सुस्ताबासीद्वारा नारायणी नदीमा दीर्घकालीन तटबन्धको माग


पश्चिम नवलपरासी- वर्षौंदेखि बर्सेनि दोहोरिने नारायणी नदीको बाढी र कटानका कारण ठूलो जोखिम भोग्दै आएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ताबासीले दीर्घकालीन र पक्की तटबन्ध निर्माणको मागलाई पुनः उठाएका छन् । नदी कटानले खेतीयोग्य जमिन र बस्ती नै सङ्कटमा पर्न थालेपछि स्थानीयबासीले अल्पकालीन मर्मतभन्दा पनि नदी नियन्त्रणका लागि दिगो र स्थायी समाधानको माग राज्यसँग गरेका हुन् ।
खासगरी स्थानीयहरूले बाढी र कटानका समयमा परिवार, बालबच्चा र घरपालुवा जनावरको सुरक्षा गर्न चरम सास्ती खेप्नुपरेको भन्दै आक्रोश र चिन्ता व्यक्त गरेका छन्। सुस्ताको यही पछिल्लो वस्तुस्थिति र कटानको अवस्थाबारे जानकारी लिन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विक्रम खनालले सो क्षेत्रको स्थलगत अवलोकन गरी प्रभावित क्षेत्रमा पुगी स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग छलफल गरेका छन् ।
छलफलका क्रममा स्थानीयहरूले हरेक वर्ष आश्वासन मात्र पाउने तर बर्खायाम सुरु हुनासाथ उठिबासको डर मान्नुपर्ने बाध्यताको अन्त्यका लागि तत्काल पक्की स्पर्स र गाइड वाल निर्माण गर्न सांसदसमक्ष माग राखेका थिए।
स्थानीयवासीहरूले राखेका माग तथा समस्या सुनेपछि सांसद खनालले सुस्ताको नागरिकको जिउधनको रक्षा नै आफ्नो मुख्य प्राथमिकता भएको बताए । ‘सुस्तावासीले वर्षौंदेखि भोग्दै आएको यो समस्या केवल एउटा क्षेत्रको मात्र नभई राष्ट्रिय सरोकारको विषय हो,’ सांसद खनालले भने, ‘तत्कालका लागि आवश्यक र आपत्कालीन रोकथामका साथै दीर्घकालीन रूपमा पक्की तटबन्ध निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग निरन्तर समन्वय र जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
सो क्रममा सुरक्षा निकायका प्रतिनिधिहरूले पनि बाढीपछिको सुरक्षा, उद्धारका लागि गरिएका पूर्वतयारी समग्र अवस्थाबारे सांसद खनाललाई जानकारी गराएका थिए। सुस्ताको यो समस्या समाधानका लागि अब सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा गुरुयोजना बनाएर काम थाल्नुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन्।








प्रतिकृया दिनुहोस्