September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

हेभेन्ली गार्डेन किड्स क्याम्पस भैरहवामा अटिजम सचेतना

Advertisement

भैरहवा– हेभेन्ली गार्डेन किड्स क्याम्पस, भैरहवाले अटिजम सचेतना कार्यक्रम गरेको छ । अटिजम भएका बालबालिका र अभिभावकहरुलाई एकैठाउँमा जम्मा गरेर सचेतना कार्यक्रम गरिएको हो । यसले सम्बद्ध बालबालिका र अभिभावकमा सकारात्मक उर्जा थप्ने विश्वास गरिएको छ ।

Advertisement

आइतबार भैरहवामा आयोजित उक्त कार्यक्रममा २० जना ३ देखि ५ वर्ष उमेर समूहका अटिजम भएका बालबालिका र उनीहरुका अभिभावकको उपस्थिति थियो । अटिजमलाई मेडिकल भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ । अटिजम विकास सम्बन्धी विकार हो, जसकारण प्रभावित बच्चालाई बोल्न, पढ्न, लेख्न र सामाजिक बनाउन कठिनाइ हुन्छ ।

पीडित व्यक्तिको मस्तिष्कले अन्य व्यक्तिको मस्तिष्कभन्दा फरक ढंगले काम गरेको हुन्छ । कार्यक्रममा अभिभावकले आफ्ना बच्चाको शारिरीक, मानसिक र दोहोरो कुराकानी बिकास नहुनुले चिन्ता पारेको बताएका थिए । कोही अभिभावक भाबुक भएका थिए भने कोहीले आफ्नो बच्चाले भोलिका दिनमा समाज परिवर्तन गर्न सक्छ भने साहस बोकेका थिए ।

सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले स्थानीय सरकार यस्ता बालबालिकाहरुको विकासमा र सहयोगका लागि संवेदनशील रहेको जनाइन् । अधिकारीले अभिभावकले स्विकार नगर्दा सरकारबाट अपांगता कार्ड नबनेको बताइन् । जसले गर्दा बच्चाले पाउने सेवासुविधा नपाएको उनको भनाई थियो । त्यसैले यसतर्फ ध्यान दिन उनले अभिभावकलाई आग्रह गरिन् ।

हेभेन्ली गार्डेन किड्स क्याम्पसकी प्राचार्य रचना क्षेत्रीले क्याम्पसको मूल उद्देश्य भनेकै प्रत्येक बालबालिको क्षमता र आवश्यकतालाई सम्मान गर्दै उनीहरुको सर्वाङ्गीण विकास गर्नु भएको जनाइन् ।

शिक्षा केबल पढाईमा मात्र सिमित नभई जीवन उपयोगी सिप, आत्माविश्वास, सामाजिक र मानवीय व्यवहारमा विकास गर्नु रहेको उनको भनाई छ । समाबेशी शिक्षालाई अगाडि बढाउँदै विद्यार्थीको सिकाईलाई प्रथमिकता दिँदै आएको उनले जनाइन् । बच्चाले केही कुरामा ध्यान दिन नसक्नु, अत्यधिक सक्रियता र आबेगपूर्ण व्यवहार देखाउने भएकाले उनीहरुको बृद्धिविकासमा विशेष ध्यान दिन उनले अभिभावकमा आग्रह गरिन् ।

कार्यक्रममा बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा.उत्कर्ष कार्कीले बच्चाहरुमा फरक फरक तीनवटा कारणले गर्दा मनोरोग हुने जनाए । जौबिक कारक, मनोवैज्ञानिक र सामाजिक वातावरणले गर्दा मनोरोग हुने उनले बताए । बच्चाले चञ्चलता तथा ध्यान केन्द्रित गर्न नसक्नु विकारहरु रहेको डा.कार्की जनाए । यसका लागि आवश्यकताका आधारमा चिकित्सक सल्लाह लिएर अभिभावकले ध्यान दिनुपर्ने उनको सुझाव छ । बच्चामा केही संकेत देखिँदैमा अटिजम नै भएको भन्ने नहुने जनाउँदै डा.कार्कीले विकासमा शंका लागेमा बालरोग विशेषज्ञ वा बाल विकाससम्बन्धी विशेषज्ञबाट सुझाव लिएर आवश्यक उपचार गर्न सुझाए ।

कार्यक्रममा प्रशिक्षक समिद कतिला श्रेष्ठले अटिजम भएका बच्चाहरु कतिपय थेरापीले राम्रो हुने गरेको जनाए । उनका अनुसार कति बच्चाहरुमा उमेर बढ्दै जाँदा पनि सुधार हुने गरेका धेरै उदाहरणहरु छन् । ‘बोली तथा भाषा थेरापी, व्यवहारसम्बन्धी सहयोग, विशेष शिक्षा र आवश्यकताअनुसार अन्य सेवाले बच्चाको सञ्चार, सिकाइ र दैनिक जीवनका सीपमा सुधार ल्याउन मद्दत गर्न सक्छ’, उनले भने, ‘अभिभावकले यस्ता कुराहरुमा ध्यान दिनुपर्छ ।’ क्याम्पसले लामो समयदेखि अटिजम बारे सचेतनाका कार्यक्रम गर्दै आएको छ ।