September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

हराउँदै बुद्धकालीन कालानमक धान

Advertisement

भैरहवा – लुम्बिनी भन्नासाथ बुद्ध जन्मस्थलको मात्र सम्झना आउदैन । खाँदा मुलायम र स्वादिलो अनि मगमग बास्ना आउने कालानमक धान पनि याद आइहाल्छ । यो चामल एक समय सबैंको भान्सामा पाक्थ्यो । दुई दशक अघिसम्म पाहुनाको सत्कारमा कालानमकको भात पस्किने चलन थियो । अहिले धान सम्झनामा समेटिएको छ ।

Advertisement

कपिलवस्तुको पहिचान र जिल्लास्थित कृषकको सानका रुपमा रहेको कालानमक लोप हुँदै गएको छ । यसमा लगानी बढी र प्रतिफल कम भयो । स्याहार पनि बढी चाहिने भएकाले खेती हुँनै छाड्यो । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीको दक्षिणी क्षेत्रमा यसको खेती हुन्थ्यो । अन्य धान भन्दा पाक्न बढी समय लाग्छ । रोग किरा र प्रकोप हुन्छ । पानी बढी चाहिन्छ । त्यसैले माग बढी भए पनि फलाउन समस्या धेरै छ ।

‘खान स्वादिलो भए पनि खर्चिलो र पाक्न समय बढी लाग्छ,’ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई कपिलवस्तुका प्रमुख राकेश ओझाले भने, ‘त्यसैले किसानले उन्नत जातका धान रोप्छन् ।’ कृषि विज्ञ खुर्सेद अहमद खाले कालानमक जिल्लाको पहिचान र शान भए पनि स्थानीय तह र प्रदेशले संरक्षणमा बेवास्ता गरेको बताए । ‘शताब्दी पुरानो अनाज हो,’ उनले भने, ‘सरक्षणमा कसैको चासो छैन ।’ यो धान अन्य भन्दा फरक छ । कालो हुने हुने भएकाले कालानमक भनिएको कृषक बताउँछन् ।

डेढ दशक अघिसम्म जिल्लामा ४–५ हजार हेक्टरमा कालानमक खेती हुन्थ्यो । अहिले मस्किलले ७५ हेक्टरमा खेती हुने गरेको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले बताए । वर्षेनि नयाँ र उन्नत जातका धान खेती गर्ने क्रम बढ्दै गएकाले धानका रैथाने जात संकटमा परेको कृषि प्राविधिक बताउँछन् । पछिल्ला दिनमा किसानका खेतमा काला रंगका कालानमक धानका बाला झुलेको देखिन छाडेको छ । अन्य जातका पहेला धान जताततै झुलेको देखिन्छ ।

कालानमकको बुद्धकालीन इतिहास रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय पाली भाषाका उपप्राध्यापक भिक्षु सिरी वजिरले बताए । उनका अनुसार २६ सय वर्षअघि भगवान गौतब बुद्ध बैशालीबाट निस्कन लाग्दा त्यहाँका जनताले चिनो मागे । बुद्धसित भिक्षा पात्रमात्र थियो । ‘भिक्षा पात्रबाट निकालेर एक मुठी चामल दिनु भयो,’ उनले भने, ‘यो चामल दलदल भएको ठाउमा रोप्नु । बास्ना आउँछ । त्यसबेला मलाई संझिनु भन्नु भएको थियो ।’

बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूर्णिमा धान मंगलोत्सव हुन्थ्यो । त्यहाँ कालानमक रोपिन्थ्यो । यसैको भात त्यतीखेर राजप्रासादको व्यन्जन बन्थ्यो । ‘यो चामल धेरै पुरानो हो’, उनले भने, ‘लोप हुँदै गयो ।’ त्यसैले बुद्धकालसँग ऐतिहासिक सम्बन्ध भएको कालानमक चामललाई ब्राण्ड बनाएर फार्ईदा लिनु पर्ने लुम्बिनी होटल संघ अध्यक्ष लिलामणी शर्माले बताए ।

लुम्बिनी आसपास खेती गरेर कालानमक धान लगाएर त्यसलाई सारश ब्राण्ड नाम राखेर लुम्बिनी र कपिलवस्तुका होटलमा पर्यटकका लागि खानाका रुपमा खुवाइने अभियान चलाएर संरक्षण गर्नु पर्ने उनले बताए । पूर्ण अर्गानिक चामल मानिने कालानमकलाई बुद्धकालकै धान ब्राण्ड बनाउन सकिन्छ । कालानमक धान विश्वकै दुर्लभ पन्छी सारशलाई मन पर्छ । कालनमकै धान खेतमै ओथारो बस्न मन पराउँछ । त्यसैले चामलसँग सारशको संबन्ध जोड्न पनि ब्राण्ड बनाउनु आवश्यक छ । सारश पनि बुद्धकालमा प्रशंग जोडिएको चराका रुपमा मानिन्छ ।