September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

कथा: अतिरिक्त

Advertisement

यो उनले आफ्नो जीवनमा पाएको सर्वाधिक आनन्दको समय हो । अझ भनौँ, अतिरिक्त आनन्द हो ।जीवनमा धेरै कुरा छुटे पनि खुशी पाउने आधार छुट्दो रहेनछ । अहिले स्वरुपा त्यही अवस्थामा छिन् । यो खुशीका निम्ति डा. वीणालाई मनमनमा हजार कोटी प्रणाम गरेकी छिन् । डाक्टर भगवानको अर्को रूप हो भन्ने सुनेकी थिइन् । तर भगवान कसरी ईश्वर हुन सक्छ, बुझेकी थिइनन् । अहिले प्रमाण दिएको छ ।

Advertisement

स्वरुपा छोरीको अनुहार हेर्छिन् अनि मुस्कुराउँछिन् । निभ्न लागेको जीवनलाई साथ दिन आएकी छन्, ‘आभा’ ।

अस्पतालमै कसैले स्वरुपालाई भनेका थिए, ‘छोरीको नाम ‘आभा’ राख । आभा उज्यालोकी बिम्ब हुन् ।’ उनले पनि ती अनजान व्यक्तिले दिएको नाम स्वीकार गरेकी थिइन् ।

जीवनको गति यसरी र यतातिर मोडिन्छ भन्ने कुनै अनुमान थिएन । स्वाभाविक रफ्तारले धोका दियो र यात्रा यता मोडियो । तर यो यात्रा पनि समयले दिएको सुन्दर प्राप्ति हो । केही कुरा छुटी गए । केही कुराले सम्झनामा सताइरहन्छन् तर जे छन्, ती अपरिहार्य छन् । यस्तै निष्कर्षमा हुन्छिन् स्वरुपा ।

००००

स्वरुपा आफ्नो समयकी तेज छात्रा मानिन्थिन् । त्यो बेला परीक्षामा कुनै पनि विषयमा फेल नहुने विद्यार्थी नै अब्बल हुन्थ्यो । त्यसमाथि दशवटा काम भ्याउनुपर्ने घरकी कन्या । यस्तो बेलामा विषय नलागी पास हुनु ठूलो कुरा थियो । तर कक्षा नौ पुग्दा अचम्म भयो । उनी गणित विषयमा फेल भइन् । नौ कक्षामा नयाँ गणित थपिएको थियो । जसलाई ‘अब्सनल म्याथ’ पनि भन्ने गरिन्थ्यो । सबैले भने, नयाँ विषय भएकोले समाउन सकिनन् ।

तर खास कुरा अर्कै थियो । त्यो अरूलाई भन्दा बढी उनलाई नै थाहा थियो ।

उनको मनमा एउटा तस्वीरले रजगज गर्न थालेको थियो । उमेरको प्रभाव हो वा उसको मनमोहक आकर्षण, एउटा पात्रको सम्मोहनले बिस्तारै बाँध्दै लगेको थियो । पुस्तक खोल्दा, फिल्म हेर्दा, सिरियलका नायकहरूमा उसकै मनको तस्वीरलाई पाउन थालेकी थिइन् । किन–किन कक्षाको उही साथीतिर फर्केर हेरूँ–हेरूँ हुने । मनले उसैलाई सम्झिरहने । ऊ विद्यालय नआएको दिन कक्षा नै निरस लाग्ने । नाम थियो–सिर्जन ।

नाम निर्जन भएर के गर्नु, स्वरुपाको निर्जन भूमिलाई सिञ्जित गरेर हराभर बनाउन थालेको थियो । अनौठा सपना देखाउन थालेको थियो ।

प्रेमले त ऊर्जा दिनुपर्ने । तर परीक्षामा फेल भएपछि मनमा अनेक तरङ्ग उठ्न थाले । प्रेमको ऊर्जा सिर्जना भएपछि झन् पढ्न मन लाग्नुपर्ने । तर खै, किन ? मन बहकिन थालेको छ । दश कक्षामा पनि मेहनत गर्न नसकेपछि घरमा चिन्ता हुन थाल्यो ।

‘केमा ध्यान दिन्छे ?’

‘पढाइ बिगार्दै गएकी छ ?’

