September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

पश्चिम नवलपरासीको नारायणी नदी किनारमा १४ शव फेला

Advertisement

भैरहवा–पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत नारायणी नदी किनारका विभिन्न स्थानमा बाढीले बगाएर ल्याएका १४ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बिहीबार मध्यान्हसम्म नदी किनारका ठोक्कर नम्बर ७, १४ लगायतका क्षेत्रमा ती शव फेला परेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले फेला परेका शवको अवस्था पहिचान गर्न नसकिने अवस्था रहेको जानकारी दिए । फेला परेका शव महिला, पुरुष र बालबालिका छुट्याउन सकिने भए पनि व्यक्तिगत पहिचान खुल्न नसकेको उनले बताए ।

‘ती शव बुधबार भोटेकोशी क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको हुन्’ पब्लिककुरासँगको कुराकानीमा थापाले भने, फेला परेका शवहरुको प्रहरीले घटनास्थलमा मुचुल्का तयार गरी आवश्यक व्यवस्थापन तथा पहिचानका लागि प्रक्रिया अघि बढाएको छ ।’

बाढी प्रभावित रसुवा, नुवाकोटलगायतका जिल्लामा काम विशेष, सरकारी जिम्मेवारी वा तीर्थयात्राका क्रममा पुगेर हालसम्म परिवारको सम्पर्कमा नआएका पश्चिम नवलपरासीका व्यक्तिहरू भए तत्काल जानकारी गराउन पश्चिम नवलपरासी प्रहरीले सर्वसाधरण सवैमा आग्रह गरेको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका आफन्तको खोजीका लागि केही व्यक्ति प्रहरी कार्यालयमा सम्पर्कमा आएका छन् । पश्चिम नवलपरासीबाट काज वा अन्य कामका सिलसिलामा नुवाकोटलगायतका क्षेत्रमा खटिएका केही प्रहरी कर्मचारीसमेत हालसम्म सम्पर्कमा नरहेको र उनीहरूको खोजी भइरहेको डीएसपी थापाले बताए ।

नारायणी नदी किनारमा शव फेला परेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । नदी किनार तथा गण्डक बाँध आसपासका क्षेत्रमा थप शव फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा टोलीले निगरानी बढाएको प्रहरीले जनाएको छ ।

फेला परेका शवलाई मुचुल्का तयार गरी परीक्षण तथा पहिचानका लागि पृथ्वीचन्द्र अस्पताललगायतका अस्पतालमा पठाउने तयारी भइरहेको छ । पृथ्वीचन्द्र अस्पतालमा हाल एउटा मात्र शव राख्न मिल्ने फ्रिजर रहेकाले थप शव व्यवस्थापनका लागि रूपन्देहीका विभिन्न अस्पतालसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा आफन्त वा परिचित व्यक्ति बेपत्ता भएको जानकारी भएमा उनीहरूको हुलिया, विवरण तथा अन्य आवश्यक जानकारीसहित नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।