लुम्बिनी प्रदेश सभाको आठौं अधिबेशनको अन्त्य


दाङ–लुम्बिनी प्रदेश सभाको चालू आठौं अधिबेशन आज रातको १२ बजे देखि लागु हुने गरि अन्त्य गरिएको छ । भदौ ९ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषदको बैठकले गरेको सिफारिसलाई प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले स्वीकृत गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले बिहिवार रातको १२ बजेदेखि लागू हुने गरि चालु आठौं अधिबेशन अन्त्य गरेका हुन् ।
यो अधिबेशनबाट सरकारलाई बिश्वासको मत दिने देखि आब २०८३–०८४को नीति कार्यक्रम तथा बजेट पारित गर्नुका साथै महत्वपूर्ण बिधेयक पारित भएका छ्न । २ वटा आर्थिक बिधेयक र थारु समुदायको प्रथाजनित परम्पराको संरक्षण तथा प्रबर्द्धन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक यस अधिबेशनमा पारित भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आठौं अधिबेशन समग्रमा उपलब्धी मुलक भएको बताएका छन् । २०८३ बैशाख १७ गतेदेखि सुरु भएको यो अधिबेशनको १९ औं बैठकले मुख्यमन्त्री चेतनारायण आचार्यलाई बिश्वासको मत दिलाएको थियो । सत्ता गठबन्धन नेपाली कांग्रेसले बिश्वासको मत फिर्ता लिएकाले भदौ १ गते बसेको १९ औं बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सभामा मलाई बिश्वासको मत छ भनी प्रस्ताव राखेका थिए ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जसपा, राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्यहरुले प्रस्तावको पक्षमा मत जाहेर गरि बहुमतले प्रस्ताव पारित भएको थियो । आठौं अधिबेशनमा १९ वटा बैठक बसेको र बैठक ३८ घन्टा ६ मिनेट चलेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ ।








प्रतिकृया दिनुहोस्