अब उसले यस्ता प्रश्नहरूको उत्तर दिनुपर्ने हुन थालेको थियो । पहिले–पहिले कुनै विषयमा फेल हुन्नथिइन् । दिमागमा थप कुराले बास बसेपछि अतिरिक्त गणित एउटा विषयमा फेल हुन पुगेकी छिन् । न कसैलाई बताउनु । न गीतबाट मनको बह पोख्नु । न कथा बनाएर सबैलाई सुनाउनु । मनको कुरा मनमै रह्यो । यस्तै भएको छ ।

मनको बह पोख्ने जम्मा ऊ मात्रै थियो । मोबाइलमा सन्देश आदान–प्रदान गरेर गफको भोक मेटिँदैनथ्यो । गाउँघरमा मज्जाले भेटघाट गर्ने मौका नै मिल्दैन थियो । फोटोको आदान–प्रदान गर्‍यो । मानिसका आँखा छलेर केही समय भेटघाट गर्‍यो, त्यत्ति हो । बिस्तारै प्रेम झाङ्गिँदै गएको थियो ।

एसएलसी दिउन्जेलसम्म उनीहरू धेरै नजिकिएका थिए । जसोतसो स्वरुपा सेकेन्ड डिभिजनमा उत्तीर्ण भइन् तर निर्जन एसएलसी अनुत्तीर्ण भयो । घरपरिवार, स्कुल सबै खुशी भए । अबिर लगाइदिने र मिठाइ खाने काम सम्पन्न भयो । तर उनी खुशी हुन सकिनन् । मन उदास–उदास हुन थाल्यो ।

यता निर्जनले आफ्नो प्रेम असुरक्षित महसुस गर्‍यो । स्वरुपालाई विवाहको दबाब दिन थाल्यो ।

‘स्वरुपा, हामी बिहे गरौँ न ।’ निर्जन फकाउँथ्यो ।

‘अहिल्यै गरेर के गर्ने ? हामी सानै छौँ ।’ स्वरुपा उत्तर दिन्थी ।

‘यो केटीले मलाई धोका दिन्छे । तिमी पढ्नमा राम्रो छौ । भोलिपर्सि अर्को केटो पाइहाल्छौ । भद्रगोल हुने त म त हुँ नि ।’–सिर्जन घुक्र्याउँथ्यो ।

सिर्जनले बिस्तारै स्वरुपालाई विवाहका निम्ति दबाब बढाउँदै लगेको थियो ।

एसएलसी फेल भएको केटासँग विवाह गर्छु भन्ने हिम्मत स्वरुपालाई थिएन । त्यो कल्पनाबाहिरको कुरा थियो । निर्जनले पनि आफू खुट्टामा नउभी बिहे गर्छु भनेर घरमा बोल्ने हिम्मत थिएन । केही दिन उनीहरू के गर्ने भन्ने दोधारमा परे ।

अन्ततः, एक दिन झिसमिसेमा उनीहरूले घर छाडे । गाउँले विद्यार्थीसँग कति पैसा हुन्थ्यो र ? जे–जस्तो हुन्छ, व्यवस्थापन गरेर उनीहरू काठमाडौं छिरे ।

केही पैसाको व्यवस्थापन गरेर उनीहरू काठमाडौं छिरेका थिए । काठमाडौं यो सहर आफैँ व्यवस्थापन हुन सकेको छैन, अनि उनीहरू कसरी व्यवस्थित हुनु ? समयसँग घर्षण गर्दै जीवनका चक्काहरू गुडाउँदै थिए । स्वरुपाको सौन्दर्य, ग्रामीण निश्चल व्यवहार र मेहनतका कारण एउटा राम्रै कम्पनीमा कम्पनीमा जागिर हुन पुग्यो । ऊ बाँकी समयमा कलेज पनि पढ्दै पास गर्दै गई । मेहनतले काठमाडौंमा स्वरुपालाई धेरै कुरा दिन थाल्यो । विस्तारै जीवन सहज बन्दै गयो ।

तर निर्जनले नेपालमा भनेजस्तो कुनै जागिर पाउन सकेन । हातमा सर्टिफिकेट नहुँदा उसै पनि पछि परिन्छ । त्यसमाथि मालिकले खोजेजस्तो परिश्रम नगरेर पनि हुन सक्छ, स्वरुपाको तुलनामा उसको प्रगति देखिएन । अन्ततः निर्जनलाई परिस्थितिले कोरिया पुर्‍यायो ।

उनीहरूले संघर्षका कारणले बालबच्चा नबनाउने योजना बनाएका थिए । बालबच्चा व्यवस्थापन गर्न केही पारिवारिक व्यवस्थापन हुनुपर्थ्यो । त्यो हुँदा–नहुँदा निर्जन कोरिया र स्वरुपा नेपाल भएका कारण यो सम्भव थिएन । घरबार जोडेर सबै कुरा व्यवस्थापन गर्ने सल्लाह भएको थियो । परिस्थिति जे–जस्तो भए पनि दुईबीच प्रेम थियो, विश्वास थियो । भविष्यका सपना थिए । यही कारण सबै कुरा सल्लाहले नै अघि बढिरहेको थियो ।

