September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

पाँच दिनपछि बालिकाको बेवारिसे अवस्थामा पोष्टमार्टम

Advertisement

भैरहवा–रुपन्देहीको दानव नदी किनारमा मृत अवस्थामा फेला परेकी करिब ६ वर्षीया बालिकाको पाँच दिनपछि पोस्टमार्टम गरिएको छ । पहिचान खुल्न नसकेकी बालिकाको शवको बुधबार बिहान भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टम गरिएको हो ।

Advertisement

शवको पहिचान हुन नसकेपछि र कोहीपनि सम्पर्कमा नआएपछि नियमअनुसार पोस्टमार्टम गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए । लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, अजमाघाटस्थित दानव नदी किनारमा डुबेर मृत्यु भएको अवस्थामा बालिकाको शव गत शनिबार फेला परेको थियो ।

शव पाँच दिनदेखि भीम अस्पतालको मर्चरीमैं राखिएको थियो । बालिकाको पहिचानका लागि विभिन्न स्थानमा पत्राचार तथा सूचना जारी गर्दा पनि परिवार वा आफन्त सम्पर्कमा नआएपछि प्रहरीको प्रतिवेदनका आधारमा पोस्टमार्टम गरिएको हो ।

रेग्मीका अनुसार, घटनाबारे थप अनुसन्धानका लागि पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिनेछ । अझै एक सातासम्म पनि बालिकाका आफन्त वा अभिभावक सम्पर्कमा नआएमा प्रचलित नियमअनुसार शवको अन्त्येष्टि गरिनेछ । त्यसका लागि स्थानीय तहसँग समन्वय गरी प्रहरीले आवश्यक प्रक्रिया अघि बढाउने छ । पोस्टमार्टमसँगै बालिकाको पहिचान खुलाउन डीएनए परीक्षणका लागि शवबाट नमुना संकलन गरिएको छ ।

बालिकाको पहिचानका लागि शव फेला परेदेखि नै प्रहरीले घटनास्थल आसपासका क्षेत्र, छिमेकी जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रमा समेत हुलियासहितको सूचना र परिपत्र पठाएर खोजी गरेको थियो ।

शवको पोस्टमार्टम भइसके पनि बालिका को हुन्, कसरी नदीमा पुगिन्, उनको मृत्यु डुबेर नै भएको हो कि अन्य कुनै कारणले, यतिका दिनसम्म उनका अभिभावक वा आफन्त किन सम्पर्कमा आएनन् लगायतका प्रश्न अझै अनुत्तरित छन् ।