोलाउँदै रुन्थें, कहिले त्यहीं घुप्लुक्क निदाउँथें । सपनामा थालभरि मकै र गिलासमा मही बोकेर “रुद्रेका बाऽऽऽ” भन्दै आउँथी पार्वती । ब्यूँझँदा घरबेटीकामा काम गर्ने कमला “ऋषिराम अङ्कलऽऽऽ” भन्दै खाजा बोकेर च्यानल गेट हल्लाइरहेकी हुन्थी ।
मलाई राति निद्रा पर्न छाडेको थियो । तारन्तार पिशाब लागिरहन्थ्यो । कहिलेकाहीँ बरण्डामा निस्केर चुरोट खाइदिन्थें । एक दिन ट्वाइलेट जाँदै गर्दा छोराले भनेको सुनें, “बा साहै एक्लो हुनुभो, बच्चा भए टाइम पास गर्न सजिलो हुन्थ्यो…”
“तिम्ले भनेर झन् रेडी नै नभई बिहे गरें, अब बाको लागि अहिल्यै बच्चा पाउन त मरे पनि सक्दिनँ… मेरो आफ्नो लाइफ चाहिँ हुन्न ?”
छोरो बोलेन । मलाई बोलिदेओस् जस्तो पनि लागेन ।
तीजको दिन थियो । बुहारी फ्रिजभरि खानेकुरा राखिदिएर माइत गइन् । छोरो एक साताका लागि फील्ड हिँड्यो । बाहिर झर्झर पानी परिरहेको थियो । मलाई तीज यति निरस कहिल्यै लागेको थिएन । बिहान ११ बजे नै रक्सी लिएर बसेको थिएँ, कमलाले च्यानल गेट बजाई ।
“ओहोऽऽऽ, ब्यानब्यानै ? तीज त तपाईंलाई पो आएछ त अङ्कल !” उसले करेलाको अचार टेबलमा राख्दै भनी ।
“तिमी माइत गइनछ्यौ त ?” मैले सोधें ।
“घर भए पो माइती अङ्कल…” उसले बानी परेको स्वरमा भनी ।
“पार्वतीले कति तीज म एक्लै हुन्छु भनेर माइत नगएरै मनाएकी थिई,” मनमनै भनेको कुरो मसिनो स्वरमा बाहिर पनि निस्किएछ । उसले उत्सुक र मायालु आँखाले मतिर हेरी। अलिकति उसको त्यो हेराइ अनि धेरै जाँडको बहकावमा आएर त्यस दिन मैले कमलालाई वर्षौंदेखि आफ्नो मनमा गुम्सिएका व्यथा कहें । उसले ज्ञानी बालकले जसरी सुनिरही ।
“मसित ब्या गर्छौ कमला ?”
भोलिपल्ट दिउँसो खाजासँगै जिन्दगीप्रतिका आफ्ना केही थान गुनासा लिएर उसले च्यानल गेट नहल्लाउन्जेल मेरो मनमा शान्ति भएन ।
कमला ४० हाराहारीकी, खाइलाग्दी थिई । फूलबुट्टे कुर्था-सुरुवालमाथि पातलो खैरो स्वेटरमा ऊ दुवै फेर अघिल्तिर कुर्ने गरी काँधमा पातलो कालो पछ्यौरी हालेर हरेक दिन ३ बजे हामी बस्ने घरमा आउँथी । भुइँ पुछ्थी, भाँडा माझ्थी, लुगा धोइदिन्थी, खाजा बनाइदिन्थी अनि कहिलेकाहीं काम कम भएका वेला घरबेटी बूढीमाऊको कपाल कोर्दिन्थी, जाडोका बेला घाममा राखेर तेल लाइदिन्थी, गोडा मिचिदिन्थी । भुइँ पुछ्दै भऱ्याङबाट रुँदै गरेका वेला चुरोटको बट्टा लिएर माथि उक्लँदै गरेको मसित जम्काभेट भयो भने पुछ्न रोकेर “खाजा खानुभो अङ्कल ?” भनेर मुसुक्क हाँस्थी ।
त्यति वेला उसले सल कम्मरमा बाँधेकी हुन्थी । अलिअलि खुइलिएजस्तो सुतीको फुलबुट्टे कुर्थामा उसका पुष्ट छातीमाथि घाँटी रित्तै देख्दा मलाई कताकता बिझाएजस्तो हुन्थ्यो ।
आमाले लगालग चार छोरी जन्माएपछि कमलाको बाले अर्की स्वास्नी ल्याएर उसकी आमालाई हेर्न छाडिदिएको रहेछ । उसलाई गाउँकै सानिमाले शहरको एउटा घरमा काम गर्न राखिदिइछन् । ऊ एक्लैले काम गरेर तीन बहिनी पढाई, बिहेदान गरिदिई । आमा मरिन्, उसको उमेर ढल्कियो । ऊ काम गर्ने घरमै प्लम्बर काम गर्न आउने एउटा केटोले विस्तारै उसलाई पछ्याउन थाल्यो । उसले बिहे गरी । एउटा छोरो पनि पाई । सुखदुःख गरेर खाने भनेर उनीहरू गाउँ फर्किए । मध्य असारमा सुत्केरी बहिनी स्याहार्न बहिनीको घर गएको रात पहिरोले उसको गाउँ लग्यो । सँगै लग्यो चुरापोते र कोखको सन्तान ।
फील्डबाट छोरो घर फर्केपछि एक साँझ मैले भएभरको आँट जुटाएर कमलालाई बिहे गर्ने कुरा गर्दा उसले खाँदाखाँदैको भात छाडेर हात चुठ्यो । बुहारीले “दालभात थपूँ ब्वा ?” भनेर नसोधीकनै कूकरको बिर्को लाइन् । व्यर्थै भनेछु भन्ने पश्चातापको भुङ्ग्रोमा म रातभर जलिरहें । रातको ११ बजेको थियो कि, उठेर ट्वाइलेट जाँदा बुहारी बोलेको सुनें, “६५ लागिसक्दा नि के तरुनी स्वास्नी चाहिएको हो कुन्नि… लाज मर्नु…”
