September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

बाढीपीडितका लागि रूपन्देहीमा जुट्दै राहत


भैरहवा–भोटेकोशी बाढीपीडितका लागि रुपन्देहीमा राहत जुट्ने क्रम जारी छ । जिल्ला स्थित व्यवसायिक संघसंस्था र स्थानीय सरकारले राहत घोषणा गरेका छन् । यस बाहेक व्यक्तिगत र संस्थागत रुपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने धेरै छन् ।

Advertisement

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बिहीबार पीडितका लागि राहत स्वरुप ५१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो कोष, जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट गरेर उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

Advertisement

बिहीबार विहान तिलोत्तमा नगरपालिकाले ४० लाख रुपैयाँ राहत घोषणा गरेको थियो । नगरपालिकाबाट २५ र जनप्रतिनिधि, कर्मचारीबाट १५ लाख गरेर उक्त राहत उपलब्ध गराइने नगर प्रमुख रामकृष्ण खाँणले जनाए । तिलोत्तमाले यस्तो निर्णय गरे लगत्तै अन्य पालिकाले पनि रकम घोषणा गरेका हुन् ।

रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाले बिहीबार साँझ ११ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको थियो । यससँगै जिल्लाका अन्य पालिकाले पनि राहत उपलब्ध गराउने बारे बहस अगाडि बढाएका छन् ।

राहत घोषणामा निजी क्षेत्र पनि अगाडि देखिएको छ । रुपन्देहीको भैरहवा स्थित सिद्वार्थ उद्योग वाणिज्य संघले ११ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको अध्यक्ष नेत्र आचार्यले जानकारी दिए । त्यसै बुटवल स्थित औद्योगिक घराना आवास समुहले ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । भैरहवामा मुख्यालय रहेको ई ड्राइभ लुम्बिनीले पनि १ लाख ११ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।