तीज विशेष कार्यक्रमको बजेट बाढीपीडितलाई


पाल्पा—पाल्पाको रामपुर नगरपालिकाले यस वर्षको उपप्रमुख तीज विशेष कार्यक्रम स्थगित गरी त्यसका लागि विनियोजन गरिएको २ लाख ५० हजार रुपैयाँ बाढीपीडितको राहत तथा उद्धारका लागि उपलब्ध गराउने भएको छ ।
भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपद्को समयमा पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले तीज विशेष कार्यक्रम नै स्थगित गरेर बजेट बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका महिला जनप्रतिनिधि तथा कर्मचारीको बैठकले महिला लक्षित कार्यक्रमअन्तर्गत उपप्रमुख तीज विशेष कार्यक्रमका लागि छुट्याइएको २ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले बताइन् । ‘हरेक वर्ष आयोजना हुँदै आएको तीज गीत प्रतियोगितासहितको विशेष कार्यक्रम यस वर्ष भने विपद्का कारण स्थगित गरिएको हो थापाले भनिन्, ‘विपद्को समयमा पीडित परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले कार्यक्रम नै स्थगन गरी सहयोग गर्ने निर्णय गरेका हौँ ।’
नगरपालिकाले बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
नगरपालिकाकी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा शाखा प्रमुख पूजा परियारका अनुसार तीज विशेष कार्यक्रमका लागि विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिनेछ ।








प्रतिकृया दिनुहोस्