September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

बाढीपीडितका लागि भारतबाट भैरहवा नाका हुँदै पहिलो पटक राहत सामग्री आयो

Advertisement

भैरहवा–भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाली पीडित परिवारका लागि भारतबाट भैरहवा नाका हुँदै पहिलो पटक राहत सामग्री आएको छ । भारतबाट भैरहवा नाका हुँदै आइतबार पहिलोपटक दुई ट्रक राहत सामग्री नेपाल भित्रिएको हो ।

Advertisement

उक्त राहत सामाग्री भारतको हरिद्वारस्थित श्री वेदमाता गायत्री ट्रस्टले काठमाडौंस्थित गायत्री परिवार काठमाडौं–उत्तराखण्डको नाममा पठाएको हो । राहत सामग्रीसँगै १८ जना गायत्री परिवारका भारतीय स्वयंसेवकसमेत नेपाल आएका छन् । स्वयंसेवकहरू दुईवटा साना गाडीमा आएका हुन् ।

भन्सार कार्यालयका अनुसार राहत सामग्रीको मूल्य ४९ लाख ४६ हजार रुपैयाँ उल्लेख गरिएको छ । उक्त मूल्य भारतीय रुपैयाँ हो वा नेपाली रुपैयाँ भन्ने विषय भने कागजातमा स्पष्ट खुलाइएको छैन । गृह मन्त्रालयको सिफारिसमा भन्सार राजस्व छुटका लागि आएका ती राहत सामग्री भैरहवा भन्सार कार्यालयले नेपाली सेनाको मैथिली ब्यारेकले बुझ्ने गरी पठाएको जनाएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले बाढीबाट विपद्मा परेका नेपाली नागरिकका लागि भारतबाट राहत सामग्री आउन सुरु भएको जानकारी दिए । उनका अनुसार राहत तथा उद्धारका सामग्रीलाई उच्च प्राथमिकतामा राखेर छिटो जाँचपास गर्ने व्यवस्था मिलाइएको छ । यसका लागि भैरहवा भन्सार कार्यालयले राहत तथा उद्धार सामग्रीको जाँचपास र सहजीकरणका लागि एक जना अधिकृतलाई फोकल पर्सनका रूपमा समेत खटाएको छ ।

पौडेलका अनुसार नेपालको बाढी प्रभावित क्षेत्रका नागरिकका लागि भारतमा रहेका विभिन्न गैरसरकारी संस्थाहरूले समेत राहत सामग्री पठाउने विषयमा भैरहवा भन्सार कार्यालयसँग सम्पर्क गरिरहेका छन् । उनीहरूले राहत सहयोगका लागि आवश्यक प्रक्रिया तथा भन्सार जाँचपासबारे जानकारी लिइरहेका छन् । ‘बाढीपीडितको सहयोगका लागि धेरै ठाउँबाट फोनहरू आइरहेका छन्,’ पौडेलले भने, ‘सहयोगका लागि सोधखोज र भन्सार जाँचपासलगायतका प्रक्रियाबारे जानकारी लिन चाहनेहरू सम्पर्कमा आउने गरेका छन् ।’

भैरहवा नाकाबाट पहिलो पटक आईपुगेको भारतबाट आएको राहत सामग्रीमा १ हजार १ सय थान त्रिपाल, १ हजार ५ थान कम्बल, १ हजार २ सय ५० थान ओछ्याउने चटाई, दरी, १ हजार १ सय ४७ सेट लगाउने कपडा, ८ सय थान ओछ्याउने चटाई, १ सय ५२ थान साडी, ६ हजार २ सय ८८ सेट भाँडावर्तन र १ सय प्याकेट मैनबत्ती रहेका छन् ।

स्वयम्सेवकको रुपमा आएका शान्तिकुञ्ज हरिद्वार भारतका मंगलसिंह गडवालले नेपाल र भारतबिच धार्मिक सामाजिक, साँस्कृतिक तथा रोटीबेटीको सम्बन्ध रहेको र बाढीका कारण नेपालीमाथि परेको बिपद्माथि गायत्री परिवारले काँधमा काँध मिलाएर सहयोग गर्ने भावनाले राहत सामाग्री लिएर आएको बताए ।