August 18, 2026, Tuesday
२०८३ भाद्र २ मंगलवार

पानीमा डुबेर हुने मानवीय क्षती र जोखिम रूपन्देहीमा उच्च, तीन वर्षमा १११ को डुबेर मृत्यु

Advertisement

भैरहवा–पानीमा डुबेर हुने दुर्घटना र त्यसबाट हुने मानवीय क्षति रुपन्देहीमा भयावह देखिन थालेको छ । पछिल्ला तीन बर्षमा रुपन्देही जिल्लामा पानीमा डुबेर १ सय ११ जनाको अकालमा ज्यान जानुले पानीमा डुबेर हुने ठूलो मानवीय क्षति र जोखिमलाई पुष्टि गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८०–०८१ देखि २०८२–०८३ सम्मको तथ्यांकअनुसार खोला, नदी, पोखरी, सिँचाइ कुलो, सेफ्टी ट्यांकी, निर्माणका क्रममा खनिएका खाडल तथा स्विमिङ पुलमा डुबेर ठूलो मानवीय क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा प्रबक्ता कृष्ण कुमार चन्दले पानीमा डुबेर रुपन्देहीमा बर्षेनी ठूलो मानवीय क्षती हुने गरेकाले त्यही किसीमको सचेतनामुलक कार्यक्रम स्थानीय स्तरमा सञ्चालन गर्न जरुरी भएको बताए । ‘पानीमा डुबेर हुने दुर्घटना बिशेष गरि रुपन्देहीको ग्रामीण क्षेत्रमा धेरै हुने गरेको पाइएको छ’ चन्दले पब्लिककुरासँग भने, ‘यसकालागि त्यही अनुरुपका सचेतनामुलक कार्यक्रम तयार पारेर स्थानीय तह लगायत अन्य सरोकारवाला निकायले कार्यान्वयन गर्न आवश्यक छ ।’

तथ्यांकअनुसार, डुबेर मृत्यु हुनेमा बालबालिका तथा किशोर, युवाको संख्या सबैभन्दा बढी छ । १८ वर्षमुनिका ५८ जना, १९ देखि ४० वर्ष उमेर समूहका ३० जना र ४१ वर्षभन्दा माथिका २३ जनाको मृत्यु भएको छ । डुबेर मृत्यु भएकामध्ये आधाभन्दा बढी १८ वर्षमुनिका छन् ।

सानो उमेरका बालबालिका घर वरपर रहेका खुला पोखरी, कुलो, निर्माणका खाडल तथा सेफ्टी ट्यांकीमा खेल्ने क्रममा दुर्घटनामा पर्ने गरेका छन् । त्यस्तै, १० देखि १८ वर्ष उमेर समूहकायुवा तथा किशोरहरू साथीहरूसँग खोला तथा पोखरीमा पौडी खेल्न जाने क्रममा डुब्ने गरेको तथ्यांकले देखाएको छ ।

जिल्लाका स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी २२ जनाको पानीमा डुबेर मृत्यु भएको छ । बुटवलपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा १४, सैनामैना नगरपालिकामा १२ र तिलोत्तमा नगरपालिकामा १० जनाको मृत्यु भएको छ ।

देवदह र कोटहीमाईमा ९–९, मायादेवी र कञ्चनमा ७–७, ओमसतियामा ६ तथा सिद्धार्थनगरमा ५ जनाको मृत्यु भएको तथ्यांक छ । मर्चवारीमा ४, शुद्धोधनमा ३ तथा गैडहवा, सियारी र सम्मरीमाईमापनि १–१ जना डुबेर मृत्युका घटना भएका छन् । डुबेर सवैभन्दा धेरेको मृत्यु हुने गरेकाले रुपन्देहीका तिनाउ, दानव, रोहिणी, त्रिशुली र अर्दौला लगायतका खोला पौडी खेल्ने क्रममा बढी जोखिमपूर्ण देखिएका छन् । पोखरी, ताल, ड्याम तथा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा ६ जनाले ज्यान गुमाएका छन् ।

तथ्यांक हेर्दा तिनाउ खोला सबैभन्दा बढी जोखिमपूर्ण देखिएको छ । तीन वर्षमा तिनाउमामात्रै डुबेर १५ जनाको मृत्यु भएको छ । विशेषगरी बुटवल र तिलोत्तमा क्षेत्र भएर बग्ने तिनाउका गहिरा दह, कटान भएका भाग, नदी उत्खनन् गर्दा नियम बिपरीत खनेर पछि पुरिएका ठूला ठूला खाल्टा, तथा ड्याम आसपास पौडी खेल्ने र नुहाउने क्रममा किशोर तथा युवाले ज्यान गुमाएका हुन् । तिनाउपछि दानव नदीमा ८ जना, रोहिणी र त्रिशुली खोलामा ७–७ जनाको मृत्यु भएको छ ।

१८ वर्षमुनिका ५८ मृतकमध्ये ३ वर्ष वा सोभन्दा कम उमेरका १० जना बालबालिका रहेका छन् । घर तथा बस्ती आसपासका पानीका स्रोतमा अभिभावकको निगरानी नहुँदा साना बालबालिका दुर्घटनामा पर्ने गरेको डिएसपी चन्द बताउँछन् । उनका अनुसार, खुला सेफ्टी ट्यांकी, निर्माणाधीन संरचनाका खाडल, पोखरी तथा सिँचाइ कुलोमा सुरक्षा प्रबन्ध नहुँदा बालबालिका जोखिममा पर्ने गरेका छन् ।
तीन वर्षमा १० महिला र ७ बालिका गरी १७ जना महिला तथा बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

वर्षायाममा खोला तथा नदीमा पानीको बहाव बढ्ने भएकाले पौडी खेल्न तथा नुहाउन जाने क्रमपनि रहेकाले खोला तथा नदीको जोखिमपूर्ण स्थानमा चेतावनी संकेत राख्ने, निगरानी बढाउने तथा बालबालिकालाई यस्ता स्थानबाट टाढा राख्ने व्यवस्था आवश्यक देखिएको नेपाल बाल कल्याण संस्था रुपन्देहीका कोषाध्यक्ष तथा बाल मनोपरामर्शदाता अधिबक्ता सुनिल त्रिपाठी बताउँछन् ।

‘तीन वर्षमा १ सय ११ जनाको डुबेर मृत्यु हुनु सामान्य दुर्घटनाभन्दा बाहिरको गम्भीर सुरक्षा चुनौती भएको देखिन्छ’ त्रिपाठीले भने, ‘विशेषगरी बालबालिका र किशोर–युवाको उच्च मृत्यु दरलाई मध्यनजर गर्दै स्थानीय तह, प्रशासन, विद्यालय तथा समुदायले संयुक्त रूपमा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।’