निर्जनले कोरियाबाट पठाएको पैसा र स्वरुपाको बचतले पुरानो ठिमीको भित्री कुनामा एउटा सानो घर बनाए । अब अर्को पटकको नेपाल बसाइ लामो बनाउने र त्यसै बेला सन्तान जन्माउने उनीहरूले योजना बनाए । मेहनत गर्दा सम्भव छ भन्ने कुरा उनीहरूको प्रगतिले बताउँदै थियो । फेसबुकमा भेटिने माइती–मावली र साथीभाइहरू पनि उनीहरूको जोडीको प्रशंसा गर्न थालेका थिए ।

निर्जन नेपाल आउन एक महिना बाँकी रह्यो । स्वरुपा निकै उत्साहित थिइन् । उनीहरू घन्टौँ फोनमा टाँसिन थालेका थिए । निर्जन पनि आफ्नो अस्तित्व जोगिएकोमा र भनेजस्तै श्रीमती पाएकोमा गौरव गर्दै थियो । उनीहरू दिनलाई उल्टो गन्दै बसिरहेका थिए ।

एक साताअघि स्वरुपाले नराम्रो खबर सुनी । निर्जन काम गर्ने कम्पनीको मेसिनमा चेपिएर गम्भीर घाइते भएछ । हस्पिटल पुर्‍याउँदासम्म शरीरबाट धेरै रगत बगिसकेको थियो । ज्यान जोखिममा पुगेको थियो । कम्पनीको मालिक र उसका कम्पनीका साथीहरूले हस्पिटल पुर्‍याउन ढिलो गरेका थिएनन् । तर गम्भीर चोट र रगत धेरै बग्नाले परिस्थिति सहज बनेन । हस्पिटलको आईसीयूमा राखेको तीन दिनपछि ऊ जिउँदो नरहेको खबर नेपाल आइपुग्यो । स्वरुपाको जीवनमा ठूलो आँधीले एकै पटक हिर्काएझैँ भयो । हजारौँ बाणहरू एकै पटक लागेको महसुस गरिन् । उनी पीडाको पहिरोमा पुरिइन् । जब जीवनले सकारात्मक मोड लिँदै थियो, त्यही बीचमा यस्तो दुःखद् परिस्थितिको सामना गर्नुपर्‍यो । उनलाई एकै पटक हजारौँ बाणले लाग्न पुगेझैँ भयो ।

००००

कहिलेकाहीँ सरल जीवनमा अप्रत्याशित घटना घट्छन् । सिनेमाहरूमा देखाइने दृश्य आफ्नै जीवनमा घट्ला भन्ने स्वरुपाले कल्पनासम्म गरेकी थिइनन् । सिनेमा हेर्न उसलाई रुचि थियो तर फिल्ममा ट्विस्ट सिर्जना गर्न यस्ता घटना राखिन्छन् भन्ने उसलाई लाग्थ्यो । आफ्नै जीवनमा सपनामा कल्पना पनि नगरेको यस्तो घटना घट्दो रहेछ । निर्जनले कहिल्यै पनि आफू यस किसिमको मेसिनसँग लय मिलाएर काम गर्छु भनेको थिएन । मेसिनसँग लय बिग्रने कुरा त कल्पनासम्म थिएन । उसलाई महिनौँसम्म त्यो दुःखबाट बाहिर निस्कन समय लाग्यो । हिजोसम्म साहसी महिला, आज ऊ बिचरी भई । काममा रुचि घट्दै गयो । जीवनको उद्देश्य नै हरायो ।

जीवनमा उद्देश्य हराएपछि मानिस मरेजस्तै हुँदो रहेछ । ऊ आफूलाई मरेको मान्छेझैँ व्यवहार गर्थी र आफू अहिलेसम्म बाँचेकी छु भनेर छक्क पर्थी ।

समय त आखिर समय नै हो । समयले निको नपारेको घाउ कहाँ छ र ?

