तिलोत्तमाद्वारा बाढीपीडितका लागि ४० लाख रुपैयाँ आर्थिक सहयोग


तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले रुसुवा बाढी प्रभावितका लागि करिब ४० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाले रसुवा जिल्लाको भटेकोसी नदीमा आएको भीषण बाढी तथा त्यसबाट भएको दुःखद मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोगको निर्णय गरेको हो।
तिलोत्तमा नगरपालिकाले प्राकृतिक विपद्का कारण अमूल्य मानवीय जीवन गुमाउनु परेको, कतिपय नागरिक घाइते हुनुभएको तथा नागरिकहरू बेपत्ता भएको खबरले आफूहरू अत्यन्त दुःखी र मर्माहत भएको जनाएको छ। विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति नगरपालिकाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।
शोकको यस असह्य घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै नगरपालिकाले बाढीका कारण घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता नागरिकहरूको तत्काल खोजी, उद्धार तथा सुरक्षित पुनर्मिलनका लागि सम्बन्धित सबै निकायबाट प्रभावकारी पहल होस् भन्ने कामना गरेको छ।
नगरपालिकाका अनुसार विपद्ले पुर्याएको क्षतिको पीडा केवल प्रभावित परिवारको मात्र नभई सम्पूर्ण राष्ट्र र नेपाली समाजकै साझा पीडा हो। यस्तो कठिन र संवेदनशील परिस्थितिमा स्थानीय सरकारका रूपमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्नु मानवीय तथा सामाजिक दायित्वसमेत भएको नगरपालिकाले जनाएको छ।
यही दायित्वलाई आत्मसात् गर्दै तिलोत्तमाले रुसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट २५ लाख र नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको ३ दिनको सुविधा तथा पारिश्रमिक बराबरको रकम गरी करिब ४० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाबाट प्रदान गरिने उक्त सहयोगले विपद्का कारण पीडामा रहेका परिवारको दुःख केही भए पनि कम गर्न तथा राहत तथा पुनर्स्थापनाको कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ।
विपद्को यस कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यमा प्रत्यक्ष रूपमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, स्वयंसेवक, रेडक्रसकर्मी, सामाजिक अभियन्ता तथा सहयोगी सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ।
नगरपालिकाले प्राकृतिक विपद् पूर्वसूचना, जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनमा तीनै तहका सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै विपद् प्रतिकार्य क्षमतालाई थप सुदृढ गर्नुपर्ने आवश्यकता यस घटनाले पुनः स्मरण गराएको जनाएको छ।
आगामी दिनमा यस्ता विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रविधिको प्रयोग, जोखिमयुक्त क्षेत्रको पहिचान, प्रभावकारी पूर्वसूचना प्रणाली तथा समुदायस्तरको विपद् सचेतनालाई थप सुदृढ गर्नसमेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ।
शोकलाई शक्तिमा, पीडालाई सहकार्यमा र विपद्लाई पुनर्निर्माण तथा सुरक्षित भविष्य निर्माणको अवसरमा रूपान्तरण गर्न सम्पूर्ण नेपालीबीच एकता, सहयोग र सहकार्यको भावना अझ मजबुत बनोस् भन्ने कामना तिलोत्तमाले गरेको छ।








प्रतिकृया दिनुहोस्