September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

‘बाढीले लुम्बिनी क्षेत्र प्रभावित भएको छैन, पर्यटकले सहजै भ्रमण गर्न सक्नुहुन्छ’

Advertisement

भैरहवा– लुम्बिनी विकास कोषले हालै आएको बाढीबाट लुम्बिनी क्षेत्र प्रभावित नभएको स्पष्ट पार्दै तीर्थयात्री, पर्यटक, आगन्तुक तथा पर्यटन व्यवसायीलाई ढुक्क भएर लुम्बिनी भ्रमण गर्न आग्रह गरेको छ।

Advertisement

विकास कोषले अन्तर्राष्ट्रिय समुदायलाई सूचित गर्दै सूचना जारी गरेर भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी सुरक्षित र पर्यटकका लागि खुला रहेको जनाएको छ । सूचनाअनुसार बाढीबाट ‘ग्रेटर लुम्बिनी क्षेत्र’ प्रभावित नभएको र लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्रामलगायत प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरू सुरक्षित र सहज रूपमा पुग्न सकिने अवस्थामा रहेको उल्लेख गरिएको छ ।

नेपाल समग्रमा पनि भ्रमणका लागि सुरक्षित रहेको जनाउँदै कोषले प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा, तीर्थस्थल तथा पर्यटन सेवाहरू सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ। पर्यटक तथा तीर्थयात्रीले स्थानीयस्तरमा जारी हुने यात्रा सम्बन्धी अद्यावधिक सूचना र आवश्यक निर्देशनको पालना गर्दै आफ्नो भ्रमण तथा तीर्थयात्रा योजनालाई निरन्तरता दिन सक्ने कोषले जनाएको छ।

विकास कोषले शान्ति, करुणा र सद्भावको प्रतीकका रूपमा रहेको भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा तीर्थयात्री तथा पर्यटकलाई हार्दिक स्वागत गर्ने समेत जनाएको छ । विकास कोषको आधिकारिक वेबसाइटमा पनि लुम्बिनीका गतिविधि तथा सूचनाहरू सार्वजनिक हुँदै आएका छन्।

भदौ १० गते रसुवामा आएको बाढीका कारण तीन जिल्ला मात्रै प्रभावित भएका छन् । रसुवा, नवाकोट र धादिङ प्रभावित छन् । तर, अन्तर्राष्ट्रिय समुदायमा नेपाल भर बाढी आएको भन्ने भ्रम् पैदा भएको छ । यसले नेपालको पर्यटन क्षेत्र समेत प्रभावित हुनसक्ने आँकलन गरिएको छ । यस्तो अवस्थामा कोषले विश्व समुदायलाई लुम्बिनीसहित मुलुकका धेरै क्षेत्र सुरक्षित रहेको जनाएको हो ।

प्रतिनिधि सभा बैठकमा पनि सांसदहरुले विश्वसमुदायमा नेपालभरी बाढी आएको भन्दै भ्रम सिर्जना भएको जनाएका छन् । सांसदहरुले नेपाल सुरक्षित रहेको र सीमित क्षेत्र मात्रै बाढीबाट प्रभावित भएकाले भ्रमण गर्न सकिने जनाएका हुन् ।