September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

सिद्धार्थ उद्योग बाणिज्य संघद्वारा बाढीपीडितका लागि ११ लाख ५१ हजार सहयोग

Advertisement

भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले रसुवाको बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । संघको बिहीबार बसेको कार्यसमिति बैठकले ११ लाख ५१ हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

Advertisement

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विपदमा निजी क्षेत्रको साझा संस्थाबाट राहत रकम जम्मा गर्ने निर्णय भएको बताए । ‘देश दुखेको छ, ठूलो जनधनको क्षति भएको छ’, उनले भने, ‘यस्तो बेला सम्पूर्ण नेपालीहरु एकजुट भएर लाग्नुपर्छ भनेर हामीले सहयोग गरेका हौं ।’

अध्यक्ष आचार्यले रसुवा बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदमा सबैले हातमालो गर्नुपर्ने बताए । बैठकले मृतक परिवारमा समवेदना व्यक्त गर्दै राहत, खोज र पुनःस्थापना जस्ता कार्यमा सरकारसँग सबैलाई हातेमालो गर्न आग्रह गरेको छ ।

रसुवा बाढीबाट खर्बौं क्षति हुनुका साथै कयौं नागरिकको निधन भएको भन्दै अध्यक्ष आचार्यले यो घटनाले विक्षिप्त बनाएको जनाए । संघले प्रधानमन्त्री विपद राहत कोषमा आफ्नो गक्षअनुसार आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ । बुधबार बिहान रसुवामा एक्कासी बाढी आउँदा अकल्पनीय क्षति भएको छ ।

अध्यक्ष आचार्यले अझै धेरै नेपाली तथा भ्रमणमा पुगेका विदेशी नागरिक हराइरहेको जनाउँदै खोजी कार्यमा सरकारसँग हातेमालो गर्न आग्रह गरे ।