विस्तारै घाउ निको भयो । खाटो पनि हराउँदै गयो । जीवन पुनः सम्हालिँदै गयो । आफ्नै रगतको अंश भएकाले माइती पक्षले त दुःखमा साथ दिनु नै पर्दथ्यो । दियो पनि । स्वरुपाको माइतीपट्टिको वातावरण त सहज बन्दै थियो । तर घरपट्टिबाट भने ‘छोरा खाने बुहारीको’ आरोप आउन थालेको थियो । प्रत्यक्ष नभए पनि अप्रत्यक्ष हेलाभाव व्यक्त भएको अनुभव हुन्थ्यो । उनका कानसम्म ती कुराका प्रतिध्वनिहरू आइपुग्थे ।

उनलाई जीवन निरस, शून्य र केही नभएजस्तो लाग्न थालेको थियो । कम्पनीको काम भने थेगिरहेकी थिइन् । कामै नगरे त जीवन गुजाराको स्वरूप पनि सङ्कटमा पर्थ्यो । हुन त उनलाई घर, पैसा आदिको दुःख थिएन तर सम्बन्धहरूको दुःख थियो । केही साथीहरूले पुनः वैवाहिक योजना बनाउन पनि सुझाए । उनको मनले यो कुरा मान्दै मानेन । मनसँग सम्बन्ध नबनेको मानिसलाई शरीर बेचेर विवाह भन्नुमा उनलाई रुचि थिएन । श्यामश्वेत जिन्दगीका रिलहरू बगिरहेकै थिए ।

एक दिन फेसियल र थ्रेडिङ गर्न आफ्नै साथी आयुस्माले खोलेको पार्लर छिरेकी थिइन् स्वरुपा । यो उनको नियमित जाने पार्लर हो । डाक्टर वीणासँग उनको भेट र परिचय भयो । उनले निरन्तर जाने पार्लर यही थियो । पार्लरकै नानीले उनको बारेमा धेरै कुरा डाक्टर वीणालाई भनिसकेकी रहिछन् । डाक्टर वीणा प्रजनन विशेषज्ञ (फर्टिलिटी स्पेसियालिस्ट) थिइन् । त्यस दिन उनीहरूबीच केही कुराहरूका सेयरिङ भए ।

धेरै धारणाहरूको साझेदारीपछि डाक्टरले सुझाइन्–‘तपाईँलाई साथीको जरुरत छ ।’

स्वरुपाको उत्तर थियो–‘म पुनर्विवाह त गर्दिनँ अब ।’

डाक्टरको प्रत्युत्तर–‘मैले त्योभन्दा वैकल्पिक बाटो दिएँ भने ?’

उनी सोध्छिन्–‘त्यस्तो के सम्भव छ र ?’

डाक्टरको सुझाव–‘तपाईँ छोरी जन्माउनुस् ।’

‘अब कुरा कसरी सम्भव हुन्थ्यो र ? न पति, न पुनर्विवाह ? उसै कसरी छोरी पाउनु ? त्यसमाथि पनि लिङ्ग किटान गरेर छोरी भन्नुभएको छ । किन छोरी नै पाउनु ?’–उनले जिज्ञासा राखिन् ।

डाक्टरले मत राखिन्–‘तपाईँ आफूमा भुल्नु जरुरी छ, बच्चा हुर्केपछि पनि तपाईँका मनका कुराहरू साझेदारी हुन जरुरी छ । तपाईँ मनको हिसाबले खुम्चिएर बस्नुभएको छ । त्यस किसिमका मनका भित्री धारणाहरूलाई बुझ्ने वातावरण बन्नुपर्छ । अनि मात्र जीवन सामान्य र सहज बन्नेछ । नत्र तपाईँ एउटा गुम्फनमा रहिरहनु हुनेछ ।’

उनले थपिन्–‘तपाईँको अहिलेको आवश्यकताअनुसार छोरी पाउनुहोस् । तपाईँलाई सहज वातावरण बनाइदिन सक्ने क्षमता उनमा हुन्छ । प्रविधि त हामीसँग छ । हामी तपाईँलाई सुयोग्य आमा बनाउन चाहन्छौँ । हामीले दाता शुक्रकीटबाट बच्चा प्राप्त गर्न सकिने प्रविधिलाई प्रयोगमा ल्याइरहेका छौँ । जसलाई आइभीएफ (इनभिट्रो फर्टिलाइजेसन) भनिन्छ । यो एक शुक्रकीट र डिम्ब निषेचनको एक कृत्रिम प्रक्रिया हो । जसमा अण्डा एक महिलाको अण्डाशयबाट निकालिन्छ र तरल माध्यम (शरीरबाहिर अर्को भाँडोमा) मा आफ्नो जोडीको सम्भव भए जोडीको, नभए दाताबाट प्राप्त शुक्राणुसँग सम्पर्कमा राखिन्छ । त्यसपछि निषेचित अण्डालाई महिलाको पाठेघरमा राखिन्छ । यसमा भाले जन्माउन आवश्यक वा पोथी जन्माउन आवश्यक शुक्राणु छनोट गरी राख्न सकिन्छ । जसमा अण्डबाहिनी नलीहरू प्रयोगमा आउँदैन ।’

