जसपाका तीन सांसदमाथि कारबाहीको तयारी


रुपन्देही–पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएको बिषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना तीन प्रदेशसभा सदस्यलाई कारबाहीको तयारी गरेको छ ।
केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरले प्रदेशसभाका तिन सदस्यलाई लिखित स्पष्टीकरणको माग गरेको छ । पत्रमा पार्टीको स्पष्ट निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी पार्टी निर्णयको अवज्ञा गरेको विषयमा किन अनुशासनको कारबाही नगर्ने भनी प्रश्न गरीएको छ ।
पार्टीले मंगलबार प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, हेमा बेल्बासे र भण्डारीलाल अहिरलाई २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । तीन जनामध्ये पाण्डे सहरी विकास, खानेपानी, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अहिर आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री छन् ।
पार्टीले साउन ३१ गते नै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो । तर, जसपाका तीन सदस्यले भदौ १ गते एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएका थिए । पार्टीको निर्देशनविपरीत विश्वासको मत दिएको भन्दै भदौ २ गते ७ दिने स्पष्टीकरण सोधेको थियो । तर, पाण्डेको स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएपछि तीनै जनालाई कारबाहीको तयारी गरेको हो ।

लुम्बिनी प्रदेशमा जसपा नेपालका ५ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये ४ जनाले विश्वासको मत दिएका थिए भने एक जना अम्बिका काफ्लेले भने विश्वासको मत दिइनन् । मत दिएकामध्ये आदेशकुमार अग्रवाललाई भने पार्टीले कुनै कारबाही गरेको छैन ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८३ जना सदस्य छन् । सरकार बनाउनका लागि ४२ मत आवश्यक पर्छ । एमालेका २९ र नेकपाका सभामुखसहित १३ जना भए पनि एक जना विदेशमा भएकाले ११ जनाले मात्र विश्वासको मत दिएका थिए । जनमोर्चा र जसपाका ४ जनाले मत दिएकाले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार जोगिएको थियो ।
आफ्ना तीन सदस्यलाई जसपा नेपालले कारबाही गरेर समर्थन फिर्ता लिएमा मुख्यमन्त्री आचार्यले पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । जसपाका पाण्डे रूपन्देही–३(१) बाट र अहिर बाँके–२(२) बाट निर्वाचित हुन् तर हेमा बेल्बासें(के.सी.) बाँकेबाटै समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन् ।








प्रतिकृया दिनुहोस्