September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

राहतका नाममा अनधिकृत आर्थिक सहयोग संकलन गर्न रुपन्देहीमा रोक

Advertisement

भैरहवा–रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित तथा पीडित परिवारका नाममा रुपन्देहीमा व्यक्तिगत वा सामूहिक रूपमा अनधिकृत आर्थिक सहयोग संकलन गर्न रोक लगाइएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहतका नाममा हुन सक्ने ठगी तथा अपारदर्शी गतिविधि नियन्त्रण गर्दै वास्तविक पीडितसम्म सहयोग पु¥याउन अनधिकृत रूपमा आर्थिक सहयोग उठाउने कार्य रोक्ने निर्णय गरेको हो ।

समितिले राहत संकलन तथा वितरणलाई एकद्वार प्रणालीबाट व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड दिएको छ । बैठकमा सहभागी सरोकारवालाले आवश्यकता पहिचान गरेर मात्र राहत सामग्री संकलन तथा वितरण गर्नुपर्ने सुझाव दिएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले राहत सामग्री संकलनका नाममा कुनै पनि प्रकारको ठगी हुन नदिन व्यक्तिगत वा सामूहिक रूपमा गरिने अनधिकृत राहत संकलन रोकिएको बताए । ‘राहत सामग्री संकलनको नाममा कुनै पनि प्रकारको ठगी हुन नदिन व्यक्तिगत वा सामूहिक रूपमा गरिने अनधिकृत राहत संकलनलाई रोक लगाइएको हो’ अर्यालले भने, ‘अनधिकृत रूपमा गैरकानुनी ढंगले सहयोग संकलन गरेको पाइएमा कारबाही गरिनेछ ।’

विपद्मा सहयोग गर्न चाहने सहयोगदातालाई सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न समितिले अनुरोध गरेको छ । रुपन्देहीका आम सर्वसाधारणले राहत सामग्री उपलब्ध गराउन चाहेमा भने सम्बन्धित गाउँपालिका, नगरपालिका वा उपमहानगरपालिकासँग समन्वय गरेर मात्र सामग्री संकलन गर्नुपर्ने निर्णय समितिले गरेको छ । यसरी संकलन गरिएका राहत सामग्री व्यवस्थित र पारदर्शी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा पालिकाभित्रको एकीकृत तथ्यांक जिल्ला विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

बैठकले कुनै संघ, संगठन वा संस्थाले संस्थागत रूपमा आर्थिक सहयोगबाहेक राहत सामग्री वितरण गर्न चाहेमा जिल्ला प्रशासन कार्यालयको सम्बन्धित फोकल पर्सनसँग समन्वय गरेर मात्र सामग्री पठाउने व्यवस्था मिलाउनुपर्ने निर्णयपनि गरेको छ । त्यस्तो राहत वितरण कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका विपद् व्यवस्थापन समिति संयोजक महेन्द्रकुमार श्रेष्ठले प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत सामग्री व्यवस्थापन गर्नुपर्ने बताए । ‘बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, औषधिसहितको उपचार सेवा, खानेपानी र शौचालयको आवश्यकता बढी देखिएको छ’ उनले भने । नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले कम्बल, त्रिपाल, डोरीलगायतका राहत सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको उनले जानकारी दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दुले राहत संकलन तथा वितरण प्रक्रियालाई आधिकारिक र व्यवस्थित बनाउन छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने बताए । व्यक्तिगत रूपमा राहत संकलन गर्ने प्रक्रियालाई पूर्ण रूपमा निरुत्साहित गरी संस्थागत र पारदर्शी माध्यमबाट मात्रै सहयोग परिचालन गर्नुपर्ने भनाइ उनको थियो ।