डाक्टरको यो कुराले कताकता उनलाई प्रभावित र आकर्षित बनाएको छ । पुनर्विवाहको इच्छा नभएपछि यो प्रक्रिया अपनाउँदा के होला ? भन्ने कुराले मनमा हलचलको शृङ्खला सुरु भएको छ । पुनर्विवाहमा जाने त कहीँ कतै मनै थिएन । अनि जोडी नै नभएको मान्छेले बच्चा जन्माउँदा आफन्तले के भन्छन् ? समाजले के भन्छ ? मैले सबै प्रतिरोधहरू थेग्न सक्छु त ? कि म एक्लै बसूँ ? वा म सधैँ उस्तै बसूँ ?

मनमा द्वन्द्व बढेको छ । कता हो कता मनको कुनामा एउटा साथी भइदिए हुने भन्ने पनि बढ्दै गएको छ । छोरीको सम्झनाले पनि नयाँ कम्पन सिर्जना गरेको छ । आखिर सिर्जन सकुशल आएका भए बच्चा पाउने योजना त छँदै थियो । डाक्टर वीणाले सुझाएको उपाय नराम्रै लागेको त होइन, तर अरूको शुक्राणु लिएर कसरी बच्चा जन्माउनु ? के गरौँ होला ? स्वरुपाको मनमा यिनै कुराहरूले तरङ्ग मच्चाइरहेछन् ।

‘हेर्, स्वरुपा, आफूले निर्णय लिनुपर्छ । भोलिसम्म आफूलाई नजिकबाट देख्ने र बुझ्ने मान्छे आवश्यक पर्छ । जसलाई म मेरै रगतबाट पोषण दिन्छु । जसलाई म आफ्नै श्वासबाट श्वास दिन्छु । जसलाई म आफ्नै मान्न सक्छु । त्यस्तो मान्छे अब आफूलाई चाहिन्छ । गहिरो साथ पनि उसबाट मात्र सम्भव छ ।’–उनको मनको कुनाले यस्तो साहसी विचार उब्जाइरहेछ ।

मनको एउटा कुनामा नयाँ मान्छेको आगमनको सम्भावनालाई लिएर कुतकुती सुरु भइसकेको छ । अर्को कुनामा एउटा असमञ्जसले बास बसेको छ । जब्बर प्रतिवाद पनि सँगै उभिएको छ । वाद–प्रतिवाद क्रमशः चलिरहेछ मनकै अन्तरकुन्तरबीच । आफूमा आत्मनिर्भर त छिन् । तर समाजको प्रश्नको सामना गर्नुपर्ने परिस्थिति अगाडि छ । चलिरहेको रीतिलाई चुनौती दिने कुरा कहाँ सहज छ र ? अग्ला–अग्ला काँडाका रुखहरू बाटोमा जिउँदो रूपमा रहेको अनुभव भइरहेछ । सबै कुराहरूप्रति समालोचनात्मक धारणा बनाउनु जरुरी बनेको छ । यसै परिस्थितिका बीचबाट निर्णयसम्म पुग्नु छ ।

अन्ततः उनी आइभीएफ अपनाउने निर्णयमा पुग्छिन् । आवश्यकताअनुसार छोरी जन्माउने निर्णय लिन्छिन् । डाक्टर वीणाले उनलाई शारीरिक र मानसिक रूपमा तयार गराउँछिन् । धेरै समयको मनको हलचलपछि उनले एकल आमा बन्ने निर्णय गरिन् । हुन त यहाँ बाबुको अंश अरूबाट प्राप्त गरिन्छ । त्यसो हुँदाहुँदै पनि भौतिक स्वरूपमा बुवा उपस्थित हुँदैनन् । सोही कारण उनलाई एकल आमा भन्नु नै उपयुक्त हुन्छ कि ?

अहिले उनलाई अतिरिक्त खुशी मिलेको छ । यो विषय जुन उनले अनुमान र परिकल्पना केही गरेकी थिइनन् । जीवनबाट केही पक्षहरू छुटे पनि अहिले उनीसँग छोरी ‘आभा’ छिन् । -sahityapost