पृथ्वीचन्द्र अस्पतालमा राखिएका ११४ शवको डीएनए नमुना


परासी–पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएका सबै शव तथा मानव अङ्गको डीएनए नमुना सङ्कलन गरिएको छ । भोटेकोशी बाढीपछि नारायणी नदीको गण्डक क्षेत्रमा फेला परेका बगेर आएका शव अस्पतालमा जम्मा हुँदा दुर्गन्ध फैलिन थालेपछि शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया तीव्र पारिएको हो ।
जनशक्ति अभावका कारण शव व्यवस्थापनमा केही ढिलाइ भए पनि स्वास्थ्यकर्मीसहित २० जनाको थप जनशक्ति परिचालन गरेर अस्पतालमा रहेका ११४ वटा शवको मानव अङ्गबाट डीएनए नमुना सङ्कलन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बृजकुमार यादवले जानकारी दिएका छन् ।
सङ्कलन गरिएका नमुनामध्ये २४ जना महिला, ४८ जना पुरुष र सात बालबालिकाका शव छन् । यस्तै, ३१ वटा मानव अङ्ग तथा चार वटा पहिचान गर्न नसकिने शवको समेत डीएनए नमुना लिइएको अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी मदन थापाले बुधबार साँझसम्म अस्पतालमा प्राप्त भएका सबै शवको डीएनए नमुना सङ्कलन गरी व्यवस्थापन गरिएको बताए । नारायणी नदीमा फेला परेका थप शव आउने क्रम यथावत रहेको जनाउँदै उनले प्राप्त हुने सवै शवको आवश्यक प्रक्रिया पूरा गरी नमुना सङ्कलन सहित व्यवस्थापन गरिने उनले जनाए ।
नारायणी नदीको गण्डक क्षेत्रमा हालसम्म २०८ वटा शव फेला परिसकेका छन् । जसमध्ये १८ वटा भारतबाट नेपाललाइ बुझाइएका हुन् । तीमध्ये पाँच शवको सनाखत भएको छ । भने, १४५ वटा शवको व्यवस्थापन भइसकेको प्रहरीले जनाएको छ ।
नवलपरासीमा शव व्यवस्थापनका लागि सुनवल नगरपालिका–२ को मूलपानी सामुदायिक वन र बर्दघाट नगरपालिका–२ को चिसापानी सामुदायिक वन क्षेत्र प्रयोग हुँदै आएको छ ।








प्रतिकृया दिनुहोस्