रसुवा बाढीमा लुम्बिनीका १७८ जना अझै सम्पर्कविहीन, रुपन्देहीका मात्रै ४१ जना


भैरहवा— रसुवामा आएको भीषण बाढीमा परी लुम्बिनी प्रदेशका कयौँ नागरिक अझै सम्पर्कविहीन छन्। बाढीपछि परिवार तथा सुरक्षा निकायको सम्पर्कमा नआएका उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।
लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार बाढीपछि सम्पर्कविहीन रहेका दुई जना सम्पर्कमा आएका छन्। यद्यपि प्रदेश सरकारको तथ्यांकअनुसार अझै १७८ जना सम्पर्कविहीन छन्।
सम्पर्कबिहीन हुनेमा रुपन्देहीका सबैभन्दा बढी ४१ जना छन् । जिल्लागत विवरणअनुसार अर्घाखाँचीका ९, गुल्मीका ७, पाल्पाका ९, नवलपरासी पश्चिम का ६, कपिलवस्तुका ४, दाङका ३५, बाँकेका २१, बर्दियाका ८, प्युठानका ९, रोल्पाका १४ र रुकुम पूर्वका १५ जना सम्पर्कविहीन छन्।
प्रदेश सरकारका अनुसार रसुवामा आएको बाढीपछि कामको सिलसिलामा त्यहाँ पुगेका, सरकारी सेवामा रहेका, हाइड्रो पावरका प्राविधिक तथा अन्य प्रयोजनका लागि रसुवा पुगेका लुम्बिनी प्रदेशका नागरिक परिवार र आफन्तको सम्पर्कमा नआएका हुन्। सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ।








प्रतिकृया दिनुहोस्