आज लुम्बिनीका मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिँदै


भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदैछन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी दिएको छ ।
सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने तयारी छ।
मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। लुम्बिनी प्रदेश सभामा कुल ८३ प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गरेका छन्। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्। एमाले नेता आचार्य ७ साउन २०८१ मुख्यमन्त्री नियुक्त भएका थिए।








प्रतिकृया दिनुहोस्