छिटो पाइला सारेर भर्खरै सुनेको कुरा नसुनिन्थ्यो कि भनेझैँ म स्वाट्ट ट्वाइलेट छिरें र ढोका लगाएँ । अघि चापिसक्यो जस्तो भएको पिशाब दुई ताल तुरुक-तुरुकभन्दा झरेन । सुरुवाल नतानीकनै कमोडको बस्ने सीटमा झरेका पिशाबका दुईचार पहेंला थोपा हेरिरहें । आँखा खहरे खोलाजसरी उर्लिएर आए । ज्यान फतक्क गलेर कहाँ थचक्क बसूँजस्तो भयो । सुरुवाल नतानीकनै ट्वाइलेटको एकातिरको भित्तामा आड लागें । सीधा अगाडि ऐना थियो । ऐनाको एक छेउमा बुहारीले मुख धुँदा फुकालेर टाँसेको रातो टल्कने टीका थियो । रुँदा एकैठाउँ मुजा परेका गालैनेर टीका टल्कियो । “६५ लागिसक्दा नि के तरुनी स्वास्नी चाहिएको हो कुन्नि…” बुहारीको आवाज कानभरि घुमिरह्यो । ऐना हेर्दै रोइरहें । यो घरमा आएदेखि यसरी रोएको थिइनँ । पार्वतीका आँखैमा हेरेर सोध्न मन लाग्यो, “तँलाई पनि मलाई तरुनी स्वास्नी नै चाहिएको जस्तो लाग्छ, पार्वती ?”
त्यसपछि मैले कमलाको कुरा झिक्ने दुस्साहस गरिनँ । बुहारीले टक्रयाइदिएको खान्थें, नत्र लपक्क ओच्छ्यानमा पल्टन्थें । अब बाँच्नु कति नै छ र जस्तो लाग्थ्यो ।
बाँकी सिङ्गै दिन भित्ताको पार्वतीको फोटो हेर्दै रोएर बिताएँ । त्यसै रात सपनामा उसले अनायासै भित्ताको फोटोबाट भर्खरै ब्यूँझिएजसरी मलाई नहेरीकनै हातको टपरीको अचार पोको पारी, झोलामा हाली र माइत जाने भनेर निस्की । मैले साँझपख ऊदेखि लुकेर बिँडी खाने गरेको वान्दलमा पुगेपछि फरक्क फर्केर पार्वतीले भनी, “घर जाऊ रुद्रेका बा । कमलालाई लेर घर जाऊ ।”
भोलिपल्ट दिनभर सपनाको अर्थ घोत्लिएर बित्यो । बेलुकीसम्ममा मैले निर्णय गरिसकेको थिएँ, म गाउँ जान्छु । मङ्सीरको पहिलो साता नजीकैको मन्दिरमा मैले कमलासित बिहे गरें । छोराको बिहेमा बुहारीको माइतीबाट दिएका बेरुवा औंठी मासेर कमलाको रित्तो घाँटीलाई एउटा सानो सिक्री बनाइदिएको थिएँ । तर उसले सिक्रीभन्दा बढ्ता घाँटीको रातो पोते छामिरही । गलाको फूलको माला झोलामा राखेर हामी त्यतैबाट गाउँ हिँड्यौँ ।
भर्खरकी, खाइलाग्दी कमला मसित हिँडेको देख्दा गाउँलेहरू आँखैआँखाले कुरा गर्थे । कतिले एक्लै भेटेका वेला आँखा झिम्क्याएर प्याच्च भन्थे पनि, “काँडी ल्याउनुभो यस्ती काइदाकी…?”
मेरो छातीमा चस्स बिझ्थ्यो । कमला एउटा कानले सुनेर अर्कोले उडाइदिन भन्थी । छोराले कमलाको नसोधे पनि बाको प्रोस्टेटको खबर त सोध्छ कि भन्दै कुरिरहें । गाउँ हिँडेको दिनदेखि उसको फोन आउन पनि बन्द भयो ।
घर फर्केको केही सातामै कमलाले रातोमाटोले लिपेर घर टलक्क टल्काई । मैले आँगनीको झार उखेलें, बारीको गन्धे फाँडें । ऊ आफैले खेताला खोजेर मक्किएको बाख्राको खोर बनाई। मैले नमान्दानमान्दै घाँटीको सिक्री बेचेको पैसामा आफूले काम गरेर जम्मा गरेको अलिकति थपेर लैनो भैंसी किनी । पहिलोपल्ट उसले दैलोनेरको थाममा बलिया हातपाखुराले नेती तान्दै घ्वार्रघ्वार्र दही मथेको सुन्दा मलाई भान्सामा साक्षात् पार्वती छे झैँ भयो । उसले दिएको एक अम्खोरा मही मैले एकैचोटिमा सकें । मैले कलकल मही खाएको दङ्ग परेर हेरिरहेकी उसले मैले अम्खोरा हातमा दिइसकेपछि पनि धेरैबेर उभिएर मैलाई हेरिरही ।
उसका राता गाला अनि पुष्ट छातीमा ठेकीबाट उछिट्टिएर परेको महीका असङ्ख्य छिटा हेर्दै मैले भनें, “कमला, म मरेपछि झट्टै अर्को साथे खोज्नू है ।”
(दुर्गा कार्कीको कथासंग्रह ‘कुमारी प्रश्नहरू’बाट) -sahityapost.








प्रतिकृया दिनुहोस्